१२बुँदे दिल्ली सम्झौतादेखि निरन्तर काङ्ग्रेसको दूतको रूपमा शान्तिप्रक्रिया वार्ताका हरेक शृङ्खलामा सहभागी भएर नेपालको राजनीति र सहमतिको सम्भावनाको विषयमा राम्रो जानकारी राख्नुभएका नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शेखर कोइराला दलहरूबीच छलफल भइरहे पनि अहिले तत्काल सरकार नढल्ने विश्लेषण गर्नुहुन्छ । एमाओवादीको महाधिवेशनसम्म सहमति नबन्ने निष्कर्षमा पुगेका कोइराला त्यसपछि भने काङ्ग्रेस नेतृत्वको विकल्प नभएको ठोकुवा गर्नुहुन्छ । उहाँसँग घटना र विचार साप्ताहिकका लागि ऋषि धमलाले गरेको कुराकानी:—
प्रधानमन्त्रीले यही सरकारमा काङ्ग्रेस आए सहमति गर्न सजिलो हुन्छ भन्नुभएको छ ?
उहाँले यो प्रस्ताव आज मात्रै ल्याएको होइन र नयाँ पनि होइन, यो प्रस्ताव उहाँले एमाओवादीभित्र र गठबन्धनभित्र पहिला नै राखिसक्नुभएको हो । यसमा नयाँ केही पनि छैन ।
प्रधानमन्त्रीले नयाँ शिराबाट सहमतिको खोजी गर्न त्यस्तो प्रस्ताव राखेको दाबी गर्नुभएको छ नि त ?
एउटा कुरा प्रस्ट हुनुपर्छ यहाँ, बाबुरामजीलाई ग्रेसफुल एक्जिट चाहिने तर नेपाली काङ्ग्रेसलाई ग्रेसफुल इन्ट्री नचाहिने यस्तो पनि हुन्छ ?
काङ्ग्रेस पहिला पनि एमाओवादीको नेतृत्वमा सरकारमा गएकै हो नि ?
त्यसबेला संविधानसभा थियो । संविधान बनाएर नेपाली काङ्ग्रेसलाई सरकारको नेतृत्व दिने विषयमा उहाँहरूले हस्ताक्षरसहितको सहमति गर्नुभएको थियो । त्यो आधारमा हामी सरकारमा गएका थियौँ । अहिले त संविधान पनि बनेन, संविधानसभा पनि छैन, बाबुरामजी सर्वसत्तावादतिर हिँडिरहनुभएको छ । अनि कसरी जान सकिन्छ र ? बाबुरामजीले पछिल्लो समयमा लिखित प्रस्ताव काङ्ग्रेसलाई पठाउनुभएको छ । पत्र आइसकेपछि अब सभापतिले त्यस विषयमा पार्टीभित्र छलफल गराउनुहोला ।
अब सम्भावना के छ ?
प्रधानमन्त्रीले गल्ती गरिसक्नुभयो । मङ्सिर ७ गते नै उहाँले सत्ता हस्तान्तरण गर्नुपर्दथ्यो । उहाँ सत्ता छाड्ने मनस्थितिमा देखिनुहुन्न । नेपाली काङ्ग्रेस सधँै लड्दै आएको पार्टी हो । फेरि पनि लड्छ, अहिले मानिसलाई के प्रस्ट भइसकेको छ भने सत्ताका लागि काङ्ग्रेसले जे पनि मान्छ भन्ने कुरा सही होइन भनेर । सत्ताका लागि भए प्रधानमन्त्रीको प्रस्तावअनुसार अघि बढे भइहाल्यो ।
त्यसो भए निर्वाचन हुन सक्दैन ?
हो, वैशाख र जेठमा निर्वाचन अब हुन सक्दैन । आजै बाबुरामजीको सरकारमा गयौँ, केही पछि काङ्ग्रेसलाई नेतृत्व हस्तान्तरण गरे पनि निर्वाचनसम्बन्धी कानुन बनाउनुपर्यो । मतदाता परिचयपत्र चाहियो जुन अहिलेसम्म भएको छैन । यसमा मधेसी मोर्चाको अझै आपत्ति छ । स्वतन्त्र र भयरहित निर्वाचनका लागि नेपाली सेनाको आवश्यकता पर्छ । सेना परिचालनमा माओवादीले मान्दैन फेरि विवाद हुन्छ । त्यसैले अहिले जोसुकै प्रधानमन्त्री भए पनि निर्वाचन हुन सक्दैन ।
संविधानसभाको निर्वाचन कहिले होला त ?
अर्को वैशाखमा मात्रै हुन सक्छ ।
त्यसो भए अहिले किन प्रधानमन्त्री परिवर्तन गर्ने ?
मलाई लुकाएर गर्ने कुरा मन नै पर्दैन । पत्रकारहरू सहमति भयो भनेर सोध्नुहुन्छ निकट छ, भयो भन्ने जवाफ आउँछ, फेरि पनि कहिल्यै सहमति हुँदैन । मलाई त लाज लागिसक्यो । अहिले देशमा निर्वाचन हुन्छ भनेर नभने पनि हुन्छ ।
काङ्ग्रेसको नेतृत्वमा सरकार कहिलेसम्म बन्ला ?
त्यो म भन्न सक्दिनँ । राष्ट्रपति फर्किनेबित्तिकै उहाँले केही कदम चाले त्यो भारतले गराएको भन्ने आरोप लाग्छ । त्यसपछि राष्ट्रपतिले प्रक्रियालाई सुस्त गर्नुहुन्छ । त्यसैले पनि चुनाव हुन सक्दैन । पहिला वैद्यजीहरूको अधिवेशन छ, त्यसपछि एमाओवादीको अधिवेशन छ, त्यो नसकिएसम्म बाबुरामजीले सरकार छाड्नुहुन्न । तर, पछि काङ्ग्रेसको नेतृत्वमा सहमतिको सरकार नबनी धरै छैन । स्वतन्त्र व्यक्तिको नेतृत्वमा हुने भए बेग्लै कुरा हो ।
त्यसो भए अहिले सहमतिको सरकार बन्ने सम्भावना छैन ?
म अहिले नै त्यो सम्भावना देख्दिनँ ।
स्वतन्त्र व्यक्तित्वको नेतृत्वमा त सम्भव होला नि ?
त्यो स्वीकार्न अब सम्भव छैन । एमाओवादी, एमाले र मधेसी मोर्चाले नेपाली काङ्ग्रेसले उमेदवार देऊ भने । त्यसपछि मात्रै हामीले उम्मेदवारी दिएका हौँ नि । हामीले त उम्मेदवारी रोकिरहेका थियौँ नि । अहिले आएर स्वतन्त्र व्यक्तिको नेतृत्व भनेर नेपाली काङ्ग्रेसको बेइज्जत गर्ने । त्यो मानिँदैन ।
प्रचण्डजीले त प्रयास गरिरहेको छु भन्नुभएको छ नि ?
उहाँका आफ्नै अप्ठ्याराहरू छन् त्यो हामीले बुझेका छौँ । यो निश्चित हो माओवादीको महाधिवेशनसम्म यो सरकार जाँदैन । अराजक सरकार अहिले चलिरहन्छ ।
अब नेपाली काङ्ग्रेसको रणनीति के ?
यो सरकारलाई असहयोग गर्नेबाहेक हामीसँग अर्को कुनै विकल्प छैन । वार्ता चलिरहन्छ, असहयोग पनि चलिरहन्छ ।
प्रतिक्रिया