संसारकै मोटे पाल कसरी बने उदाहरणीय व्यक्ति ?

संसारकै मोटे पाल कसरी बने उदाहरणीय व्यक्ति ?


ramailoयो तस्बिर हेर्नुहोस् र थाहा पाउनुहोस् कि यी व्यक्ति संसारकै सबभन्दा मोटो मानिसका रुपमा चिनिएका व्यक्ति हुन् । तस्बिर हेरेर तपाईंलाई विश्वास नलाग्न सक्छ, यत्तिको शरीर भएका व्यक्ति त संसारमा कति छन् कति, कसरी यी सबभन्दा मोटो कहलिए ? प्रश्न जायज छ, तर पाल मेसन नामका यी उनै बेलायती हुन् जसले संसारकै सबभन्दा मोटो मानिसका रुपमा गिनिज बुकमा नाम लेखाइसकेका छन् । तर आश्चर्य, तीन वर्षअघिसम्म ४ सय ४४ केजी तौल भएका पालले तीन वर्षकै अवधिमा २ सय ८६ केजी तौल घटाएर अर्को कीर्तिमान कायम गरेका छन् । हाल उनको शरीरको तौल १ सय ५८ केजी छ र उनी यसलाई अझै कम गर्ने धुनमा लागिपरेका छन् ।
कुनै समय थियो– जब पाल मेसन हरदम ओछ्यानमा पल्टिनुबाहेक अरु केही गर्न सक्दैनथे । ४ सय ४४ केजीको शरीरले उनलाई कतै हिँडडुल गर्न स्वीकृति नै दिँदैनथ्यो । संसारकै सबभन्दा मोटा व्यक्ति भन्ने गौरव त उनलाई मिलेको थियो तर आफैंलाई असहाय तुल्याउने यस्तो गौरवमा के खुसी मनाउनु भन्ने प्रश्नले उनलाई हरदम तनावमा राख्दथ्यो । यही तनावका कारण उनले निर्णय गरे कि जसरी पनि म वजन घटाएरै छाड्छु ।
अठोट गर्न जति सजिलो हुन्छ व्यवहारमा उतार्न त्यत्तिकै गाह्रो भन्ने त सर्वसिद्ध मान्यता नै हो । उनको खानपान र व्यवहार देखे–बुझेकाहरुले पालले आफ्नो तौल घटाउन सक्लान् भन्ने पत्याएका थिएनन् । तर, उनले छोटो अवधिमै त्यत्तिका वजन कम गरेर देखाइछाडे । अहिले १ सय ५८ केजीको शरीरका साथ उनी आममानिससरह जिन्दगी जिउन थालेका छन् । उनले यतिबेला गहनाको व्यापारसमेत सुरु गरेका छन् । यसरी, कोसिस गरे जस्तोसुकै तौल पनि घटाउन सकिँदोरहेछ भन्ने एक उदाहरण पनि बनेका छन् उनी ।
मोटाउने क्रममा पाल दिनमा २० हजार क्यालोरीयुक्त खानेकुरा खान्थे । सामान्यतया यो १० गुणा बढी मात्रा हुन आउँछ । हेर्दाहेर्दै ४ सय ४४ केजीका बन्न पुगे उनी, अनि त अर्काको सहारामा बाँच्नुपर्ने अवस्था आइहाल्यो । तौल घटाउनका लागि उनले खानपानमा कमी गरेको मात्र नभई पेटको अपरेशन नै गराउनुपर्‍यो ।
यतिबेला आफ्नो खराब दिनका अनुभव समेटेर पाल एक पुस्तक लेखिरहेका छन् भने खानपानको नराम्रो आदतबाट हुने बेफाइदाबारे मानिसलाई सचेत तुल्याउने अभियानमा छन् । उनको जीवनमा नयाँ गति मात्र आएको नभई एउटा गतिली जीवनसाथीको खोजीसमेत उनले गर्न थालेका छन् ।

बर्लुस्कोनीको महँगो पारपाचुके
नाबालिक किशोरीसँग सेक्स सम्बन्ध राखेको अभियोगमा मुद्दा खेपिरहेका इटलीका पूर्वप्रधानमन्त्री सिल्बियो बर्लुस्कोनीले आफ्नी पूर्वपत्नी भेरानिका लारियोलाई वार्षिक चार करोड ८० लाख डलर प्रदान गर्नुपर्ने भएको छ । एजेन्सीहरूले जनाएअनुसार उनीहरूबीचको पारपाचुकेसम्बन्धी फाइल क्रिसमसका दिन फाइल गरिएको थियो भने पूर्वपत्नी र तीन बच्चाका साथ बर्लुस्कोनीले बस्दै आएको घरचाहिँ पूर्वराष्ट्रपतिसँगै रहनेछ । सन् २००९ मा एक मोडलको १८औँ जन्मदिनको पार्टीमा बर्लुस्कोनी सहभागी भएको भेटेपछि भेरानिकाले बर्लुस्कोनीको साथ छोडेकी थिइन् । गत मार्चमा फोब्र्स पत्रिकाले जनाएअनुसार बर्लुस्कोनीको कुल सम्पत्ति ६ अर्ब डलर रहेको छ ।
हाल ५६ वर्ष उमेर रहेकी भेरानिकालाई बर्लुस्कोनीले सन् १९८० मा एक थिएटरमा नाच प्रस्तुुत गर्दैगर्दा भेटेका थिए । त्यसको दश वर्षपछि उनीहरूबीच विवाह भएको थियो । पहिलो विवाहबाट बर्लुस्कोनीका दुई सन्तान छन् भने हालै २८ वर्षीया फ्रान्सेस्कासँग उनको सगाई भएको छ ।
विश्वयुद्धपछि इटलीको इतिहासमा सबभन्दा बढी समय राष्ट्रपति पदमा रहेका बर्लुस्कोनीले सेक्स स्क्यान्डलमा परेपछि २०११ म पदबाट राजीनामा दिएका थिए भने आगामी वर्ष हुने निर्वाचनमा फेरि राष्ट्रपति पदमा उम्मेदवारी दिने घोषणा उनले गरेका छन् ।

स्तनपान गराउने महिला स्तनक्यान्सरको खतराबाट टाढै
बच्चालाई आफ्नो स्तनपान गराउने महिला स्तनक्यान्सरको खतराबाट निकै हदसम्म बच्न सक्ने एक नयाँ अनुसन्धानपछि सम्बन्धित वैज्ञानिकहरूले दाबी गरेका छन् । कोलम्बिया युनिभर्सिटीका मेलम्यान स्कुल अफ पब्लिक हेल्थका शोधकर्ताहरूले उक्त दाबी गरेका हुन् । स्तनपान गराउँदा एस्ट्रोजन रिसेप्टर (ईआर) तथा प्रोजेस्ट्रोन रिसेप्टर (पीआर) निगेटिभ हुने भएकाले क्यान्सरको खतरा कम हुने विज्ञहरूको भनाइ छ ।
शोधकर्ताहरूले आफ्नो उक्त अनुसन्धानका दौरानमा विभिन्न पाटोबाट अध्ययन गरे । जसमा महिलाद्वारा जन्माइएका बच्चाको सङ्ख्या तथा स्तनपान आदि सामेल थिए । शोधको परिणाम यस्तो पाइयो कि जसले दुई–तीन बच्चा जन्माएर पनि स्तनपान गराएका थिएनन् उनीहरूमा स्तनक्यान्सरको खतरा स्तनपान गराउनेहरूको तुलनामा अत्यधिक पाइयो । ईआर पीआर निगेटिभ स्तनक्यान्सर विशेषगरी युवा महिलामा देखिन्छ र यसबारे रोग लागेको निकै पछि मात्र पत्तो पाइन्छ ।