विश्वभर मरे-मारिएका प्राणीप्रति श्रद्धाञ्जली !

विश्वभर मरे-मारिएका प्राणीप्रति श्रद्धाञ्जली !


विसं २०७४ भरि विश्वभर मरेका र मारिएका सबै प्राणीको सम्झनामा यहाँ दीप प्रज्ज्वलन गरिएको छ । ‘अर्थलिङ कन्डोलेन्स मेसेज’ (प्राणी श्रद्धाञ्जलि सभा) नाम दिइएको सो कार्यक्रममा मैनबत्ती बालेर श्रद्धाञ्जलि प्रकट गरिएको थियो ।

नेपाल शाकाहारी संघलगायत प्राणी कल्याणसम्बन्धी संस्थाको प्रयासमा काठमाडौँको रानीपोखरीस्थित सोह्रहाते गणेशअघि गत शुक्रबार आयोजित सो कार्यक्रममा श्रद्धाञ्जलिको व्यहोरा सबैले बाचन गरेका थिए ।

चार वर्षदेखि आयोजना गरिँदै आएको सो कार्यक्रमका सहभागी तथा शाकाहारी अभियन्ता विकेश श्रेष्ठले संसार सबैको साझा घर भएको र आजको विश्वमा प्राणीमाथिको हिंसा रोकिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सञ्चारकर्मी रीता लिम्बूले भन्नुभयो, ‘ढुंगे युग सकिएकाले अब हिंसाबिना बाँच्न सकिन्छ । मानव जातिले सबै प्राणीमाथि गरेको हिंसाका लागि हामी लज्जित छौँ । सोही कारण सबै प्राणीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न हामी उपस्थित भएका हौँ ।’

तस्बिर रासस