नयाँ सरकार बनाउने कसरत खुव भएको छ तर नयाँ सरकार बनाउन कसरत गर्नेहरूमा उही पुराना थोत्रा आफ्नै जिल्लामा जनताबाट तिरस्कृत मन्त्रीको रूपमा असफल र विवादित सिटौलाजस्ता पात्रहरू नै अगाडि आएका देख्दा नेपाली जनतालाई दिक्क लाग्न थालेको छ । जब सिटौलाजस्ता पात्रले नेपालीको हित र देशको हितका लागि बाबुराम सरकारले राजीनामा दिई शासनसत्ता उनीहरूको पोल्टामा राखिदिनुपर्ने दलिल दिन्छन् त्यतिबेला आमनेपालीलाई त्यो कुरा पच्न गाह्रै हुन थालेको छ । अनि मेरो दिमागमा पनि एक प्रश्न आउँछ, के यो सरकारको विकल्प भनेको सिटौलाजस्ता व्यक्तिलाई पुन: शासनमा ल्याउनु नै हो त ? जसले हिजो यो मुलुकलाई आजको अवस्थामा भड्खालोमा जाक्न अविष्मरणीय योगदान दिएका थिए ? ती अनुहार र पात्रहरूको आगमन हुनुभन्दा त बरु डा. बाबुरामकै सरकारलाई किन ठीक नभन्ने ?
मैले एक दिन हवाईजहाजमा मलेसियाका एक व्यक्ति भेटेँ जो त्यहाँका मन्त्री हुनुहुँदोरहेछ । हाम्रोबीच कुराकानी भयो । उहाँ राज्य वा सहायकस्तरको मन्त्री हुनुहुँदोरहेछ । उहाँसँग मैले डाक्टर महमद माथिरले मलेसियालाई दिनुभएको योगदानको कुरो उठाएँ । उहाँले त्यति नरुचाएझैं गरी भन्नुभयो– डाक्टर माथिरले मलेसियाको विकास त गरेकै हुन् तर उनी हरेक ठूला योजनाबाट प्रसस्त कमिशन खाने गर्दथे । यसरी उनले नाम मात्र कमाएका होइनन् दाम पनि खुव कमाए । त्यस दिन मैले एउटा नयाँ कुरा के बुझेँ भने यदि नेता हुनेहरू भ्रष्ट नै भए पनि अकल्पनीय रूपमा देशवासीको जीवनस्तर माथि उठाउन सके भने त्यो मुलुकले मात्र होइन अरू मुलुकहरूले पनि त्यस नेताको तारिफ गर्न बाध्य हुनुपर्दो रहेछ । तर, नेपालमा बिलकुलै नेताहरूको उल्टो चरित्र देखियो । यहाँ त आरएनएसीजस्तो राम्रो सङ्गठनलाई कोइराला परिवारले धमिजा र लाउडा काण्ड गराएर माग्ने नै बनाइदिए । हेटाँैडाको कपडा फ्याक्ट्रीदेखि त्यत्रो सम्भावना बोकेको हिमाल सिमेन्ट र उदयपुर सिमेन्ट कारखानालाई नेताहरूले नै पतन पारिदिए । आज राजविराजदेखि वीरगञ्ज, बुटवल, बालाजुसम्मका उद्योग क्षेत्रभित्र रहेका सरकारी र अर्धसरकारी उद्योगधन्धाहरू मृत अवस्थामा पुगेका छन् । अरू त अरू पूरै मुलुकमा एकाधिकार पाएको नेपाल आयल निगमजस्ता संस्थासमेत आफूलाई नेता भन्ने बद्मास व्यक्तिहरूका कारण घाटामा छ भनिन्छ । साझा बस र ट्रलीबसको हाल त देखिहाल्यौँ । हामीले ०४८ सालपछि माओवादीभन्दा अगाडि आएका कुनै पनि सरकारलाई हेर्यौँ भने नयाँ उद्योगधन्धा हाल्नेमा कसैको रुचि छैन, खालि ती उद्योगधन्धालाई चुसेर मृत घोषित गरिदिनेतर्फ नै सबैको प्रयास भएको देखिन्छ । अझ सिटौलाजस्ता व्यक्तिले त प्रहरी कल्याण कोषजस्तो सिपाहीहरूको रगत–पसिनाबाट बनेको कोषसमेतमा कुदृष्टि पुर्याई धेरै निरअपराध प्रहरीलाई मुद्दा बोक्न बाध्य बनाएकै हुन् । अत: जब–जब फेरि त्यही अनुहारहरू डा. बाबुरामको बहिर्गमन गराई सत्ता आफूलाई सुम्पन माग गर्छन् तब–तब मलाई दिक्क लाग्छ । टेलिभिजनमा आउने अनुहारहरू एक–एक गरी हेर्छु । न तिनले यो मुलुकको सार्वभौम सत्ताका सुरक्षाका लागि कुनै योगदान दिएका छन् न तिनले आफू बसेको मन्त्रालयमा कुनै नयाँ काम गरेर जनतालाई राहत वा सुविधा दिएका छन् । तिनले गरेका छन् भने फगत यो देशलाई चुसेर खुव शोषण मात्र गरेका छन् । आफूले पाएको पद केवल आफ्नै कल्याणका लागि मात्र दुरुपयोग गरेका छन् । तिनले देशलाई दिएका भने केही छैनन् ।
यदि डा. महाथिरले जस्तो केही खाएको आरोप लागे पनि यो मुलुकवासीहरूको जीवनस्तर उठाउने काममा सिटौलाजस्ता पात्रहरूले केही उल्लेखनीय योगदान दिएका भए तिनीहरू पुन: सत्तामा आउने कुरामा नेपाली केही खुसी हुन पनि मिल्थ्यो होला । तर, अधिकांश सत्ता माग्न अग्रसर हुने टीभीमा देखाइने अनुहारहरू चराका रौं पनि नउम्रेका बच्चाहरूले आफ्नो शरीरभन्दा ठूलो मुख बाएर आहारा मागेझंै खानकै लागि मात्र सत्ता माग्न हिँडेझंै देखिन्छ । त्यसमाथि काङ्ग्रेसले जब सबैभन्दा बढी आफ्नो पार्टीलाई सत्ता माग्न सिटौलाजस्ता अनुहार ठाउँठाउँमा पठाई अझ टेलिभिजनमा समेत देखाउँछ तब मलाई लाग्छ सिटौलाजस्ताको सरकारले भन्दा त बरु बाबुरामको सरकारले बाटो त चौडा गर्यो ? उनी दलितकहाँ त सुते । कमसेकम जनतासँग फोनमा त कुरा गरिरहेका छन् । सिटौलाको सरकारले भ्रष्टाचारबाहेक अरू के नै गरेको थियो र ?
नेताहरू बारम्बार भन्छन्– प्रजातन्त्र खतरामा पर्यो । म भन्छु के प्रजातन्त्र भनेको सिटौलाजस्ता अनुहार ल्याएपछि संरक्षण हुने कुरो हो त ? जसले आफू बसेको मन्त्रालयमा निरङ्कुश शासन चलाउने र विदेशी स्वार्थका लागि देशभित्र विदेशका सुरक्षा निकाय निम्त्याई आफ्नो विमानस्थलमा जाँच गर्र्ने छुट दिन्थे ?। मैले बुझेअनुसार प्रजातन्त्र जनताले चुनेको व्यक्तिद्वारा जनताको हितका लागि शासन गरेर तिनका जीवनस्तर माथि उठाउने र तिनका अधिकारहरू उपभोग गर्ने ग्यारेन्टी गर्ने प्रणाली हो । तर, काङ्ग्रेसमा जनप्रतिनिधिले चुनेको महामन्त्रीको अहिले के हालत छ ? सबैले बुझेकै कुरा हो ।
म यो कुरा बुझ्न सक्दिनँ कि अझै अरू पार्टीहरूले पनि जनताले चुनेका वर्षहरू उहिले सकिँदा पनि आफूलाई ठूलो पार्टी र साना पार्टी भनेर के आधारमा दम्भ गरिरहेका छन् ? । आफूलाई सत्ता सुम्पिन दबाब दिने अहिलेका कुनै पार्टीले जनताका जीवनस्तर उठाउन अपनाउनुपर्ने विधिमाथि भने बहस चलाएको म कहिले देख्दिनँ । उनीहरूका कारण जनताको जीवनस्तर माथि उठेको र लोककल्याणकारी राज्य स्थापना भएको उदाहरण पनि म कतै देख्दिनँ । जनता ती नेताको अनुहार हेर्न पनि चाहिरहेका छैनन् । तर, दुर्भाग्य नै भनौँ– तिनै नेताहरू पुन: आफ्नो पोल्टोमा राज्यको शासन व्यवस्था सुम्पन डा. बाबुरामलाई प्रजातन्त्रको दुहाई दिँदै ठूला कुरा गरिरहेका छन् ? म सोच्छु तिनलाई फेरि किन दिने ? बरु आमव्यक्तिलाई किन नदिने ?।
आजभोलि नेपाल देशको सत्ता जमिनदारहरूको बपौतीजस्तै भएको छ । पहिलापहिला अङ्ग्रेजहरूले झण्डै चार सय ६५ भन्दा बढी राजा–रजौटा भएको हिन्दुस्तानजस्तो विशाल मुलुकलाई राजा, जमिनदार आदिबाट नियन्त्रण गरेका थिए । उनीहरूलाई मद्दत गर्न सरकारी दरोगा (प्रहरी) दिइन्थ्यो र जमिनदारले दरोगाभन्दा मुनि डाँकाहरू पालेर विरोधीहरूलाई तह लगाउने गर्दथे । अहिले नेपालको शासन पनि त्यसैगरी दरोगा र गुण्डाद्वारा जनतालाई काबुमा ल्याई चलाइएझंै लाग्छ । हरेक यो देशको शासन चलाउँछु भनी विकल्प दिन आउनेहरूको क्षमता हिजो हामीले हेरिसकेका छौँ । तिनमा न भिजन छ न मिसन छ न त राष्ट्र प्रेम नै छ न जनताको समर्र्थन नै ।
मलाई लाग्छ अहिले देशले लक्ष्य दिएर आउने नेता खोजिरहेको छ जसले यति वर्षमा नेपालीको जीवनस्तर यो बिन्दुमा पुर्याउँछु भनेर सार्वजनिक आह्वान गरोस् । त्यो लक्ष्य प्राप्त गर्न हरेक मन्त्रालयले पूरा गर्नुपर्ने दायित्वमाथि सम्बन्धित विशेषज्ञहरूको व्यापक छलफल गराउन सकोस् । त्यो नेतृत्वले पूरै मुलुकलाई त्यो महान् अभियानमा अग्रसर गराउन सकोस् र स्थिति यस्तो आओस् कि यो देशका कुनै पनि उमेर पुगेका नेपाली कसैलाई पनि फुर्सद नहोस् । जागिर खोज्न सहर वा विदेश जानुपर्ने होइन जागिर नै घरमै आइपुगोस् । नयाँ–नयाँ परियोजनाका उद्घाटनका समाचारले टेलिभिजन र रेडियो छाओस् । संसारभरका लगानीकर्ता यहाँ लाइनमा बसुन् । कर्मचारीहरूमा सुशासन, अनुशासन अनि देशप्रेमको बाढी आओस् । निजी उद्यमीहरू पूरै एसियामा दश धनी व्यक्तिमा परुन् । हाम्रा मुलुकमा श्रमका लागि अरू मुलुकबाट मानिस आउन थालुन् । नेपालीलाई तीन महिनाको कमाइले एक वर्ष खान पुगोस् र उनीहरू पनि सपरिवार देश–विदेशमा पर्यटक भएर निस्कन सकुन् । देशको माटोप्रति गौरव, सम्मान सबैमा बढोस् । चोर, फटाहा, गुण्डा, डन, राजनीति गरेर खाने श्रमिकको दोहोलो काढियोस् । इमानदारको कदर होस् । हो, नेपालीले खोजेको विकल्पका परिवर्तन भनेको त्यो नेतृत्व हो । डा. बाबुरामको विकल्पमा आमनेपालीले त्यस्तो व्यक्ति खोजिरहेका छन् । तर, जव विकल्प आफू हौँ भन्दै पुन: सिटौला मार्का असफल नेताहरू टेलिभिजनमा देखिन्छन् तब धेरै नेपालीलाई यस्तो लाग्छ यी अनुहारलाई विकल्पमा ल्याएर यो मुलुकको ढुकुटी सुम्पनुभन्दा त बरु डा. बाबुराम नै ठीक छन् । कम से कम यिनले काठमाडौंका बाटो त चौडा बनाए ।
म आमनेपाली दाजुभाइलाई पनि यही प्रश्न गर्दछु कि ‘के डा. बाबुराम सरकारको नयाँ विकल्प भनेको सिटौलाजी जस्ता पात्रहरू नै हुन् त ?’ के यिनले भविष्यको नयाँ नेपाल हाम्रा सन्ततिलाई दिन सक्छन् त ? यदि सक्दैनन् भने हामीले यस्तै अनुहारबाट यो मुलुकले काँचुली फेर्ने सपना देखेर किन पुन:पुन: गल्ती गरिरहेका छौँ त । मेरो विचारमा सत्ता छोड्न नचाहने र पुन: सत्ता प्राप्त गर्न चाहने असफल अनुहारहरूको कुरा सुन्न र तिनका गतिविधि टेलिभिजनमा हेर्नतिर लाग्नुभन्दा पनि आमनेपालीले नयाँ नेता खोज्न र विशाल समूह बनेर नयाँ योजनाका साथ सत्ता आफैँले चलाउन अग्रसर हुनुपर्ने बेला आइसकेको छ । यदि यो पहल नहुने हो भने यो मुलुक अब ‘जिसका लाठी उसका भैंस’ भन्ने सिद्धान्तमा चल्ने छ र मुलुक गृहयुद्धमा धकेलिनेछ । यी पुराना अनुहार जानु र आउनुले नेपाली जनताको जीवनस्तरमा केही फरक ल्याउने छैन । फरक ल्याउन फरक काम गर्नुपर्ने समय आइसकेको छ । यदि बाबुरामको सरकार हटाई सिटौलाजस्ताको सरकार ल्याएर यो मुलुकमा ठूलो परिवर्तन आउँछ भनेर सोचिरहेका छौँ भने वा आशा गरिरहेका छौँ भने त्यो अर्को मूर्खता हुनेछ । के डा. भट्टराईको विकल्प भनेको सिटौलाजस्ता पात्रहरू नै हुन् त ?
प्रतिक्रिया