पर्खालभित्र र पर्खालबाहिर– दीपेन्द्रसिंह थापा

पर्खालभित्र र पर्खालबाहिर– दीपेन्द्रसिंह थापा


indreni(क) पर्खालभित्र
सुरक्षाको नाममा
जतिसुकै अग्लो पर्खालले छेकिए पनि
पर्खालभित्र बस्ने मान्छे
आफूलाई सबैभन्दा असुरक्षित
महसुस गर्छ
छेकिएर बस्न खोज्ने मान्छे
सबैभन्दा बढी त
आफूद्वारा नै छेकिएको हुन्छ ।

बन्धुत्वको बाह्रखरी हराएपछि
अँध्यारोको आकृति मन पराएपछि
समयको कुनै पनि कुइनेटोमा
पर्खालभित्रै
स्वाभिमानका भीमसेन धरहराहरू
ढालिएका हुन्छन्
पर्खालभित्रै
इतिहासका कुख्यात खलनायकहरू
पालिएका हुन्छन् ।

पर्खाललाई
निर्जीवताको अर्को नाम माने पनि
पर्खाललाई
निरङ्कुशताको कालो घाम ठाने पनि
जतिखेर पनि
पर्खालभित्रै
अदृश्य छायाहरू चलखेल हुन्छन्
कलङ्क पोतिएका अनुहारहरू
जतिखेर पनि
पर्खालभित्रै
अशोभनीय अभ्यासको
जालझेल बुन्छन् ।

ए पर्खालभित्र बसेका मान्छेहरू !
भन–
के अब पनि पर्खालले
परिवर्तन रोक्न सक्छ ?
ए उज्यालोदेखि डराएका मान्छेहरू !
भन–
के अब पनि पर्खालले
उज्यालो छेक्न सक्छ ?
००
(ख) पर्खालबाहिर
सतत सत्य बनेर
सतत स्वीकार्य तथ्य बनेर
पर्खालबाहिर नै
परिवर्तनका पहारिला घामहरू
सखारै पाइला टेक्न आइपुग्छन्
पर्खालबाहिर नै
समयका ओजपूर्ण आलोकहरू
सखारै सम्भावना देख्न आइपुग्छन् ।

अरनिकोलाई साक्षी राखे पनि
सीता र भृकुटीलाई दृष्टान्त बनाए पनि
पर्खालबाहिर नै
‘बसुधैव कुटुम्बकम्’ का गीतहरू
लेखिएका हुन्छन्
पर्खालबाहिर नै
मान्छे मान्छेका विभाजित रेखाहरू
मेटिएका हुन्छन् ।

नित्य नयाँ परिष्कार भएर
नित्य नयाँ आविष्कार बनेर
पर्खालबाहिर नै
निर्भयसाथ
जीवनका सबै ढङ्गहरू बाँच्न सकिन्छ
पर्खालबाहिर नै
बिना कुनै सङ्कोच
जीवनका सबै रङ्गहरू हाँस्न सकिन्छ ।

बुद्धत्व प्राप्त गर्नेहरू
ऋषित्व आर्जन गर्नेहरू
पर्खालबाहिर नै
दृष्टिदेखि दृष्टिसम्म यात्रा गर्न सक्छन्
पर्खालबाहिर नै
सृष्टिदेखि सृष्टिसम्म उज्यालो छर्न सक्छन् ।