— अध्यक्ष मोहन वैद्य किरण
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले जनसरकार तथा जनअदालत पुन: स्थापित गराइने बताउनुभएको छ । उहाँको भनाइछ, ‘जनताले नयाँ लोकतन्त्रकै लागि क्रान्ति गरेका हुन्, तर त्यो तुहियो । क्रान्ति त अब हुन्छ । जनसरकार र जनअदालत ब्युँतिन सक्छ ।’ घटना र विचारका लागि ऋषि धमलासँग कुरा गर्दै वैद्यले दाबी गर्नुभयो, ‘जनताकै अदालत र सरकार भएपछि जनताले त्यसलाई अवश्य स्वीकार गर्नेछन् ।’ अब फेरि हतियार पनि उठाउनुहुन्छ कि भनी गरिएको प्रश्नको जवाफमा उहाँले भन्नुभयो, ‘अहिले त्यो कुरा छैन, हामी हेर्दै छौँ, यिनीहरूले के–के गर्छन्, संविधान बनाउँछन् कि बनाउँदैनन् । संविधानसभा निर्वाचनको औचित्य छ कि छैन त्यसको विश्लेषण गर्छौं, त्यसपछि क्रान्ति पूरा गर्नुपर्ने भए घोषणा गरेरै गर्छौं । आवश्यकताअनुसार हतियार उठ्न सक्छ । जनताको समस्या समाधान नभएसम्म जनविद्रोहको सम्भावना सधैँ रहन्छ । पार्टीको अबको कार्यदिशा नयाँ जनवादी गणतन्त्र स्थापना गर्नेतर्फ लाग्छौँ ।’ वैद्यले भन्नुभएको छ, ‘संसद्वादी एजेण्डा मान्दैनौँ, त्यो मान्ने भए अहिले पार्टी विभाजन नै हुने थिएन । हामी जनताको लोकतन्त्र मान्छौँ, पुरानो मक्किएको लोकतान्त्रिक गणतन्त्र मान्दैनौँ ।’
देशलाई समस्याबाट निकास दिने कुनै सूत्र तपाईंसँग छ ?
त्यो नहुने त कुरै भएन । अहिलेको ढङ्गले समाधान निस्कँदैन । असफल भइसकेका चारवटा पार्टीलाई राष्ट्रपतिज्यूले बोलाइरहने अनि निकास निकाल्नुपर्यो भनेर म्याद थपेका थप्यै गर्ने, यसरी निकास हुँदैन । निकासका लागि गोलमेच सभा गर्नुपर्यो भनेर हामीले भनेका छौँ । सबै पार्टी बसेर छलफल गर्नुपर्छ पहिलो कुरा । त्यसपछि सरकारमा मात्रै बस्ने सूत्रलाई फ्याल्नुपर्छ । सरकारमा बस्नेहरूले पनि काम गर्न नसकेकाले छाडिदिनुपर्छ र आउन चाहने मान्छे पनि एजेण्डासहित आउनुपर्यो । बिनाएजेण्डा केवल सरकार भनेर मात्रै आउनुहुँदैन । अर्को, साँच्चै समस्या समाधान गर्न चाहने हो भने एकछिनका लागि कम्युनिस्ट, काङ्ग्रेस, राप्रपा, मधेस केही पनि नभनौँ र देशलाई कसरी निकास दिने भन्ने मात्रै सोचाँै । कस्तो संविधान बनाएर सबैको समस्या हल गर्न सकिन्छ र कसरी हकअधिकार सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा गम्भीरताको विषयमा सोचाँै ।
तपाईंहरूले पनि दशवर्षे जनआन्दोलन सत्ताकै लागि त गर्नुभएको हो नि, होइन र ?
हामीले भनेको यो सत्ता होइन । हामीले भनेको सत्ता त अहिलेको राज्य–व्यवस्थालाई नै पल्टाएर जनताको राज्यसत्ता स्थापना गर्ने हो । तर, अहिलेको लडाइँ सत्ताका लागि होइन, सरकारका लागि मात्रै हो । सत्ता र सरकार फरक कुरा हो । अहिलेको झगडा सरकारका लागि हो ।
अहिले बाबुराम भट्टराईलाई हटाउन तपाईंहरूसँग तागत नभएकै हो ?
त्यसो नभनौँ, उहाँ यो रूपमा बसेको बस्यै गर्न त सक्नुहुन्न । उहाँ हट्नुपर्छ भनेर त हामीले भनिरहेकै छौँ । हामी महाधिवेशनमा लागेकाले पनि त्यति ध्यान केन्द्रित गर्न सकेका छैनाँै । फेरि हाम्रो भनाइ बाबुरामजीलाई हटाउने मात्रै भने होइन । त्योसँगै संविधानसभालाई विघटन गरेर धोका दिने काम भयो, यो गलत हो । अब कि दलहरूले गोलमेचसभामार्फत साँच्चैको सहमति गर्नुपर्यो नसके आन्दोलनमा जानुपर्यो यही हो हाम्रो एजेण्डा ।
तर, तपार्इंहरूसँग जनता छैनन् भन्ने आरोप पनि छ ?
जसले जनताको एजेण्डा बोकेको हुन्छ जनता त्यसैसँग हुन्छ । हामीले जनताको एजेण्डा बोकेका छाँै ।
तर, प्रधानमन्त्री त आफूले जनताको एजेण्डा बाकेको दाबी गर्दै हुनुहुन्छ नि ?
उहाँले जनताको पनि बोक्नुभएको छैन, देशको पनि बोक्नुभएको छैन । हिजो त जनताको एजेण्डा बोक्नुभएको थियो तर अहिले सबै फालिसक्नुभयो ।
उसो भए प्रधानमन्त्रीले कसको एजेण्डा बोक्नुभएको छ त ?
प्रधानमन्त्रीजीले त भारतको एजेण्डा बोक्नुभयो । बिप्पा बोकेर आउनुभयो । उहाँमा वैचारिक स्खलन भयो । सर्वहारावर्गको हित छाडेर अर्कै वर्गको हित गर्न लाग्नुभयो ।
राष्ट्रपतिले प्रधानमन्त्री हटाउन सक्नुहुन्छ ?
राष्ट्रपतिले अब यी तीन पार्टीको कुरा सुन्नुहुन्न । राष्ट्रपतिले अब सबै दलहरूको राय–सुझाव लिनुपर्यो । तीन पार्टीलाई मात्रै बोलाएर सल्लाह गर्नु राष्ट्रपतिको गल्ती हो । यो तरिकाले पार पाइँदैन । अरू पार्टीको कुरा पनि सुन्नुपर्यो । र, अहिलेको प्रक्रिया छोडेर प्रयास गर्नुपर्यो ।
सुशील कोइरालालाई नेतृत्व दिएर समस्या समाधान होला त ?
व्यक्ति छाड्नुस्, नेपाली काङ्ग्रेसले के एजेण्डा ल्याउँछ त्यो महŒवपूर्ण हुन्छ । सुशीलजीको कुरा गर्दा उहाँ बूढो हुनुहुन्छ, पाको हुनुहुन्छ, निष्ठावान हुनुहुन्छ, त्यागी हुनुहुन्छ । कुनै–कुनै बेला उहाँले राष्ट्रियताको पनि कुरा उठाउनुहुन्छ त्यो उहाँको सकारात्मक पक्ष हो । त्यसको साथसाथै एजेण्डा ल्याउनुपर्यो । त्यसमा छलफल गर्न सकिन्छ ।
स्वतन्त्र व्यक्तिको नेतृत्वको प्रस्ताव आएको छ नि ?
त्यो त हामी पार्टीहरू असफल भयौँ त्यसैले स्वतन्त्र व्यक्ति भनेको हो । यो प्रस्तावपछि मलाई एक अर्थमा खुसी नै लागेको छ किनकि दलीय राजनीतिको कुरा गर्नेले यस्तो प्रस्ताव ल्याउनुले दलीय व्यवस्था नै असफल भयो भनेर भनेको हो नि । आफू नै असफल भयौँ भनेको हो । असफलताको प्रमाण । दलीय पद्धति चाहने हो भने दलहरू अघि आउनुपर्यो । स्वतन्त्र व्यक्ति ल्याए कुन प्रणाली मान्ने !
प्रचण्ड र बाबुराम भट्टराईले यो प्रस्ताव किन ल्याउनुभएको होला ?
यस्तो प्रस्ताव ल्याउनुको धेरै कारण होलान् । आफ्नो असफलतालाई स्वतन्त्र व्यक्तिको प्रस्तावमार्फत अभिव्यक्त उहाँहरूले गरेको हो । हामीले सकेनौँ भन्ने कुरा हो । यसका लागि धन्यवाद छ ।
महाधिवेशनमा प्रचण्डलाई बोलाउनुहुन्छ ?
हामी एउटा क्राइटएरिया बनाउँदै छाँै कसलाई बोलाउने वा नबोलाउने भन्ने विषयमा । हामी पछि निर्णय गर्छौं । प्रचण्डमात्रै होइन, को–को बनाउने भन्ने कुरामा निर्णय गर्न बाँकी छ ।
महाधिवेशनको मूल एजेण्डा के हुन्छ ?
तीन प्रस्ताव पेस गरेका छाँै । प्रतिवेदन, विधान र नौलो जनवादी क्रान्तिको कार्यक्रम हो । यसमा छलफल गरेर पास गर्छांै । दोस्रो काम पारित कार्यक्रम कार्यान्वयन गर्न नेतृत्वको छनोट हुन्छ । र, अर्को देश र जनताको पक्षमा अघि बढ्छौँ भनेर प्रतिबद्धता व्यक्त गर्छौं । र, जनताको बीचमा जान्छाँै । जनवादी क्रान्तिको एजेण्डा लिएर जान्छौँ ।
अबको अध्यक्ष को ?
म नै अध्यक्ष भनेर भने त निरङ्कुश भइहाल्छ नि । त्यो महाधिवेशनले निर्धारण गर्ने कुरा हो ।
चन्दा कति उठाउनुभयो ?
चन्दा उठाइएको छ । व्यापारी, उद्योगी सबैलाई इच्छाअनुसार चन्दा दिन आह्वान गरेका छाँै । जनताको सत्ताका लागि लागेकाले पैसा जनताबाटै उठाउने हो । तर, त्यसको पारदर्शिता हुन्छ ।
रिमले कति सहयोग गर्यो ?
रिम आफैँ मृतप्राय छ, त्यसले के पो गर्छ र । तर, रिमलाई बलियो बनाएर अघि बढ्नुपर्छ ।
प्रतिक्रिया