आउँदै छ टाउकामा बाँध्ने कम्प्युटर

आउँदै छ टाउकामा बाँध्ने कम्प्युटर


ramailoएक यस्तो कम्प्युटरको कल्पना गर्नुस् जो तपाईंको टेबलमाथि रहेको कुनै सानो डिब्बा आकारको पनि छैन र त्यसलाई चलाउन माउस र किबोर्डसमेत आवश्यक पर्दैन । बरु त्यसलाई तपाईं आफ्नो शिरमा बाँध्न सक्नुहुन्छ र यसलाई आवाजकै भरमा सञ्चालित गर्न सक्नुहुन्छ । अब यो कल्पनामा होइन यथार्थमै परिणत भएको छ । यसप्रकारको कम्प्युटर आगामी वर्षसम्ममा त बजारमा बिक्रीका लागिसमेत आइसक्नेछ ।
एचसी–१ नाम दिइएको र मोटोरोला सोल्युसन्स कम्पनीले निर्माण गरेको यो कम्प्युटर झट्ट हेर्दा ठूलो साइजको टेलिफोनको हेडसेटजस्तो देखिन्छ । यसलाई टाउकामा बाँधेर प्रयोग गर्न सकिनेछ । साइकलको हेलमेट र ग्यास मास्कजस्तो देखिने कम्प्युटर पनि सो कम्पनीले निर्माण गर्ने बताइएको छ ।
उक्त कम्प्युटर टाउकामा बाँधिए पनि अनुहार सामुन्ने एक स्क्रिन रहन्छ जसमा हेर्नका लागि शिरलाई केही झुकाउनुपर्ने हुन्छ । त्यसले तपाईंले मनमा चाहेको कुरा बुझ्छ अर्थात् तपाईं उक्त उपकरणलाई आदेश दिन सक्नुहुन्छ जसबाट त्यसले फाइल खोल्ने, इमेल चेक गर्ने, क्यामेराको जुम–इन गर्ने आदि काम गर्छ । खासगरी दूरदराजमा काम गर्ने इन्जिनियर, निर्माण क्षेत्रमा लागेका कालिगढ, वास्तुकारहरूलाई यो कम्प्युटर उपयोगी हुने बताइएको छ । उक्त कम्प्युटरको बजार ठूलो नहुने अनुमान गर्दै निर्माण कम्पनीले त्यसको मूल्य तीनदेखि चार हजार डलरसम्म पर्ने जनाएको छ ।

क्यान्सरबाट यसरी मुक्ति दिलाउँदै छ किमोबाथ
क्यान्सरबाट बच्नका लागि विश्वभर अनेक किसिमका उपायहरूको खोजी जारी छ । यसक्रममा हालै पत्ता लागेको ‘किमोबाथ’ क्यान्सर उपचारका लागि प्रचलनमा रहेको किमोथेरापीभन्दा धेरै प्रभावकारी रहेको र यसबाट क्यान्सररोगीहरूलाई ठूलो राहत मिल्ने अनुमान गर्न थालिएको छ । किनकि, किमोथेरापीको मद्दतले शरीरमा तीव्र गतिमा बढिरहेको क्यान्सरलाई नष्ट त तुल्याइन्छ तर यसबाट शरीरको अन्य भागमा अत्यन्त ठूलो नोक्सानी पुग्छ ।
यसक्रममा बेलायतमा पहिलोपटक लिभर क्यान्सरबाट पीडित एक व्यक्तिलाई ‘किमोबाथ’को माध्यमबाट ठीक पारिएको र उक्त विधि किमोथेरापीको तुलनामा निकै प्रभावशाली र कम हानिकारक रहेको सम्बन्धित चिकित्सकहरूले दाबी गरेका छन् ।
‘साउथैम्पटन जनरल हस्पिटल’का चिकित्सकहरूका अनुसार किमोबाथमा शरीरको जुन अङ्गमा दबाईको प्रयोग गरिन्छ त्यसबाट दोस्रो हिस्सामा कुनै प्रभाव पर्दैन, जसले गर्दा किमोथेरापीका कारण उत्पन्न हुने कष्टबाट रोगीलाई पूरै राहत मिल्दछ । यस विधिबाट औषधि पनि कम लाग्ने बताइएको छ । सामान्यतया किमोथेरापीमा औषधिको प्रयोग सुईमार्फत नसामा पठाइन्छ जसले सोझै ट्युमरलाई प्रभावित गर्नुको साटो सिङ्गै शरीरमा पुग्छ । यसले क्यान्सररोगीलाई हरदम थकित अनुभूति गराइदिन्छ, रोगीको कपाल झारिदिन्छ र बाँझोपनको खतरा पनि बढाइदिन्छ । तर, किमोबाथले यो सबै खतराबाट जोगाउँछ ।
किमोबाथअन्तर्गत उपचार गर्नुपर्ने अङ्गलाई शरीरबाट अलग गरिन्छ, त्यसलाई औषधिमा भिजाएर एक घन्टासम्म राखिन्छ र फेरि पुरानै ठाउँमा त्यसलाई फिट गरिन्छ । आश्चर्य त यो छ कि त्यति गरेपछि पनि पूर्ववत् रूपमा उक्त अङ्गमा पूर्ण रूपले स्वच्छ रगत प्रवाहित हुन थाल्दछ । यसलाई उक्त उपचारसँग सम्बन्धित डाक्टर ब्रिआन स्टेडम्यानले एक आश्चर्यजनक उपलब्धिका रूपमा व्याख्या गरेका छन् ।
किमोबाथ उपचार पद्धतिमाथि युरोपका साथसाथै अमेरिकामा पनि थप प्रयोग भइरहेको र छिट्टै यो आमउपचारका रूपमा आउने बताइएको छ ।

दुर्घटना टार्ने कार
गाडी निर्माता कम्पनी टोयोटाले एक यस्तो भिडियो क्लिप जारी गरेको छ जसमा लेक्सस कारलाई सडकमा हुने जस्तोसुकै दुर्घटनालाई पनि टार्न सक्ने प्रविधिबाट सुसज्जित तुल्याइएको देखाइएको छ ।
कारमा प्रयोग गरिएको प्रविधिमा जडान भएको भिडियो क्यामेराले सडकको अलावा वरपरका स्थान एवम् ड्राइभरमाथि पनि नजर राख्ने टोयोटा कम्पनीका प्रवक्ताले जनाएका छन् । उनका अनुसार यो कार सडकमा चलिरहेका अन्य कारसँग सम्पर्क पनि स्थापित गर्न सक्छ । सडकमा हुने दुर्घटनालाई पूरै टार्नका लागि यस्तो प्रविधियुक्त कार निर्माण गरिएको बताइएको छ । बताइएअनुसार उक्त कारमा इन्टलिजेन्ट ट्रान्सपोर्ट सिस्टम प्रयोग गरिएको छ । चलाउँदाचलाउँदै कतै चालक निदाउन लागेको त छैन भनेर नजर राख्नेदेखि सडकमा पैदल हिँड्नेहरूमाथि ध्यान पु-याउने, ट्राफिक सिग्नलहरूबारे पहिले नै अवगत गराउने काम कारले स्वतस्फुर्त रूपमा गर्दछ । चर्को स्पिडमा पनि नपल्टने विशेष क्षमता उक्त कारमा विकास गरिएको कम्पनीको दाबी छ ।

बालहत्याको आरोपमा महिलाको शिर छेदन
चार महिनाको एक शिशुको हत्या गरेको आरोपमा साउदी अरबमा एक श्रीलङ्काली घरेलु महिला कामदारको शिर छेदन गरिएको छ । साउदी अरबमा बच्चा हेर्ने काममा रहेकी रिजाना नफिक नामकी ती महिलाले सन् २००५ मा आफ्नो जिम्मेवारीमा रहेको शिशुको हत्या गरेको आरोप लगाइएको छ । त्यतिबेला उनको उमेर मात्र १७ वर्षको थियो । मानवाधिकारवादीहरूले उनलाई त्यसरी दण्ड दिइएको घटना अन्तर्राष्ट्रिय मानव अधिकारको चरम उल्लङ्घन भएको भनी आपत्ति जनाएका छन् । श्रीलङ्का सरकारले पनि उनलाई त्यस्तो सजाय नदिन गरिएको अपिलको साउदी अरबले पूरै उपेक्षा गरेको भनी विरोध गरेको छ । उता साउदी अरबले भने बच्चाकी आमासँग भएको झगडाको रिसमा बालकको हत्या गरेकाले रिजानााको शिर काटेर सजाय दिनुपरेको स्पष्टीकरण दिएको छ ।