प्रहरीमा को राम्रो को नराम्रो ?

प्रहरीमा को राम्रो को नराम्रो ?


basantaपुलिसमा को राम्रो को नराम्रो ? को व्यावसायिक को गैरव्यावसायिक ? यो एउटा सधैँ विवादको विषय रहेको छ । अरू बेला यो चर्चा कम हुने गर्दछ तर हामीले गौढ गरेर हे-यौँ भने पदोन्नति निस्कने समयमा र सरुवाको समयमा यसप्रकारको चर्चा पत्रपत्रिकामार्फत अत्यधिक सार्वजनिक हुने गर्दछ । यसरी पदोन्नति वा सरुवाका अगाडि पत्रपत्रिकामा प्रकाशित हुने राम्रा–नराम्रा भन्नेबारेका समाचार अधिकांश प्रायोजित हुने गर्दछन् । यस्ता समाचार ती खास अवसरमा कि त कसैको चरित्र हत्या गर्न वा कसैलाई फाइदा पु-याउन वा निर्णयकर्तालाई अप्ठ्यारोमा पार्न सार्वजनिक गरिएको पनि हुन सक्दछ । उदाहरणका लागि गत आईजीपी पदोन्नतिमा एआईजी भीष्म प्रसार्इंविरुद्ध केही दिन लगातार खासखास छापाहरूले चरित्रहत्या गर्ने गरी समाचार निरन्तर रूपमा प्रसारण गरे । त्यो समाचार यस्तो बेलामा प्रकाशित गरियो जब गृहमन्त्रीले भीष्म प्रसाईंलाई पदोन्नति दिने मन बनाएका थिए । गृहमन्त्री गच्छदारसमेतले पैसा खाएर यो पदोन्नति गरिदिने प्रयास गरिरहेका छन् भनि निरन्तर रूपमा पत्रपत्रिकामा त्यसबखत आएका समाचारहरूमध्ये धेरै पूर्वाग्रही र खास उद्देश्यका लागि पनि छापिएका थिए भन्ने विश्वास राख्ने प्रशस्त प्रहरी अधिकृतहरू पनि छन् । यस्तो बेलामा त्यो काम अधिकांश प्रहरीकै सक्रियतामा हुने गर्दछ र आमजनमानसलाई त्यो व्यक्तिबारे थाहा नभए पनि थोरै इन्टलिजेन्ट अधिकृत तथा कर्मचारीले त्यो व्यक्तिलाई सजिलै चिन्छन् । यस्तो प्रायोजित समाचारहरू त्यो खास अद्देश्य पूर्ति भएपछि फेरि छापाहरूमा देख्न पाइन्न । उदाहरणका लागि कुवेर राना व्यावसायिक इमानदार भनी प्रचार गरिएको छ र भीष्म प्रसाईं वा अन्य बद्मास भनी प्रचारित गरिएको छ भने कुवेर रानाले पदोन्नति पाएपछि तत्कालै भीष्म प्रसार्इं बद्मास हो भन्ने लेख्न पनि छोडिन्छ किनकि त्यो समाचार त्यति समयकै लागि मात्र उपयोग गरिएको हुन्छ । तर, यस्ता समाचारहरूले धेरै राम्रा अधिकृतहरूलाई डुबाएको छ र धेरै बद्मासलाई माथि पनि पु-याएको छ । त्यसैले आज प्रहरीहरू कामले भन्दा पनि आमसञ्चारमाध्यमको सहाराबाट योग्य हुन प्रयास गरिरहेका पनि पाइन्छ ।
त्यसैले पुलिसमा को राम्रो ? को नराम्रो ? आज बहसको विषय भएको छ । सेनामा तालिममा उत्कृष्ट गर्ने र माथिल्ला तहले अनुशासित भनेका वा मन पराएकाहरूलाई उत्कृष्ट मानिएको छ । निजामतीमा खुला प्रतिस्पर्धा वा लोकसेवाको नियमभित्र छिर्नेलाई उत्कृष्ठ मानिएको छ । कृषिमा बढी कृषि उत्पादन गर्नेलाई उत्कृष्ट भनिएको छ । भरियामा बढी भारी बोक्ने र सुरक्षित ढङ्गले समयमा पु-याउनेलाई उत्कृष्ट मानिएको छ । तर, प्रहरीमा उत्कृष्ट र व्यावसायिक भनेको के हो ? त्यसको कुनै आधार प्रस्ट छैन र आधार प्रस्ट नहुनेबित्तिकै त्यो आधार विवादित हुनु पनि स्वाभाविकै हो ।
मैले ०३९ सालतिर जागिर खाँदा तालिमको ठूलो महत्व थियो । काङ्ग्रेस, एमाले सरकारमा आएपछि तालिमभन्दा राजनीतिक आस्था र पैसा बुझाएर मानिसहरू उत्कृष्ट हुन थाले । अहिले माओवादी समयमा पनि माओवादीनजिकका उत्कृष्ट हुन पाएका छन् भने कति गृहमन्त्री वा प्रधानमन्त्रीको नजिक भएका कारण पनि उत्कृष्ट हुन पुगेका छन् । वास्तवमा प्रहरीको उत्कृष्ट अहिले मुख्य पाँच आधारमा भएको देखिन्छ । पहिलो राजनीतिक पहुँच, दोस्रो पैसा दिने क्षमता, तेस्रो गृहमन्त्री वा प्रधानमन्त्रीका वा उच्च प्रहरीहरूका नातेदार, चौथो हाकिमलाई नगद, जिन्सी प्रदान गर्न सक्ने खुवी र पाँचौँ पत्रपत्रिकामा आफ्नो गुणगान गवाउन सक्ने हैसियत । यी पाँचवटा यस्ता सशक्त आधार देखिएका छन् जसको आधारमा प्रहरी कर्मचारीहरू माथि उक्लन सफल पनि भइरहेका छन् ।
अहिले जब म गहिरिएर हेर्छु अधिकांश चोरी, अपहरण, हत्याका केसहरू अनुसन्धान भएका छैनन् । दिनदहाडै न्यायाधीश मारिए र त्यसको हत्यारा पत्ता लगाउन नसक्नेहरू पनि व्यावसायिक र उत्कृष्ट हुन सफल भएकै छन् । त्यो कसरी भएको हो– मेरो समझमा आउँदैन । त्यस्तो बेलामा त तिनलाई निलम्बन पो गर्नुपर्ने हो । जब राष्ट्रिय सुरक्षामा प्रभाव पार्ने घटनाहरू अनुसन्धान हुँदैन भने त्यसको जिम्मा बोकेकाहरू दण्डका भागीदार हुनुपर्ने कि नपर्ने ? हिउँमा ड्युटी गर्नेभन्दा दैनिक ठूला हाकिमको अगाडि फाइल बोकेर हाँस्न र उनको स्तुतिगान गाउने आज उत्कृष्ट हुन सक्न अवस्था छ । अनकन्टारमा बसेका प्रहरी कसैलाई याद पनि हँुदैन । आज प्रहरीमा दर्ता भएका चोरी, ठगी, अपहरण, हत्या, बलात्काका सम्पूर्ण घटना बाहिर ल्याएर कत्तिको अपराधी समातिए वा सजाय पाए तिनको आधारमा अनुसन्धानकर्ताहरू उत्कृष्ट ठहर भएका वा काम गर्न नसक्ने झल्लो भएको हामीले देखेका छैनौँ । आमजनताको घरमा भएका चोरीलाई सक्रियतापूर्वक छानबिन गराउन पनि नेता खोज्नुपर्ने स्थिति छ ।
त्यसैले आज प्रहरीको साख गिर्दै गएको एउटा प्रमुख कारण के हो भने उत्कृष्ट भन्ने परम्परा, मान्यता र प्रहरी नियममा भएका आधारहरूलाई त्यो संस्थाले लत्याउँदै गयो । उसले बिलकुलै यस्ता नयाँ आधारहरू बाहिर ल्यायो जसले प्रहरीलाई विवादित र भ्रष्ट बनायो । मात्रै राजनीतिक आस्थाका आधारमा वा पैसा खुवाएको आधारमा वा झुटो प्रेस प्रोपोगाण्डाको आधारमा कोही माथिल्लो पदमा पुगे भने तिनलाई आमजनताको शान्तिसुरक्षासँग के नै मतलब हुन्छ र ? तिनलाई त आफ्ना माईवाप राजनीतिक प्राणी, प्रोपोगाण्डामा साथ दिने पत्रपत्रिका र खर्चेको धन फिर्ता ल्याउने मात्र धुन हुन्छ । उनीहरूले कहिलेकाहीँ जनताका शान्तिसुरक्षामा देखाएका सरोकार केवल देखावटी मात्र हुन्छ र ती देखावटी नाटकलाई तिनले पत्रपत्रिकामार्फत अनुकूल ढङ्गले छाप्न लगाई आफू जनताप्रति संवेदनशील छु है भनेर देखाउने प्रयास मात्र गरिरहेका हुन्छन् । आज सरकारले सयौँ, हजारौँ अपराधमा सजाय पाएकाहरूलाई सजायमुक्त गर्ने मनसाय देखाएको पत्रपत्रिकामा पढ्न पाइन्छ तर प्रहरी विभागको यसमा आफ्नो प्रतिक्रिया देखिएको छैन । यदि वास्तविक अपराधीहरू समाजमा छुटे भने तिनले समाजलाई पु-याउन सक्ने असुरक्षामा प्रहरीले विश्लेषण गरेको देखिँदैन तर नियम संशोधन गरेर एक तह पदोन्नति पड्काउन वा अर्का प्रहरीलाई थेचार्न भने काफी सक्रियता देखिन्छ । यसको कारण के हो भने आमशान्तिसुरक्षाबारे सोच्ने प्रहरीभन्दा कुनै पनि हालतमा पदोन्नति पड्काउने आजको प्रमुख लक्ष्य देखिन्छ र समाजलाई शान्तिसुरक्षा दिनभन्दा पनि आफू कसरी पदमा टिक्ने र माथि जाने यसमै अधिकांश तलब खाएकाहरूको रुचि देखिन्छ । नेतालाई फाइदा दिलाएर आफूले फाइदा लिन सफल हुने नै आज राम्रा अफिसर कहलाउन सफल पनि भएका छन् ।
आईजी धु्रव प्रधान, अच्युतकृष्ण खरेलको पालादेखि प्रेसको प्रयोग गरी विपक्षीलाई क्षति पु-याउने अभ्यास सुरु भएको हो । जब प्रेसका मानिसले पुलिसको यो कमजोरी पत्ता लगाए त्यसपछि तिनले पनि पुलिसको मज्जैले शोषण गरे । कतिले त यही कमजोरीको फाइदा उठाउँदै पुलिसबाटै धनी पनि बन्न सफल भए । यो प्रेसको दुरुपयोग गर्न प्रहरी आफैँले सिकाएको थियो र जबजब पदोन्नति वा सरुवाको समय आउँछ नजिकका प्रेसहरू प्रयोग र दुरुपयोग हुने प्रक्रिया बढ्छ । अनि आमजनतालाई यही प्रक्रियाद्वारा एक प्रहरीले आफू असल भएको र अरू प्रतिद्वन्द्वी गलत भएको प्रमाण दिन खोजिरहेको देखिन्छ । प्रहरी सङ्गठनलाई जनताको नजरमा गिराउन यसप्रकारको दुस्प्रयासले ठूलो भूमिका खेलेको छ ।
अतः म अनुभवका आधारमा प्रहरी सङ्गठनलाई के सल्लाह प्रदान गर्न चाहन्छु भने पहिला तपाईं सङ्गठनमा कसलाई राम्रो र कसलाई नराम्रो भन्ने आधार स्पष्ट रूपमा वनाउनुहोस् । पूर्वजहरूले यसको आधार राम्ररी बनाइदिएका थिए कि सिनियरिटी, विकट स्थानमा बसेका, विकट परिस्थितिमा काम गरेका, राम्रा काम गरी तक्मा पाएका, व्यावसायिक तालिम गरेका, माथिल्ला अधिकृतहरूबाट कार्यदक्षता मूल्याङ्कनमा उत्कृष्ट ठहरिएका अनुशासित र इमान्दारहरू नै वेष्ट प्रहरी कर्मचारी हुन ।
तर विगत केही वर्षदेखि प्रहरी कर्मचारीहरूले आफ्ना स्वार्थका लागि राजनीतिज्ञको प्रयोग, पैसाको प्रयोग र नातागोता, जातधर्मको प्रयोग गर्दै आफूलाई उत्कृष्ट सावित गर्न आफुखुसी प्रयास गरिरहेका छन् । एआईजीको भ्रमणमा अनुपस्थित भई डीआईजीहरू मुख्यसचिवलाई आफ्नो कार्यालयमा भ्रमपूर्ण भ्रमण गराउन जुन प्रकारले प्रयास गर्छन् त्यसबाट प्रहरीको लोवालिटी कहाँ छ र चतुर तथा षड्यन्त्रकारी प्रहरीहरूले प्रशासकहरूलाई समेत बेवकुफ पारी कसरी आफू उत्कृष्ट भनाउन प्रयास गरिरहेका छन् जो–कोहीले बुझ्न सक्छन् ।
प्रहरीमा केही राम्रा काम गर्ने अधिकृत छन् । सिनियरको कमाण्ड मान्ने, जनतामा अभिनन्दित हुने, सेवा दिने प्रक्रियामा सुधार गर्न प्रयास गर्ने अधिकृतहरू अहिले पनि छन् र तिनकै भरमा प्रहरी चलेको छ । नेपालगञ्जमा विक्रम थापामाथि जनताको सम्मान देखँे । बागमतीका एसएसपी पशुपति उपाध्याय जिल्ला जिल्लामा पुगी जनतालाई सुरक्षित गर्न पैदल हिँडेको दृश्य पनि देखँे । मलाई यस्ता कामले मन छोयो । कसैलाई पैसाले छोला । कसैलाई राजनीति वा जातियताले मन छोला । चोरी भएको घरका लागि चोर पत्ता लगाइदिने प्रहरी मन पर्ला । तस्करबाट पैसा खानेहरूका लागि तस्करलाई संरक्षण गर्ने प्रहरी मनपर्ला ? मनपर्ने कारण स्वार्थअनुसार धेरै हुन सक्ला तर प्रहरीले बुझ्नुपर्छ सिनियरटी, तालिम, इमान्दारिता, वफादारिता यी राम्रा प्रहरीका धरोहर हुन् । नागरिकलाई सुरक्षित राख्न सक्ने खुवी नै राम्रो वा नराम्रो प्रहरी बनाउने आधार हुनुपर्छ । यस्ता आधार पहिलेको पुस्ताले राम्ररी बनाइदिएका छन् केवल त्यसलाई पालना गर्नुपर्छ । केही चतुर प्रहरीले आफ्ना व्यक्तिगत स्वार्थपूर्तिका लागि नियम संशोधन गर्ने, प्रशासन तथा नेतालाई दुरुपयोग गर्ने र यही स्वार्थसिद्धिका लागि प्रेसलाई साथ लिई प्रोपोगाण्डा गर्दै यदि आफूलाई कागजबाट उत्कृष्ट बनाउन खोजिरहेका छन् भने प्रहरी विभागले यही कारणले ठूलो क्षति व्यहोर्नेछ । प्रहरी नियमहरू चुरे शृङ्खलाझैं अडेको हुन्छ र त्यसलाई बेला न कुबेला कोट्याउन थाले पहिरो जान्छ र कस–कसलाई पुर्छ ठेगान हुँदैन । आफूलाई उत्कृष्ट बनाउन प्रहरीहरूले नियम संशोधनतिर जोड दिनुभन्दा जनताको सुरक्षातिर जोड दिनुपर्छ । त्यही प्रहरी बेस्ट हो जो चेन अफ कमान्ड मान्छ र जनताबाट अभिनन्दित हुन्छ ।