एसिड प्रहार गर्ने प्रहरी निलम्बित

एसिड प्रहार गर्ने प्रहरी निलम्बित


गृहमन्त्री रामबहादुर थापाले ट्राफिक प्रहरीको एसिड प्रहारबाट घाइते भएकी महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । भरतपुर ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक रामचन्द्र खनियाँले सोमबार भरतपुरस्थित त्रिचोक नजिकै एसिड प्रहार गरी सोही ठाउँमा डेरा गरी बस्दै आएकी कल्पना श्रेष्ठलाई घाइते बनाएका थिए ।

गृहमन्त्री थापासँग पीडित श्रेष्ठले विगतदेखि नै एसिड हान्ने प्रयास गरेको भन्दै कडा कारबाहीको माग गरेकी छिन् । महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै गृहमन्त्री थापाले दोषीलाई कडा कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिए । ‘यो दुःखद घटना घटेको हो,’ उनले भने, ‘यस घटनाले मन्त्रालयलाई नै स्तब्ध बनाएको छ ।’

गृहमन्त्री थापाले राष्ट्र सेवकबाटै महिलाहरु असुरक्षित हुनु दुःखद भएको भन्दै प्रहरीको आचरण सुधारका लागि सरकारले ठोस कदम चाल्ने बताए ।

एसिड आक्रमण गर्ने खनियाँलाई निलम्बन गरी कारबाही थालिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिएका छन् । खनियाँलाई निलम्बन गरी ६ दिनको म्याद थपेर मुद्दा अगाडि बढाइएको उनले जनाए ।

तस्बिर रासस