मोबाइल प्रविधिको संसार कति तीव्र गतिमा बदलिइरहेको छ भन्ने कुराको एक ताजा उदाहरणका रूपमा हालै आविष्कार भएको एक नयाँ घडीलाई लिन सकिन्छ । घडीको काम समय जनाउने हुनाले त्यो काम त स्वाभाविक रूपमा यसले गर्ने नै भयो, सम्बन्धित वैज्ञानिकहरूका अनुसार मोबाइल घडीको संज्ञा दिन पनि सकिने उक्त घडीलाई बहुप्रयोजनको साधनका रूपमा अपनाउन सकिन्छ ।
वास्तवमा तपाईं यस घडीसँग आफ्नो वरपर कुनै रेस्टुराँ छ कि छैन भनी सोध्न सक्नुहुन्छ, यदि छ भने घडीले नै रेस्टुराँको ठेगाना र नालीबेली बताइदिन सक्छ । यस्तो स्मार्ट र चमत्कारी घडीको नाम मार्सल वाच हो । यस घडीमा एउटा एलसीडी डिसप्ले पनि छ जहाँ तपाईं आफ्नो फेसबुक स्ट्याटस अपडेट गर्न सक्नुहुन्छ । यस्तैगरी, यसमा तपाईं एसएमएस पढ्न मात्र होइन सुन्न पनि सक्नुहुन्छ कि कसले तपाईंलाई सन्देश पठाएको हो ? यति मात्र कहाँ हो र ? कसैले पत्तो नै पाउँदैन कि नाडीमा बाँधेको तपाईंको यस घडीले खुसुक्क तस्बिरसमेत खिच्न भ्याउँछ ।
यति भनिसकेपछि अब तपाईंलाई पक्कै जिज्ञासा लाग्यो होला आखिर यस घडीले मोबाइलले झैँ कसरी काम गर्छ त ? वास्तवमा यो घडी तपाईंको साथमा रहेको मोबाइल फोनसँग ब्लुटुथको माध्यमबाट जोडिन्छ । तपाईं यस घडीबाट कुरा गरिरहनुभएको अवस्थामा भए पनि यथार्थमा फोनमार्फत नै कुरा गरिरहनुभएको हुन्छ । यस घडीमा माइक्रोफोन फिट गरिएको हुन्छ जसमार्फत तपाईंको आवाज मोबाइलसँग जोडिन्छ र कुराकानी हुनसक्छ । यस घडीले एन्ड्रोइड तथा आईओएस दुवै किसिमका मोबाइलमा काम गर्ने पनि जनाइएको छ ।
जुन मोबाइलको ब्याट्रीले १५ वर्षसम्म काम गर्छ
हामीमध्ये धेरैले व्यहोरिरहेकै कुरा हो कि कहिलेकाहीँ अत्यन्त जरुरत परेको बेला अचानक मोबाइलको ब्याट्री सकिएर तनाव पैदा गरिदिन्छ । त्यस्तो बेला मोबाइलको ब्याट्री कहिल्यै नसिद्धिने भइदिए कस्तो आनन्द हुन्थ्यो भन्ने लाग्नु अस्वाभाविक होइन ।
यस्तै समस्याप्रति ध्यान दिँदै एक कम्पनीले बेसिक मोबाइल फोनमा डबल ‘ए’ ब्याट्री लगाएर सामान्य तरिकाबाट प्रयोग गर्दा उक्त ब्याट्री १५ वर्षसम्म चल्ने प्रविधि विकास गरेको दाबी गरेको छ ।
फोनको पछिल्तिर राखिएको ब्याट्रीलाई तपाईं त्यसको स्क्रिनमा समेत महसुस गर्न सक्नुहुन्छ । यस्तो ब्याट्रीवाला मोबाइल फोनले जीएसएम नेटवर्कमा काम गर्ने कम्पनीले जनाएको छ । यति मात्र नभई यस फोनबाट बिनासिम इमर्जेन्सी कल पनि गर्न सकिने कम्पनीको दाबी छ ।
हालै अमेरिकाको लसभेगासमा प्रदर्शन गरिएको यस मोबाइललाई तपाईं महिनौँ एक ठाउँमा त्यत्तिकै छोडिदिनुस् र आवश्यक परेको बेला फोन गर्नुस्, यसले तपाईंलाई कुनै हालतमा धोका दिने छैन, लगातार दश घन्टासम्म तपाईं कुरा गर्नुस् तर यो तात्ने छैन, कुनै गडबडी उत्पन्न हुने छैन– कम्पनीको दाबी यस्तै छ ।
तर, सर्वगुणसम्पन्न त केही पनि हुन सक्दैन भनेझैँ यस मोबाइलमा जम्मा दशवटा मात्र फोन नम्बर सेभ गर्न सकिन्छ । यसमा भएका दशवटा बटनमध्ये प्रत्येक एकमा एउटा नम्बर सेभ गर्न सकिने कम्पनीले जनाएको छ ।
समयभन्दा पहिले जन्मने बच्चाको मृत्युदर अधिक
विश्वभर अपरिपक्व अर्थात् प्रिमेच्योर बच्चाको सङ्ख्या लगातार बढिरहेको छ । विकसित देशहरूमा प्रत्येक वर्ष करिब एक करोड ५० लाख बच्चाको जन्म समयभन्दा अगाडि नै हुन्छ या गराइन्छ । तथ्याङ्कअनुसार प्रत्येक वर्ष अपरिपक्व या जन्मनुपर्ने समयभन्दा अगाडि नै जन्मने करिब ११ लाख बच्चाको मृत्यु हुने गरेको छ । पाँच वर्षभित्र जति पनि बालबालिकाको मृत्यु हुन्छ त्यसको प्रमुख दोस्रो कारण भनेकै नौ महिना नपुग्दै जन्म भएकोले हो भन्ने अनुसन्धानकर्ताहरूको दाबी छ ।
चिकित्साविज्ञहरूका अनुसार यदि अपरिपक्व बच्चाको जन्मदरलाई समयमै रोक्न सकिएन भने कम उमेरमा बच्चा मर्ने समस्यालाई नियन्त्रण गर्न सकिने छैन । यो निकै चिन्ताको विषय हो । विशेषज्ञको भनाइअनुसार मानव बच्चाको जन्मने परिपक्व अवधि भनेको ३७ हप्ता हुन्छ, यसभन्दा अगावै जन्मनेको मृत्यु–सम्भावना अधिक हुने गर्दछ । ३९ वटा विकसित देशमा गरिएको शोधपछि विशेषज्ञहरूले पाए कि ती देशहरूमा ‘आईबीएफ’ अर्थात् इन–बिट्रो फर्टिलाइजेसनको माध्यमबाट जुन बच्चा पैदा गरिन्छ त्यसको कारण नवजात शिशुको मृत्यु चाँडै हुने गरेको छ । त्यसैले डाक्टरहरूले आईबीएफका माध्यमबाट एउटा मात्र सन्तान जन्माउन सुझाव दिने गर्दछन् । विशेषज्ञहरूको भनाइ मान्ने हो भने अपरेसन गरेर बच्चा जन्माउने कामलाई रोक्न सकेमा वर्षमा कम्तीमा पनि ५८ हजार बच्चालाई समयपूर्व नै जन्मनुबाट रोक्न सकिन्छ ।
होसियार, यौन सम्बन्ध राख्दा हुनसक्छ हर्टएट्याक
यौन सम्बन्धलाई आनन्दको एक उत्तम माध्यमका रूपमा लिइन्छ, तर यौन सम्बन्धसँग अनिच्छित गर्भधारणजस्ता खतरा जोडिएर धेरैलाई समस्यामा पार्ने गरेको छ । यसबाहेक यौन सम्बन्धसँग अर्को खतरासमेत जोडिएर रहेको कुरा शोधकर्ताहरूले हालै प्रकाशमा ल्याएका छन् । त्यो खतरा हो– हर्टएट्याकको ।
अनुसन्धानकर्ताहरूका अनुसार शारीरिक सम्बन्ध राखिरहेको अवस्थामा हर्टएट्याक हुने सम्भावना अत्यन्त बढिरहेको हुन्छ । उनीहरूले हर्टएट्याक हुने ४५ जनामध्ये कम्तीमा एकजनाचाहिँ यौन सम्बन्धकै कारण उक्त अवस्थामा पुगेको हुने दाबी गरेका छन् । भनिन्छ, नेल्सन राकफेलर, एरोल फ्लिन, फ्रान्सका राष्ट्रपति फेलिक्स र कमसेकम दुईजना पोपको मृत्यु शारीरिक सम्बन्ध राखिरहेकै बेला हर्टएट्याक भएर भएको थियो ।
प्रतिक्रिया