विनिताको ‘जुठोपुरो’ जियाको भागमा

विनिताको ‘जुठोपुरो’ जियाको भागमा


funtimeपारिश्रमिकको त कुरै छाडौँ, सिनेमाको पर्दामा अनुहार देखाउन पाइयो भने मात्र पनि त्यसका लागि जे गर्न पनि तयार हुने नवआगन्तुकहरूको ठूलै भीड छ यहाँ । ‘पहिले अवसर त दिनोस् न’ भनेर अवसरको खोजीमा भौँतारिरहेका नवप्रवेशी युवतीको सोचले बाहुल्य पाइरहेको सिनेमाको भीडमा चलचित्र ‘चपली हाइट’बाट नायिककाको रूपमा रामै्र हाइट बनाएकी नायिका विनिता बरालले आफूलाई रामै्र पारिश्रमिकबाट अफर आउँदा पनि त्यो अफरलाई लत्याइन् । उनको यो इन्कारबाट के प्रस्ट भएको छ भने सिनेमा खेल्ने लोभ र लालच अनि अवसर पाइयो भन्दैमा जस्तो पायो त्यस्तो सिनेमामा विनिता उभिन तयार छैनन् ।
प्रसङ्ग चलचित्र ‘बर्बाद’को हो । यो चलचित्रमा श्रीमान्ले समय नदिँदा घरकी श्रीमती कसरी बिग्रिन्छे वा श्रीमतीकै कारण एउटा सुखमय परिवार कसरी बर्बाद हुन्छ भन्ने विषयलाई उठान गरिएको चलचित्र बर्बादमा केही बेडसिनहरू पनि राखिएका थिए । यही बेडसिन दिनका लागि विनिता बराल तयार भइन् भने उनले मागेजति पारिश्रमिक दिने सोचका साथ विनितासमक्ष पुगेका चलचित्र बर्बादका युनिट त्यतिबेला तीनछक परे जतिबेला विनिताले आफू पारिश्रमिक पाइने लोभमा ननाङ्गिने स्पष्ट पारिन् । उनले भनिन्, ‘म पैसाका लागि होइन कि नाम र इज्जतका साथ सिनेमा क्षेत्रमा आएकी हुँ । पैसा पायो भन्दैमा जस्तो पनि सिन दिन र जे पनि गर्ने युवती नठान्नुस् मलाई । रोल र कथा चित्त बुझ्यो भने म बिनापारिश्रमिक पनि काम गर्न सक्छु ।’ विनिताको यस्तो आत्मविश्वासी धारणा सुनेपछि उनीप्रति गलत सोच बनाएर गएको चलचित्र बर्बादको युनिट लुरुक्क फर्किएर आएको थियो । पछि उनीहरूले विनिताको तारिफ पनि गरे । बुझ्नमा आएअनुसार यदि विनिताले त्यो भूमिका खेलेकी भए उनलाई निर्माण समूह तीन लाख रुपैयाँ पारिश्रमिक दिन तयार भएको थियो । यतिबेला यो पारिश्रमिक नेपाली सिनेमाका नायिकाहरूमध्ये सर्वाधिक पारिश्रमिक पाउने नायिकामा पर्थिन् विनिता । तर, उनले पारिश्रमिकभन्दा नाम र क्यारियरलाई ठूलो ठानिन् । क्या बात्, विनिता ।
एकातिर विनिताको यस्तो सोच छ भने अर्कोतिर विनिताले नै छाडेको र लत्याएको भूमिका जानुकाबाट जानकी हुँदै जिया बनेकी जिया केसीले खेलिन् र उनलाई न त क्यारियरको मतलब न त पारिश्रमिकको नै, थोरै पैसामा जस्तो रोल हात परे पनि खेल्न तयार भएकी जियाले यो सिनेमामा ‘जिब्रो’ टोक्नुपर्ने अवस्थाको दृश्य दिएको चर्चाले पनि चलचित्र बजार गरम भइरहेको छ ।
नाम होस् बद्नाम होस् तर गुमनाम नहोस् भन्ने सोचकी झापाकी जियाको फिल्मी क्यारियर पनि यस्तै अश्लील र भल्गर चलचित्रहरूमा मात्र सीमित रहने भएको छ । चलचित्र एटीएमबाट निकै बद्नाम भएकी जिया अहिले पनि कुनै सार्वजनिक कार्यक्रमतिर हिँड्न सक्दिनन् ।

यस्तो छ अपेक्षाको अपेक्षा
यतिबेला नेपाली मोडलिङ क्षेत्र निकै फस्टाइरहेको छ । यो विधामा लागेर क्यारियर बनाउँदै अगाडि बढ्ने सोच र उद्देश्यका साथ अगाडि बढ्ने क्रममा लागेका युवतीको भीडमा आकर्षक र केही गरौँ भन्ने सोचका साथ आइपुगेकी एउटी युवती हुन् अपेक्षा सिलवाल ।
अपेक्षालाई यो मामिलामा भाग्यमानी पनि मँन्नुपर्छ कि उनले एकसाथ आधा दर्जन म्युजिक भिडियोमा आफूलाई प्रस्तुत गर्ने अवसर पाएकी छिन् । अञ्जु पन्त, उदीतनारायण झा र सुनिल बुर्लाकोटीजस्ता दिग्गज गायक–गायिकाहरूको गीतमा मोडलिङ गर्ने अवसर पाएकी अपेक्षाले म्युजिक भिडियोको सुटिङकै क्रममा काठमाडौंको सोल्टी होटलमा भनिन्, ‘अब मोडलिङ क्षेत्रलाई अगाडि बढाउने योजनाका साथ अगाडि बढेकी छु । हेरौँ योजना कतिसम्म सफल हुन्छ’, उनले फेरि थपिन्, ‘सकारात्मक सोचले अगाडि बढेकी छु । सकारात्मक सोचको परिणाम पनि सकारात्मक नै हुन्छ भन्ने ठानेकी छु ।’
धादिङको सलङ गाविसमा जन्मिएकी अपेक्षा ब्याचलर दोस्रो वर्षमा अध्ययनरत छिन् । पढाइ, मोडलिङ र काम तीनै पक्षलाई समानान्तर रूपमा अगाडि बढाइरहेकी छिन् उनले । नेपाली सिनेमामा राम्रा नायक मानिने आर्यन सिग्देलसँग पनि उनले सुरुमा नै जोडी बन्ने अवसर पाइन् गीतमा । कस्तो रह्यो त आर्यनसँगको काम ? जवाफमा अपेक्षाले यसो भनिन्, ‘नेपालको त्यस्तो चर्चित नायकसँग काम गर्न पाइएलाजस्तो लागेको थिएन तर पाइयो । सुरुमा त केही नर्भस भइयो तर पछि उहाँले पनि सिकाउनुभयो । यो भिडियो त मेरो जीवनकै अविष्मणीय भिडियो हो,’ यो जवाफ दिँदा निकै उत्साहित देखिन्थिन् अपेक्षा ।
यो साता अपेक्षाले अर्को एउटा अवसर पनि हात पार्ने भएकी छिन् । त्यो हो नेपाली म्युजिक भिडियोका नम्बर वन निर्देशक भूषण दाहालको भिडियोमा खेल्ने अवसर । म्युजिक भिडियो निर्देशनमा कहलिएका दाहालको भिडियोमा खेल्न पाउनुलाई अपेक्षाले निकै ठूलो गर्वको महसुस गरेकी छिन् । ‘एउटा सपना थियो, त्यो सपना पूरा भएको छ,’ उनले भनिन् ।
म्युजिक भिडियोको मोडलिङसँगै अब अपेक्षा विस्तारै सिनेमाको पर्दामा पनि देखिने सोचमा छिन् । राम्रो ब्यानर र कथाबाट अफर आएमा सिनेमा खेल्ने योजना बनाएकी अपेक्षाले घटना र विचारसँग भनिन्, ‘तर, जस्तो पायो त्यस्तो होइन कि आफ्नो क्यारिएर माथि उठ्ने सिनेमामा मात्र खेल्छु । रहरको लागि होइन कि सिनेमा क्षेत्रमा जम्ने उद्देश्यले नै खेल्छु ।’

धम्की झेल्दै मैना अब हलमा
मुलुकमा मानवअधिकार हनन र दण्डहीनताले प्रश्रय पाइरहेको अवस्थामा यसको विरुद्ध जनमत एक पार्ने उद्देश्यका साथ निर्माण गरिएको चलचित्र ‘मैना’ अब सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।
तत्कालीन शाही नेपाली सेनाद्वारा हत्या गरिएकी निर्दोष बालिका मैना सुनुवारको जीवनमाथि आधारित चलचित्र ‘मैना’ले मुलुकबाहिर त ‘वाहवाही’ कमाइसकेको छ । ‘जसजसले हेर्नुभयो सबैले तारिफ गर्नुभएको छ । अब भने सार्वजनिक प्रदर्शनबाट आउने प्रतिक्रियाको प्रतीक्षामा छु,’ निर्माता तथा निर्देशक केपी पाठकले भने ।
विभिन्न अवार्डहरू जित्न सफल अनि युरोप–अस्टे«लियामा पुगिसकेको मैना सार्वजनिक प्रदर्शनमा भने फागुन ४ गतेदेखि आउने भएको छ ।
‘यो एउटा इतिहासको पाटो हो र जो पनि यो इतिहाससँग परिचित छ । त्यही इतिहासलाई मैले सिनेमाको रूप दिएको हुँ,’ पाठकले बताए । चलचित्र मैना आमनेपालीको कथा भएको दाबी गर्ने निर्देशक पाठकले अब यो चलचित्रलाई जनजनमा पु¥याउनुपर्ने कुरातर्फ जोड दिएका छन् । विभिन्न च्यारिटी शोमार्फत दर्शक माझ पुगेको मैना हेर्न दर्शकहरूको चाहना गरम भएकै कारण यो चलचित्रलाई फागुन ४ गतेदेखि सिनेमा हलहरूमा ल्याउन खोजेको कुरा निर्देशक केपी पाठकले बताए ।
चलचित्र विकास बोर्डले पनि विशेष चलचित्रको कोटिमा राखेको मैना बनाउँदा आफूलाई धेरै धम्की आएको कुरा निर्देशक पाठक बताउँछन् । ‘त्यसको बाबजुद पनि एउटा अविष्मणीय सिर्जना गर्न पाएको छु । मलाई गौरव लागेको छ,’ उनले भने ।