अमेरिकाकै संसदमा ट्रम्प र अमेरिकाको आलोचना !

अमेरिकाकै संसदमा ट्रम्प र अमेरिकाको आलोचना !


राष्ट्रवाद र अलगाववादको नीति विश्वकै समृद्धिका लागि खतराजनक रहेको भन्दै फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोले उग्रराष्ट्रवादको विरोध गरेका छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो नीतिलाई लक्षित गर्दै ‘उन्मादले क्षति मात्र पुग्ने’ बताएका छन् । म्याक्रोले संयुक्त अधिराज्य अमेरिकाको संसदमा सम्बोधन गर्ने क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पसँग विमती प्रकट गरेका हुन्।

अमेरिका र फ्रान्स निकट मित्र मानिन्छन् तर, म्याक्रोको भाषणबाट अन्तर्रा्ष्ट्रिय व्यापार र इरानदेखि पर्यावरणका मुद्दामा उनी अमेरिकी राष्ट्रपति ट्रम्पसँग सहमत नभएको थाहा हुन्छ । अमेरिकाको तीनदिने भ्रमणमा रहेका म्याक्रोले अमेरिकी संसदको संयुक्त सत्रलाई सम्बोधन गर्दै सो धारणा राखेका हुन् ।

म्याक्रोको सम्बोधनले अमेरिकी नीति र उसका एजेन्डामा हल्का धक्का पुगेको बताइन्छ । सम्बोधनको क्रममा उनले भनेका थिए, ‘कसैलाई अलग–थलग बनाउनु या राष्ट्रवाद हाम्रो डरलाई हटाउनका अस्थायी विकल्प मात्रै हो ।’ उनले विश्वका लागि आफ्नो ढोका बन्द गर्दैमा विश्वलाई अगाडि बढ्नबाट रोक्न नसकिने भन्दै ट्रम्पप्रति कटाक्ष गरेका थिए । उनले भनेका छन्, ‘हामी उग्र राष्ट्रवादको उन्मादबाट विश्वको आशामा क्षति पुग्न दिँदैनौं ।’
फ्रान्स र इरानबीचको परमाणु सम्झौता नतोड्ने

संसदलाई सम्बोधन गर्नुअघि म्याक्रोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका थिए । उनलाई सांसदहरुले तीन मिनेटसम्म उभिएर ताली बजाउँदै संसदमा स्वागत गरेको बताइन्छ । ५० मिनेट लामो भाषणका क्रममा म्याक्रोले सुरुमा अमेरिका र फ्रान्सको अटुट सम्बन्धको विषयमा बोलेका थिए भने त्यसपछि अमेरिकाले पर्यावरण सम्बन्धमा पेरिस सम्झौता पालना गर्ने विश्वास व्यक्त गरे ।

उनले फ्रान्स र इरानबीच सन् २०१५ मा भएको परमाणु सम्झौता नतोड्ने घोषणा समेत गरेका छन् ।जबकि ट्रम्पले पेरिस सम्झौताबाट अमेरिकालाई अलग गराइसकेका छन् भने इरानसँगको परमाणु सम्झौता तोड्ने धम्की समेत दिँदै आएका छन् ।

‘राष्ट्रवादको भ्रमप्रति आकर्षण छैन’

‘हामी पृथ्वीलाई बर्बाद बनाइरहेका छौं र आफ्ना सन्ततीको भविष्यलाई दाउमा लगाइरहेका छौं,’ म्याक्रोले भनेका छन्, ‘अन्त कतै अर्को पृथ्वी छैन । भविष्यमा हामी सबैलाई एउटै सत्यको सामना गर्नुपर्नेछ किनकि हामी सबै यसै पृथ्वीमा रहन्छौं ।’ उनले ट्रम्पको नीतिप्रति इंगित गर्दै भनेका छन्, ‘व्यापार युद्ध कुनै समाधान होइन, यसले केबल जागिर गुम्छ र महंगी बढ्छ । हामीले विश्व व्यापार संगठनमार्फत् समाधान खोज्नुपर्छ ।’ जबकि ट्रम्पले भनेका थिए– व्यापार युद्ध राम्रो हो र सजिलै जित्न सकिन्छ ।

आफैले बनाएको नियम आफैले पालना गर्नुपर्ने उनको भनाइ थियो । अमेरिका दोस्रो देशको गलत व्यापारिक नीतिको शिकार भइरहेको भन्दै ट्रम्पले हालै युरोप र चीनका उत्पादनको आयातमा नयाँ कर लगाएका छन् । म्याक्रोले अमेरिकी नीतिप्रति कटाक्ष गर्दै अगाडि भनेका छन्, ‘व्यक्तिगत रुपमा मलाई शक्तिशाली बन्ने, स्वतन्त्रता आन्दोलन गर्ने या राष्ट्रवादको भ्रमप्रति कुनै आकर्षण छैन ।’

सांसदले फर्काए आलोचना

डेमोक्रेटिक पार्टीका वरिष्ठ सांसद एडम स्कीफले म्याक्रोको भाषणको आलोचना उनैतर्फ फर्काउँदै भनेका छन्– म्याक्रोले अमेरिकी राष्ट्रपति ट्रम्पको सीधा–सीधा विरोध गरेका छन् ।

यस्तै रिपब्लिकन पार्टीका जेफ फ्लेकले भनेका छन् म्याक्रोको भाषण ट्रम्पवादभन्दा बिलकुल उल्टो छ । तर सोही पार्टीका अर्का नेता केविन मेक्कार्थीले भने ट्रम्प र म्याक्रोमा कुनै मतभेद नरहेको दाबी गरे । उनको भनाइ थियो– म्याक्रोले भने कि उनी स्वतन्त्र र सही व्यापार चाहन्छन्, जुन ट्रम्प पनि चाहन्छन् ।

को हुन् म्याक्रो ?

पेरिसस्थित एक बीबीसी संवाददाताका अनुसार, उनी तीन वर्ष अघिसम्म पनि धरैजसो फ्रान्सेली जनतामा चिनिएका थिएनन् । उत्तरी शहर एमिएँमा जन्मिएका माक्रोंले पेरिसको प्रतिष्ठित हेनरी चौथौ विद्यालयमा पढेका थिए। पछि उनले प्यारिसकै नामी विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरे। उनका बाबुआमा दुबै चिकित्सक हुन्।

नयाँ राजनीतिक दल खोलेको एक वर्षमै फ्रान्सको राष्ट्रपति पदमा विजयी बनेर एमानुएल माक्रोंले नयाँ इतिहास रचेका ३९ वर्षीय माक्रोंलाई पुरानो राजनीतिक वृत्तभन्दा बाहिरका उम्मेदवारको रुपमा हेरिएको थियो। दक्षिणपन्थी उम्मेदवार मारिन ल पेनलाई हराएर माक्रों आधुनिक फ्रान्सको सबैभन्दा कम उमेरको राष्ट्रपति बनेका छन्।

युरोपेली संघका समर्थक मध्यपन्थी राजनीतिज्ञ माक्रोंले आफ्नो जीतबाट फ्रान्समा आशा र विश्वासको एउटा नयाँ अध्याय खुलेको बताए। (एजेन्सीको सहयोगमा)