यसपालिको बजेट पपुलिष्ट बन्न सक्दैन : अर्थमन्त्री

यसपालिको बजेट पपुलिष्ट बन्न सक्दैन : अर्थमन्त्री


– छविलाल बगाले

सरकार आगामी जेठ १५ गते बजेट ल्याउने तयारीमा जुटेको छ । यसपटकको बजेटलाई सबै क्षेत्रबाट गम्भीरताको साथ हेरिएको छ । कारण, पूर्वगर्भनर र योजना आयोगका उपाध्यक्ष समेत रहेका डा. युवराज खतिवडाले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

आर्थिक वर्ष ०७५÷७६ को बजेट घोषणाको मिति नजिकिँदै गर्दा बजेटमा कस्ता नीति तथा कार्यक्रम समावेश हुन्छन् भन्ने विषयले चर्चा पाउन थालेको छ । अर्थ क्षेत्रका जानकारहरूले मुलकले अनुभवी अर्थमन्त्री पाइरहेका बेला सोचेअनुरुपको बजेट आउने अपेक्ष समेत गरेका छन् । विहिबार काठमाडौंमा नेपाल व्यवस्थापन संघले आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा अबको बजेट सबै पक्षलाई समेटेर ल्याउनुपर्ने व्यवसायीहरूको सुझाव छ ।

देशलाई आवश्यक वस्तुको उत्पादनलाई सरकारले नै महंगो बनाइदिएको, विगतका बजेटमा इलम, उद्यमशिलताको अर्थनीति र लगानीमैत्री वातावरण निर्माणमा जोड नदिएको उनीहरूको आक्रोश छ ।

यतिबेला मुलुकलाई संघियता कार्यन्वयनमा चुनौती थपिएको छ । मुलुक संघियता कार्यन्वयनको चरणमा रहेकोले तीनै तहमा सम्बृद्धि ल्याउने गरी बजेटमा व्यवस्था हुनुपर्नेमा जोड दिइएको छ । बजेट निर्माण गर्दा राज्यको आर्थिक उद्देश्य र नीतिलाई ध्यान दिनुपर्नेमा विज्ञहरुको सुझाव छ ।

अर्थतन्त्र नकारात्मक दिशातर्फ ढल्किएका कारण सरकारले गम्भिरतापूर्वक बजेट निर्माण गर्ने भन्दै अर्थमन्त्री युवराज खतिवडाले यसपटकको बजेट सन्तुलन, यथार्थ र सबैलाई मान्य हुनेमा विश्वास ब्यक्त गरे । उनले बैदेशिक सहायता, ऋण र कर नलिने तर बजेटचाहिँ पपुलिष्ट बनाउने विषय असम्भव भएको टिप्पणी गरे ।

सबै क्षेत्र र वर्गलाई समेट्ने खालेको बजेट प्रस्तुत गरि मुलुकलाई समृद्धिको बाटोमा हिँडाउने सरकारको लक्ष्य रहेको अर्थमन्त्री खतिवडाको भनाई छ । उनले संघीयता महँगो हुने स्विकार गर्दै खर्चका हिसावले धान्न सकिने स्पष्ट पारे ।