गजबका प्रश्नहरू उठाएर गइन् एकदिने पाहुनाले

गजबका प्रश्नहरू उठाएर गइन् एकदिने पाहुनाले


basantaझमक्कै रात परिसकेको थियो । म बुढानीलकण्ठस्थित पार्क होटलको उत्तरी सीमामा रहेको गल्लीबाट पैदल आफ्नो निवासतर्फ जाँदै थिएँ । बाटामा एक थुप्रो कालो चलबलाइरहेको कुनै आकृति देखेँ । पहिले त कुकुर हो कि जस्तो लाग्यो तर नजिकबाट हेर्दा एक वृद्ध महिला जाडोले कठ्याङ्ग्रिएर एउटा सानो ओड्नेमा बेरिएर बसेकी रहिछन् । छेउमै एउटा पोकोजस्तो पनि थियो । त्यो अनकन्टार अँध्यारो गल्लीमा ती महिला यसरी बसेको देखेपछि मैले कारण सोधेँ । जाडोले कठ्याङ्ग्रिएको शरीर कपाउँदै उनले भनिन्, ‘मेरा छोराबुहारीले घरमा बस्न दिएनन् । गोकर्णको कुनै मन्दिरमा बसेकी थिएँ, त्यहाबाट कुनै लामा जातको मान्छेले काममा लगाइदिन्छु भनी यता ल्यायो र मलाई यो ठाउँमा छोडेर गयो । अहिले म कहाँ छु मलाई नै थाहा छैन, त्यसैले यहीँ रात काट्न अडेस लागेर बसेकी हुँ ।’
उनले जहाँ रात काट्न खोजेकी थिइन् त्यो ठाउँ सेपिलो र खोलाको धारको नजिक थियो । त्यो ठाउँमा दिउँसै पनि जाडो हुने गर्दछ, तर ती महिलालाई म कहाँ छु भन्ने नै अँध्यारोमा थाहा नभएका कारण त्यही सेपिलो बाटोको घाँसमा बसी एउटा पर्खालको भित्तालाई आड मान्दै उनले रात बिताउन यस्तो चिसो ठाउँमा जमर्को गरेकी रहिछिन् । यो कुरा लगभग निश्चित थियो कि त्यस दिनको उच्च ठण्डीका कारण त्यो रात नै उनको जीवनको अन्तिम रात पनि हुन सक्थ्यो ।
मैले अँध्यारोमा ती वृद्धाको अनुहार मोबाइलको मधुरो प्रकाशबाट हेरेँ । तामाङ जातकी जस्तो देखिने उनको नाकमा सानो बुलाकी थियो । लगभग पचहत्तर वर्ष उमेरकी ती वृद्ध महिलाले ठूलै पोको बोकेकी थिइन् । मैले पोकोमा के छ भनेर सोधेँ । उनले भनिन्, ‘यसमा मेरा थाङ्ना–थुङ्नी छन् ।’ छोराबुहारीले टिक्नै नदिएपछि उनी आफ्ना केही लुगाफाटा बोकी घर छोडी हिँडेकी रहिछिन् ।
मानवताको दृष्टिले मैले त्यस अवस्थामा उनलाई त्यो रात त्यहीँ छोडेर जान सकिनँ । मलाई लाग्यो– पहिला आजको रात यिनलाई जोगाऊँ, त्यसपछि भोलि बिहान केही गरौँला । नजिकै ड्रग्सको उपचार गर्ने नार्कोनन् नेपालको केन्द्र थियो । मैले ती वृद्धालाई मेरो पछिपछि आउन भने । उनी पछिपछि लागिन् । यद्यपि उनले त्यो अँध्यारोमा मलाई चिनेकी पनि थिइनन् । केवल मेरो आवाज मात्र सुनेकी थिइन् । मैले पनि उनलाई प्रस्ट देखेको थिइनँ । तर, हामी दुई अपरिचित भगवान्का कृपाले त्यस गल्लीमा भेटिएर एक–अर्काका भरोसामा अघिपछि हिँडिरहेका थियौँ । हुनत म पनि त्यो लामाजस्तै हुन सक्छु भन्ने उनलाई डर पनि थियो होला तर पनि विवशताले उनी मेरो पछिपछि भारी बोकेर आइन् । मनमनै सोचँे– मानिसले आफूले जन्म दिएका छोराछोरीले यातना दिएका कारण आफ्नै घरबाट निकालिएर रातमा चिन्दै नचिनेका अर्को अपरिचित मानिसको पछिपछि बास माग्न जान पनि विवश हुनुपर्ने दिन आउन सक्दोरहेछ ।
केही क्षणमै हामी नार्कोनन् नेपालको उपचार केन्द्रमा पुग्याँै । उनको भारीलाई बोकिदिन मैले कर्मचारीलाई भने । ड्रग्सको समस्यामा परेर उपचारमा आएका विद्यार्थीहरू पनि बेलुकीको खाना खान भान्सातिर लाग्दै थिए । मैले ती वृद्धाको विवशता सबैलाई सुनाएँ । सबै कर्मचारी तथा विद्यार्थी भावविह्वल भए । मैले ती वृद्धालाई पहिला खाना खुवाउन आदेश दिएँ । यद्यपि लाइनमा बसेर भान्सामा छिर्न व्याकुल भोकाएका विद्यार्थी त्यहाँ थिए, तर सबैले भने, ‘आमा तपार्इं भित्र जानुस् ।’ त्यस दिन बेलुकी सबैभन्दा पहिले मेसमा छिरेर उनले खाना पाइन् । खाना पस्कने नार्कोनन्का कर्मचारीहरूले भने, ‘राम्रोसँग खानुस् है आमा ।’ ती महिला वास्तवमै भोकाएकी रहिछिन् । उनले मज्जाले खाइन् । त्यस रात सम्पूर्ण कर्मचारी तथा विद्यार्थीका लागि उनी विशेष अतिथि बनिन् । रातमा उनलाई सुत्नका लागि डनलप र कम्बलहरूको व्यवस्था गरियो । ती महिला केहीबेरमै निदाइन् । आफ्नै छोराले आफ्नै घरमा छिर्न नदिए पनि त्यस रात नार्कोनन् परिवारले उनलाई राम्रो आतिथ्य दिएर आफ्नो घरमा राख्यो ।
बिहान मलाई नार्कोनन्का कर्मचारीहरूले सोधे, ‘सर अब यी बूढीआमालाई के गर्ने ?’ मैले पनि यो त सोचेकै थिइनँ । मैले त केवल रात सुरक्षित रूपमा कटाइदिनेसम्म मात्र सोचेको थिएँ । त्यसपछि मैले कर्मचारीलाई ती वृद्धाको बारेमा थप कुरा बुझ्न निर्देशन दिएँ । म पनि उनको जीवनकथा जान्न इच्छुक थिएँ । मैले निर्देशन दिएपछि नार्कोनन्का कर्मचारी तथा विद्यार्थीले बिहानको पहिलो घाममा राखी चिया दिएर ती वृद्धा आमाको बारेमा सोधी–खोजी गर्दा थाहा पाएछन् कि ती महिलाको घर दक्षिणकालीनजिक कतै गाउँमा रहेछ । जवान छँदा उनी धेरैवटा बाख्रा र गाई एक्लै पाल्न भ्याउँदिरहिछिन् । वृद्ध शरीरसँगै उनी असक्त हुँदै गइछिन् । छोराको विवाहपछि उनले सुख पाउने कल्पना गरेकी रहिछिन् तर भएछ उल्टो । बुहारी निक्कै दुष्ट स्वभावकी परिछिन् । त्यो घरमा बुहारीले कुट्दा पनि छोरा टुलुटुलु हेरिरहने भएछ । साधारण कुटपिट र यातना सहँदै उनी अझै त्यो छोरो भन्दै बसेकी रहिछिन् तर करिब दुई महिनाअघि त बुहारीले ती सासूलाई बाख्राको खोरमा दाम्लाले बाँधेर निक्कैबेर कुटिरहिछिन् । डाको छोडेर रुँदा पनि छोरो बचाउन आएनछ । थिलथिलो पारेर पिटेपछि उनका केही लुगाफाटो पोको पारी बुहारीले घरबाट निस्कन आदेश दिइछिन् र छोराले पनि उनी घरभित्र छिर्न नपाउन् भनी मूल ढोकामा नै ताल्चा लगाइदिएछन् । आफैंले दुःखले जोडेको घरभित्र आफ्नै कोखबाट जन्मेको छोराले छिर्न नदिएपछि उनी रुँदैरुँदै काठमाडौंतिर झरिछिन् । उनको गहनाका नाममा नौगेडी रहेछ त्यो लिन बुहारीले दिइनछिन् । निस्कने दिनमा बिहान खाना माग्दा यो माटो खा भनेर बुहारीले मुखमा माटो कोच्चाएकी पनि रहिछिन् । जतिबेला ती वृद्धा आमाले यी आफ्ना सत्यकथा सुनाउँदै रहिछिन् । त्यतिबेला वर्षौंसम्म ड्रग्समा परेर उपचारमा आएका विद्यार्थीहरूको पनि गह भरिएछ । ती वृद्धा घरबाट निस्केपछि रुँदैरुँदै काठमाडौं आई कैयौँ दिन हण्डर–ठक्कर खाएपछि गोकर्णको कुनै मन्दिरमा पुगिछिन् । त्यहाँ उनलाई देखेर काम गर्ने हो भन्दै जाडोमा बालुवा झिक्ने र ढुङ्गा बोक्ने काम कसैले दिएछ । उनी ढुङ्गा बोक्न थालिछिन् । पाटीमा बस्दै ढुङ्गा बोक्दा बेलुका उनको शरीर पीडाले दुख्दो रहेछ र त्यो विर्सन उनी रक्सी खाने पनि भइछिन् । महिनौँ काम गर्दा उनीसँग झन्डै दुई हजार रुपैयाँ भएछ । एक दिन एक सोनाम लामा नाम बताउने कुनै मानिस उनीकहाँ आएछ र बूढीआमा दुःख गर्नुपर्दैन म सजिलो काम दिन्छु आउनुहोस् भनी माइक्रो चढाइ बुढानीलकण्ठको पार्क भिलेज रिसोर्ट छेउछाउ अँध्यारोमा छाडेर गएछ । बूढीले थैली छाम्दा बचाएको करिब दुई हजार रुपैयाँ पनि त्यसैले कुन सड्कामा चम्पट पारिसकेछ । माघको जाडोको बेलुकी करिब सात बजे उनी यताउता भौँतारिन थालिछिन् र अँध्यारोमा म कहाँ छु भन्ने थाहा नपाई त्यही ओसिलो गल्लीमा थचक्क बसेर सानो पातलो ओड्नेभित्र कुप्रिएर एक डल्लो परी रात बिताउन प्रयास गरिरहेकी रहिछिन्, जहाँ मेरो उनीसँग भेट भएछ ।
आफ्ना कर्मचारीबाट सबै कुरा सुनेपछि मैले ती वृद्धालाई कुनै वृद्धाश्रममा पठाइदिने जमर्को गरेँ । तर, त्योभन्दा पहिले म उनको सुरक्षाका लागि प्रहरी कार्यालयमा खबर गर्न चाहन्थेँ । त्यसैले वृद्धालाई बुढानीलकण्ठ प्रहरी कार्यालयमा पठाइदिएँ जहाँ प्रहरीले पनि मानवीय व्यवहार गरेको मैले खबर पाएँ । वृद्धालाई बिदा गर्ने बेलामा नार्कोनन्का कर्मचारीले पचास–पचास रुपैयाँ उठाई उनको हातमा पाँच सय रुपैयाँ थमाइदिएछन् । जाने बेलामा उनले सबैलाई आशीर्वाद दिइछिन् । आशीर्वाद पाएर ड्रग्सको समस्यामा परी आएका विद्यार्थीहरू पनि दङ्ग परेछन् ।
यो त नेपालको एक वृद्धाको जीवनको केही पल हामीले बुझ्ने मौका पायौँ । तर, आज यो मुलुकमा कति वृद्ध आमाबाबु त्यस्ता होलान् जसका छोराबुहारीले तिनीहरूमाथि पनि यस्तैगरी घोर अन्याय गरिरहेका होलान् । ती छोरा जसले बाख्राको खोरमा बाँधेर कुटेर यी वृद्धा महिलालाई घर छोड्न विवश बनाए आखिर तिनलाई जन्म दिँदा यी वृद्धाले के यसै बच्चाले एक दिन मलाई आफ्नै घरबाट निकाल्नेछ भन्ने कल्पना गरेकी थिइन् होला त ? ती बुहारी जसले खाना माग्दा मुखमा माटो हालिदिइन् तिनलाई बाजा बजाई भित्याउँदा के उनले तिनै बुहारीबाट एक दिन माटो खानुपर्ला भनेर सोचेकी थिइन् होला त ? त्यसैले यो घटनाले मलाई यो पनि सोच्न बाध्य बनाइरहेको छ कि यो मुलुकमा वृद्धवृद्धा हुनु नै कतै पाप त होइन ? विकसित मुलुकमा छोराछोरीले त्यागे पनि सरकारको घर छ तर यहाँ सरकारी घर केवल मन्त्री र प्रधानमन्त्री, राष्ट्रपति तथा हाकिमहरूलाई मात्र छ । जब आफ्नै छोराबुहारीले घरबाट कुनै आमाबाबुलाई अन्यायपूर्वक बाहिर निकाल्छन् त्यतिबेला यस्ता वृद्ध आमाबाबु जाने कहाँ ? कि त सरकारले तिनलाई बाँच्ने आधार दिनुप¥यो कि त मर्ने विष ।
ती वृद्धा महिला जो पोकोपन्तुरो बोक्दै एक दिने पाहुना भएर नार्कोनन् नेपालमा आइन्, तिनले एकरातमै हामीहरूलाई यो बदलिँदो समाजमा वृद्धवृद्धामाथि हेर्ने दृष्टिकोणमा कसरी भयानक परिवर्तन आइरहेको छ भनेर बुझाएर गइन् । उनको जीवन नजिकबाट आफैँले देखेपछि मभित्र पनि थुप्रै नयाँ प्रश्न जन्मिएका छन् त्यो के भने के हामी आफ्नै छोराछोरीबाट सुरक्षित छौँ ? के हामीले पनि आफ्ना वृद्ध मातापितामाथि एउटा छोराछोरीले निभाउनुपर्ने कर्तव्य निभाएका छौँ ? भोलि जब हामी वृद्धवृद्धा हुन्छाँै त्यतिबेला तिनै छोराबुहारीले घरबाट निकालिदिए भने त्यतिबेला हामी कहाँ जानेछौँ ? के मातापिताले छोराछोरीलाई आफ्नो सम्पत्तिको हक दिएको ठीक हो ? आजभोलि यी र यस्ता प्रश्न मेरो मनमा पनि जन्मन थालेका छन् । मेरो जीवनमा गजबका प्रश्नहरू उठाएर गइन् ती एकदिने पाहुनाले ।