देश आर्थिक समृद्धिको बाटोमा मोडिएको गर्भनरको दाबी

देश आर्थिक समृद्धिको बाटोमा मोडिएको गर्भनरको दाबी


नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपालले आर्थिक वर्ष ०७४/७५ आर्थिक विकासका लागि मार्गप्रशस्त गर्ने वर्षको रुपमा रहेको बताएका छन् ।

नेपाल राष्ट्र बैंकको ६३औं स्थापना दिवसकोे अवसरमा गर्भनर नेपालले तीनैतहको निर्वाचन सकिएको र मुलुकमा स्थायी सरकार निर्माण भएको हवाला दिँदै देश आर्थिक समृद्धिको बाटोमा मोडिएको दाबी गरे ।

मुलुकमा सुशासनको सुनिश्चतता, आन्तरिक तथा बाह्य लगानीमा हुने बढोत्तरी र सरकारको पूँजीगत खर्च बृद्धिसँगै दीगो विकासको आधार तयार हुने अवसर मुलुकले प्राप्त गर्नेमा उनले जोड दिए ।

आन्तरिक तथा बाह्य कारणले मुद्रास्फीति बेलाबखत केही दबाबमा पर्ने गरेको र फागुनसम्म मुद्रास्फीति दर ६ प्रतिशतमा पुगे पनि चैतमा भने ५ दशमलव ३ प्रतिशतमा झरेको उल्लेख गर्दै उनले २०७५ बैशाख ७ गतेसम्ममा नगद प्रवाहमा आधारित सरकारी बजेट १२५ अर्ब ५६ करोडले घाटामा रहेको जानकारी दिए ।

राष्ट्र बैंकका अनुसार यसै अवधिमा चालु खर्च ४ सय ६५ अर्ब ३० करोड र पूँजीगत खर्च १ सय १४ अर्ब १६ करोड भएको छ । २०७५ बैशाख ७ गतेसम्ममा नेपाल सरकारको राजस्व परिचालन २० दशमलव ८ प्रतिशतले बृद्धि भई ५ सय १५ अर्ब २ करोड पुगेको छ भने राष्ट्र बैंकसँग २ सय ७७ अर्ब ४७ करोड रहेको छ ।

यस्तै चालु आर्थिक बर्षको पहिलो आठ महिनामा कुल बस्तु निर्यात १० दशमलव ८ प्रतिशतले भएको छ भने कुल बस्तु आयात २२.१ प्रतिशतले बढेको छ । बताइएअनुसार मुलुकलाई ७ सय १३ अर्ब ९३ करोड व्यापार घाटा भएको छ ।