‘बेकार’लाई ‘सरोकार’को बस्तु तुल्याउने सुखवती स्टोर पुरस्कृत

‘बेकार’लाई ‘सरोकार’को बस्तु तुल्याउने सुखवती स्टोर पुरस्कृत


राजधानी काठमाडौंको गोगँबु टाउन प्लानिङमा रहेको सुखवती स्टोर फाउण्डेशनलाई दक्षिण कोरीयाको एशिया फिलान्ट्रफी अवार्ड हासिल भएको छ । गैरनाफामूलक सामाजिक कार्यमा सक्रिय रहेको भन्दै ‘वर्षको उत्कृष्ट गैरनाफामूलक सामाजिक संस्था पुरस्कार’ फाउण्डेशनलाई प्रदान गरिएको हो ।

दक्षिण कोरीयाको राजधानी सिओलमा हालै आयोजित कार्यक्रममा फाउण्डेशनका अध्यक्ष चीजमान गुरुङलाई उक्त पुरस्कार प्रदान गरिएको हो । फाउण्डेशनले ‘खुशी बाँडौ’, एकको बेकार अर्कोको सरोकार र तपाईको पुरानो सामान अरु कसैका लागि नयाँ हुन सक्छ भनेर रिडिस, रियुज र रिसाईकलअन्र्तगत प्रयोगमा आएर बिग्रेका सामान मर्मत गरी पुनः प्रयोगमा ल्याउँछ । पुराना लुगा धोएर सिलाएर लाउन योग्य बनाउने, भाँडाहरु मर्मत गरी प्रयोगमा ल्याउने र यसबाट वातावरण समेत जोगीने फाउण्डेशनका कोषाध्यक्ष लक्ष्मीदेवी गुरुङले बताउनुभयो ।

टिसर्ट, जुत्ता, सिडीजस्ता कतिपय सामानको मूल्य रु १० बाट शुरु भएर अलि राम्रो सट, पाइन्टको मूल्य रु २०, ४०, ८० देखि २५० सम्म सामान हेरेर मूल्य राखी बेच्ने गरिएको फाउण्डेशनका सदस्य केशकुमारी रानाले जानकारी दिनुभयो । सामाखुशी टाउनप्लानिङमा त्यसको बिक्री कक्ष छ ।

कोरियाको अल माइ किड्स र वुग्यदन याथोलिक चर्चको करिब रु ५० लाख सहयोगमा फाउण्डेशनले काभ्रेको दोलालघाटमा दुलालेस्वर उच्च माध्यमिक विद्यालयको छ कोठे विद्यालय भवन र दुई कोठे शौचालय बनाएको छ । कोरियाको ह्याप्पी फयाक्ट्रीसँग मिलेर रु २७ लाखको लागतमा नुवाकोटको हिलेखकस्थित गारबेँसी निमाविको भवन बनाएको छ ।

तीन वर्ष अघि गोर्खा भुइँचालो आएपछि कोरियाको ब्यूटिफुल स्टोर फाउण्डेशनसँग मिलेर सो संस्थाले रसुवा, काभ्रे, नुवाकोट, सिन्धुपाल्चोक, दोलखाका १३ गाविसका पाँच हजार ८०० घर परिवारलाई करिब रु ८० लाख मूल्य बराबरका आठ हजार सिरक वितरण गरेको थियो ।

फाउण्डेशनले गोर्खाको थालजुङमा दिगो कृषि योजनाअन्तर्गत अलैँची एवं काठमाडौँ दक्षिणकाली टुल्कुमा टनेलमा बेमौसमी तरकारी खेती कार्यक्रम सञ्चालन गर्न लागेको बताइएको छ ।