वि.सं. १९६० मा स्व. श्री ३ जंगका छोरा कर्णेल रणजंग राणा जसले युरोपियन आइमाईसँग विवाह गरी क्रिश्चियन भएर स्व. श्री ३ जंगकै समयदेखि भारतको बम्बैमा बसोवास गरेका थिए, निज प्रयाग–इलाहाबादमा भूतपूर्व प.क.ज. पद्मजंग राणासँग भेट–मुलाकातका निमित्त आए । सोही अवसरमा धेरै समयपछि दाजुभाइहरूको भेटघाट भएको खुसीमा पद्मजंग राणा र रणजंग राणा दुवैले खुब मदिरापान गरे र दुवै बेहोस भए । पद्मजंग राणा पछि उठे, तर रणजंग राणाको बेहोस भएको अवस्थामै मृत्यु भयो ।
यसै ६० साल फागुनमा सिंहदरबार बनेर तयार भयो, पुरश्चरण, कोटीहोम इत्यादि अनेक कर्मकाण्ड गराई श्री ३ चन्द्र आफ्नो पुरानो थापाथली दरबार सिंहमहल ‘हाल नेपाल राष्ट्र बैंकको थापाथली शाखा’बाट सिंहदरबार सरे । सिंहदरबार बन्न शुरु गर्नुअगावै श्री ३ चन्द्रले प्राइम् मिनिष्टर बन्न लायकको ठिकैको दरबार बनाउनुपर्ला भनेका थिए । तर, पछि बनाउँदाबनाउँदै त्यो दरबार भयङ्कर ठूलो बन्यो ।
सिंहदरबार जे–जत्रो बने पनि त्यस समय श्री ३ चन्द्रको पचास लाख रुपैयाँभन्दा बढी खर्च सो दरबारको निर्माणमा लागेन भन्ने अनुमान तत्कालीन दोस्रा जनरल पछि फिल्ड मार्शल रुद्रशमशेरको अनुमान छ । कारण काठ काठमाडौंनजिक ‘छरिया’ को जङ्गल जुन जङ्गलमा स्व. श्री ३ जंगले वि.सं. १९१७ तदअनुसार सन् १८६० मा अनेक प्रकारका अहिंस्रक जनावरहरू र चराहरू त्यस जङ्गलमा छोडी गोकर्ण, नागार्जुन वनझँै रेखदेख गरी संरक्षण पुऱ्याएर राखेका थिए । सो वन साफ हुनेगरी लकडी ओसारे । काठ मात्र ओसारेनन् ‘छरिया’को नामोनिशान राखेनन् । आज काठमाडौंनिवासी धेरैलाई थाहा छैन होला ‘छरिया’ भन्ने ठाउँ कहाँ हो ? त्यस घोर जङ्गलको लकडी साफ हुने गरी काठमाडौंमा ‘झलारी’द्वारा ओसारे । लकडीमा श्री ३ चन्द्रको एक पैसा परेन । काठको काम गर्ने सिकर्मी, गारोको काम गर्ने डकर्मीदेखि कुल्ली इत्यादि सम्पूर्ण कार्य सैनिक, पुलिस, पिपा र कैदीबाट लिइन्थ्यो । बीच–बीचमा राँगो खानेहरूलाई राँगो र खसी खानेहरूलाई खसी काटी भोज अवश्य ख्वाउँथे ।
चन्द्रशमशेरको पैसा प¥यो भने खालि किला–काँटा, फलामे छड, फलामे सत्तरी, दलिन इत्यादि जुन भारतबाट खरिद गर्नुपर्दथ्यो र सो सामानको भन्सार पनि कत्ति पर्दैनथ्यो, तसर्थ श्री ३ चन्द्रले यस सिंहदरबार निर्माणार्थ पचास लाख रुपैयाँभन्दा बढी खर्च गरेका छैनन् । सिंहदरबार बनी तयार भएपछि श्री ३ चन्द्रले भारदारी सभा गठन गरी सबैसमक्ष, ‘अबदेखि जो श्री ३ महाराज हुन्छ ऊ यस सिंहदरबारमा बस्न पाउनेछ तसर्थ यो दरबार मैले नेपाल सरकारलाई आजदेखि बेचेँ’ भनी सरकारी ढुकुटी–कौसीबाट तुरुन्त दुई करोड रुपैयाँ झिकेर लिए । यसरी स्व. श्री ३ जंगले सङ्कटकालीन अवस्थामा, दैवी प्रकोप परेमा मात्र प्रयोग गर्नु भनी राखेको एघार करोड रुपैयाँबाट सर्वप्रथम यिनले झिकेर लिए । यसरी श्री ३ चन्द्रले कमसेकम डेढ करोड रुपैयाँ सिंहदरबार बेची आर्जन गरे साथै सो दरबारमा आफू नमरुन्जेल (२८ वर्षसम्म) बसे ।
दरबार बनिसकेपछि एक दिन चन्द्रशमशेर सो विशाल सिंहदरबारको निरीक्षण गर्दै जेठी बडामहारानी लोकभक्त लक्ष्मीदेवीसँग दरबारको कौसीमा पुगे ।
चन्द्रशमशेरले कौसीबाट ‘बागदरबार’ देखेकाले औँल्याउँदै ‘ऊ बागदरबार’ भनी लोकभक्तलाई देखाए । लोकभक्त लक्ष्मीले ‘महाराज ! त्यो बागदरबार हो भने यो दरबारलाई सिंहदरबार भन्न कसो होला ?’ भनेर प्रश्न गरिन् । चन्द्रशमशेरले मुसुक्क हाँस्दै सो नयाँ दरबारको नाम ‘सिंहदरबार’ राखिदिए ।
प्रतिक्रिया