देवीघाटमा ग्रिड सोलार प्लान्ट निर्माण हुँदै

देवीघाटमा ग्रिड सोलार प्लान्ट निर्माण हुँदै


नुवाकोटको विदुर नपा–६ मा देवीघाट जलविद्युत् परिसरमा ग्रिड सोलार प्लान्ट निर्माण हुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उक्त सोलार प्लान्टको शिलान्यास गरेका छन् । विद्युत् धेरै खपत हुने उद्योगहरुको स्थापना गर्ने, खाना बनाउनेदेखि यातायातसमेत विद्युत्बाट सञ्चालन गर्ने वातावरण बनाउने उदघोषका साथ प्लान्ट शिलान्यास गर्दै उनले विद्युत् उत्पादनमा आत्मनिर्भर हुनसके देशले भोग्दै आएको व्यापारघाटा काम हुने तर्क गरे ।

उनले भने, ‘ग्यास, डिजेल, पेट्रोल र विद्युत् आयातका लागि विदेशिने एक खर्बभन्दा बढी रकम नेपालमै रहन्छ । यसले थोरै भए पनि व्यापार घाटा कम गराउँछ ।’ आगामी दिनमा सरकारले जलाशययुक्त आयोजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए ।

मन्त्री पुनले शिलान्यास गरेको २५ मेगावाट क्षमताको ग्रिड सोलार नेपालकै सबैभन्दा ठूलो सोलार प्लान्ट हो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण हुने प्लान्टको काम एक वर्षभित्र सकेर विद्युत् राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्य राखिएको प्राधिकरणका महाप्रबन्धक कुलमान घिसिङले जानकारी दिए ।

उनका अनुसार सोलार प्यानल सञ्चालनमा आएपछि प्लान्टबाट अपराह्न उत्पादित विद्युत् सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएकाले अपराह्न कुलेखानी जलाशययुक्त र कालीगण्डकी ए, मध्यमस्र्याङ्दी, मस्र्याङ्दी, चिलिमेजस्ता जलाशययुक्त तथा अर्धजलाशययुक्तको जलविद्युत्को पानी सञ्चित गरी बिहान र बेलुकी सञ्चालन गर्न सहयोग पुग्ने छ ।

विश्व बैकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजनाअन्तर्गत प्लान्ट स्थापना गर्न लागिएको हो । प्लान्ट स्थापनाका लागि चिनियाँ कम्पनी राइजन इनर्जीसँग तीन करोड ८० लाख अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको बताइन्छ । सोलार प्लान्ट पाँच वर्षसम्म ठेकेदार कम्पनीले नै सञ्चालन गरी त्यसपछि मात्र प्राधिकरणलाई हस्तान्तरण गरिनेछ ।

तस्बिर रासस