छविलाल बगाले
हिमालपारीको जिल्ला मनाङ नेपालको प्रदेश नं ४ मा अवस्थित सुन्दर जिल्ला हो । कुल क्षेत्रफल २,२४६ वर्ग किलोमिटर ओगटेको यस जिल्लाको सिमाना पूर्वमा गोरखा र लमजुङ, पश्चिममा मुस्ताङ र म्याग्दी, दक्षिणमा कास्की र लमजुङ तथा उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ ।
जिल्लाको भौगोलिक सुन्दरताको वयान गर्दा अति नै लोभ लाग्दा दृश्यहरू, अग्ला भिराला पहाडहरू र उच्च हिमश्रृखलाहरू जस्ता विषेशताहरू भएको यस जिल्लामा पूर्वमा मनास्लु, पश्चिममा दामोदर, दक्षिणमा अन्नपूर्ण र लमजुङ हिमाल पर्दछन् भने उत्तरमा तिब्बतको पेरी र चीन हिमाल पर्दछन् ।
मनाङ जिल्ला थुप्रै स्वदेशी तथा विदेशी पर्यटक र पदयात्रीहरुको गन्तव्य मार्ग, बहुमुल्य जडिबुटी, वन सम्पदा, अपार जलस्रोतको धनी, विश्वको सबभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल तथा कुण्डहरूको बेजोड संगम भएको जिल्ला हो ।
मनाङसँग रमाउन चाहनेहरु धेरै छन् । वातावरणिय दृष्टिकोणले निकै सफा छ मनाङ । अन्नपूर्ण पदमार्गको बिचैमा पर्ने कारणले मनाङलाई विदेशीले मात्रै होइन् स्वदेशी पर्यटकहरुले पनि उत्तिकै रमाइलो गरी घुम्ने गर्दछन् । यस जिल्लाको मनोरमतालाई नियाल्ने हो भने अहिलेको सिजन नै उपयुक्त छ । न जाडो न गर्मीको यो सिजनमा सेता हिमालसँगै जिल्लाका मनोरम दृश्यहरुलाई दृश्यावलोकन गदै पदमार्गको फेरो मार्ने पर्यटकहरु यो बेला निकै भेटिन्छन् ।
अन्नपुर्ण पदमार्गको प्रवेशद्धार लमजुङको सदरमुकाम बेसीशहरबाट चामेसम्मको कुल ६५ किलोमिटर र त्यसभन्दा माथि झण्डै ३० किलोमिटरको माथिल्लो मनाङसम्म गाडी चढेर जाने कि पदयात्रा गर्ने यसको छिनोफानो आफैंले गर्नुपर्दछ । हिंड्न मन नलाग्नेहरुलाई माथिसम्मै जिपको व्यवस्था पनि छ । हिंड्न सक्नेहरु बेसीशहरबाटै पैदल बाटै मनाङको यात्रामा निस्कन्छन् । माथिल्लो मनाङ क्षेत्र निकै मनमोहक भएकोले माथिल्लो मनाङसम्म पैदलयात्रा गर्दा निकै नै रमाइलो हुने गर्दछ ।
बेसीसहरदेखि शुरु भएको पैदल यात्रा कहालीलाग्दो भिर खण्डको सडक, हरिया बनजंगल, हेर्दा टोपी खस्ने मनमोहक झरना, नागवेली आकारमा बगेको मस्र्याङदी नदिको दृश्य, जंगली जनावरहरु अवलोकन गर्दै हिमाललाई पछि पार्दै मनाङको सदरकुकाम चामे पुग्न सकिन्छ । सबैतिर अग्लाअग्ला पहाडले घेरेर खोचमा रहेको चामे बजारले पनि छुट्टै अस्तित्व बोकेको छ । राउण्ड अन्नपूर्ण पदयात्रामा निस्किएका पर्यटकहरु चामे बजारको मनमोहक दृश्यलाई हेर्नको लागि एकदिन चामेमै बस्ने गर्दछन् ।
विश्वविख्यात मानिएको राउन्ड अन्नपुर्ण पदमार्गमा आउने जो कोही पर्यटकहरु पनि मनाङ पुगेपछि आफुलाई निकै भाग्यमानी ठान्ने गर्दछन् । उनिहरु त्यहाँको लोभलाग्दो दृश्यहरु अवलोकन गर्नका लागि आफ्नो बसाई लम्ब्याउँने गर्दछन् । चामेबाट भ्राताङ हुदै ढिकुरपोखरी, पिसाङ, हुम्डे, माथिल्लो मनाङ गाउँ टंकी मनाङ अनि खाङसार पुग्ने बाटोमा देखिने मन लोभ्याउने दृश्यले स्वर्गकै अनुभूति दिलाउँछ । यथार्थ सौन्दर्यको दृश्यहरु माथिल्लो मनाङ पुगेपछि मात्रै देख्न सकिन्छ ।
हाम्रा आँखाले नजिकैबाट देखिने सेता हिमाल, हिउँ पग्लिएपछिको पहाड, विभिन्न स्थानमा निर्माण गरिएका पुरातत्विक अभिलेख, गुम्बा अनि स्तुपाहरुले पर्यटकहरुको मनलाई लोभ्याइदिने गर्दछ । अन्नपुर्ण पदमार्गको आकर्षक केन्द्रविन्दु ५ हजार ४ सय १६ मिटर उचाइमा रहेको थोराङ भञ्याङ थोराङपासको यात्रा निकै कष्टकर र चुनौतीपूर्ण भएपनि यो उत्तिकै मनमोहक अनि आश्चार्यजनक पनि छ । जहाँ पर्यटकहरु पुगेपछि आफुलाई महान भएको अनुभव गर्दछन् । पदमार्गमा आउने कतिपय विदेशी तथा स्वदेशी पर्यटकहरुको एकमात्रै उत्साह भनेको थोराङ पास गर्नु रहन्छ ।
विदेशी पर्यटकहरुकै कारण पनि अन्नपुर्ण पदमार्गले उचाई लिएको हो । शुरु शुरुमा पदमार्गमा आउनेहरु यहाँका मन छुने दृश्यहरुले मोहित बनाएपछि यस्तै हर्षको अनुभव विदेशमा पुगेपछि आफ्ना आफन्तहरुलाई सुनाउने गर्दछन् । जस्ले गर्दा पनि पदमार्ग घुम्न आउने पर्यटकहरुको संख्यामा बृद्धि हुने गरेको छ ।
विविध प्राकृतिक दृश्यहरुले भरिपूर्ण माथिल्लो मनाङमा गंगापूर्ण ताल, हिमताल, गुम्बा यहाँको प्रमुख आकर्षणका केन्द्रविन्दु हुन् । यहाँ बाट अन्नपुर्ण, २, ३ र ४, गंगापुर्ण हिमाल, तिलिचो हिमालजस्ता मनोरम हिमश्रृखलाहरु नजिकैबाट अवलोकन गर्न सकिन्छ । यता संरक्षित बन्यजन्तुको बाँसस्थान रहेको यस क्षेत्रमा विभिन्न चरा र जीवनन्तुहरुले पर्यटकको मन लोभ्याउने गर्दछ । माथिल्लो मनाङबाट विश्वकै सबैभन्दा बढि उचाईमा अवस्थित तिलिचो ताल पुग्न सकिन्छ । मनाङबाट तीन दिनको पैदल यात्रा गरेपछि पुग्न सकिने तिलिचो जाने उपयुक्त मौसम भने साउनदेखि कार्तिक महिनालाई लिने गरिन्छ ।
देश विदेशबाट आएका धेरैजसो पर्यटकहरु तिलिचो ताल र थोराङपास पुग्नका लागि मनाङलाई प्रमुख गन्तव्य बनाउँदै आउने गर्दछन् । थोराङपासका लागि आएका पर्यटकहरु हाइ अल्टिच्युडबाट जोगिनको निम्ति ४ हजार ८ सय मिटर उचाईमा रहेको हाइक्याम्पमा नै बस्ने गर्दछन् । एकदिन थोराङफेदीमा बास बसेर पदमार्गमा जाने पर्यटकहरुले सजिलैसँग थोराङ पास गर्न सकिन्छ । थोराङपास गर्नु आफु साहसी भएको पर्यटकहरु सम्झने गर्दछन् ।
बर्षेनी एक लाखको हाराहारीमा विदेशी तथा स्वदेशी पर्यटकहरुको ओइरो लाग्ने राउण्ड अन्नपुर्ण पदमार्ग पछिल्लो समययता सडकका कारण ओझेलमा पर्दै गइरहेको छ । पदमार्गको बैकल्पिक ब्यवस्था गरिए पदमार्गमा पर्यटकहरु बढ्ने ब्यवसायीहरु बताउँछन् । अन्नपूर्ण पदमार्गको यात्रा मनाङ हुँदै थोराङपास गरेर मुक्तिनाथ, जोमसोम, बेनी अथवा घोरेपानीबाट पोखरा पुगेर टुङ्गिन्छ ।
विगतमा २८ दिन लाग्ने अन्नपूर्ण पदमार्गको यात्रा सडक निर्माण सँगै ८ देखि १० दिनमा झरेको छ । बेसीशहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको ताल, बगरछाप, तिमाङ, चामे, थोराङ पास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ । नेपाल भ्रमणमा आउने मध्ये ३० प्रतिशत पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमणमा जाने गर्छन् । एक्यापका अनुसार अन्नपूर्ण पदमार्गमा सवैभन्दा धेरै बेलायत, इजरायल, कोरिया, चीन, जर्मनी, अमेरिका, फ्रान्स, जापान, अस्ट्रेलिया लगायतका देशका नागरिक आउने गर्छन् ।
प्रतिक्रिया