नेपाली राजनीतिमा अत्यन्तै त्यागी, सिद्धान्तनिष्ठ, सङ्घर्षशील र पदका लागि आशक्ति नगर्ने नेताको परिचय बनाउनुभएका नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला प्रजातन्त्रसँग कुनै पनि सम्झौता गर्न कहिल्यै तयार हुनुभएन । एमाओवादी अध्यक्ष प्रचण्डको आग्रहमा निकासका लागि भन्दै प्रधानमन्त्रीको जिम्मेवारी लिन तयार हुनुभएका सभापति कोइरालासँग पछिल्लो राजनीतिक अवस्था, सहमति र आन्दोलनलगायतका विषयमा घटना र विचार साप्ताहिकका लागि ऋषि धमलाले गरेको कुराकानीको मुख्य अंश
प्रचण्डले त आफैं प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गर्नुभयो नि ?
प्रचण्डजीको असली नियत बल्ल खुल्यो । यसको छनक मैले पहिला नै पाएको थिएँ । यसको अर्थ एमाओवादी निर्वाचन चाहँदैन भन्ने प्रस्ट भएको छ । कहिले विघटित संविधानसभा पुनस्र्थापनाको नाममा त कहिले सत्ता गठबन्धनभित्रैबाट त कहिले स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन गर्ने पासा फालेर सत्ता लम्ब्याइरहे, अहिले आएर म आफैँ प्रधानमन्त्री बन्छु भन्नु कति उचित हुन्छ त्यसको मूल्याङ्कन नेपाली जनताले गर्छन् । अहिले प्रचण्ड प्रधानमन्त्री बन्ने जुन कुरा आएको छ त्यो माओवादीको षड्यन्त्रमूलक योजना हो । उनीहरू सत्ता लम्ब्याउने र निर्वाचन नगराउने योजनामा छन् । नेपाली काङ्ग्रेसले सत्ताकब्जा गर्न दिँदैन, अब माओवादीसँग सम्झौता होइन आन्दोलनको भाषा बोल्छौँ ।
प्रचण्डको नेतृत्वमा सहमतिको सरकार निर्माणमा काङ्ग्रेसले सहयोग गर्दैन ?
हामी प्रचण्डलाई स्वीकार गर्दैनाँै र प्रचण्ड प्रधानमन्त्री बन्न पनि सक्दैनन् । प्रचण्डको प्रधानमन्त्री बन्ने चाहना बाबुराम भट्टराईको नेतृत्वको सरकारको आयु लम्ब्याउने अर्को चालबाजी हो । काङ्ग्रेस यो चालबाजीमा अब फस्दैन । काङ्ग्रेसले त्यस्तो सरकार स्वीकार गर्दैन पनि ।
प्रचण्ड प्रधानमन्त्री बने भने ?
त्यस्तो कुरा नगर्नुस्, आकाश खस्यो भने के हुन्छ जस्तो प्रश्न नगर्नुस् । प्रचण्ड प्रधानमन्त्री बन्दैनन्, यो सत्ता लम्ब्याउने चालबाजी मात्रै हो । हामी अब कसैसँग सम्झौता गर्दैनौँ । आन्दोलनको बाटोबाट छिनोफानो गर्छौं ।
तपार्इं प्रधानमन्त्री पनि हुन नसक्ने, अब प्रधानमन्त्रीको उम्मेदवारी पनि दिइरहने कि विकल्प दिने ?
मैले किन विकल्प दिने ? तपाईं प्रधानमन्त्री बनिदिनुप¥यो, तपाईंमा सहमति जुट्छ भनेर घरमै आएर उम्मेदवारी दिन लगाउने अनि अहिले आएर विकल्प दिनुप¥यो भन्ने कुरा हुन्छ र ? पहिला प्रचण्डले नै तपार्इं उम्मेदवार बनिदिनुस् भनेर आग्रह गरेको होइन ? अनि अहिले किन फिर्ता लिएर विकल्प दिने ? हामी विकल्प दिँदैनाँै । अहिले विकल्पको कुरा कहाँबाट आयो ? अब काङ्ग्रेस पछि हट्दैन ।
स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री बनाउने प्रस्ताव आएको छ नि ?
स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार बनाएर निर्वाचनमा जाने कुरा पनि स्वीकार्य हुँदैन । स्वतन्त्र व्यक्तिको नाममा आफ्नो मान्छेलाई प्रधानमन्त्री बनाएर सत्ताकब्जा गर्ने माओवादीको योजना हो । यसले मुलुकलाई अझै अनिश्चिततातिर लैजान्छ । यो षड्यन्त्रपूर्ण जालसाझी कुरालाई हामीले राम्ररी बुझेका छौँ । यो कुरा हामीलाई स्वीकार्य छैन । माओवादी सर्वसत्तावाद लाद्न उद्यत् छ, काङ्ग्रेसले यसमा कसैसँग सम्झौता गर्न सक्दैन ।
आन्दोलनबाट सरकार ढाल्न सकिएला त ?
किन नसक्नु ? काङ्ग्रेसले १०४ वर्षदेखि जरो गाडेर बसेको निरङ्कुश जहानियाँ राणाशासनलाई फाल्यो, ३० वर्षको निरङ्कुश पञ्चायती शासन व्यवस्था फाल्यो, २४० वर्षको राजसंस्थालाई त काङ्ग्रेसले फाल्यो भने अब आन्दोलनबाट बाबुराम भट्टराईलाई फाल्न कुनै अप्ठ्यारो छैन । हेर्दै जानुहोला, सहमतिमा आएनन् भने भट्टराई सरकार आन्दोलनबाटै फाल्छाँै ।
अब वार्ता नगर्ने ?
आन्दोलन गरे पनि हामी निषेधको राजनीति गर्दैनौँ । वार्ता र आन्दोलनलाई सँगसँगै अगाडि बढाउँछौँ । दुवै मोर्चाबाट निकासको प्रयत्न गर्छौं । काङ्ग्रेस सहमति, सहकार्य र एकताका लागि सधैँ तयार छ । काङ्ग्रेस जहिले पनि मेलमिलापको पक्षमा छ ।
तपाईंलाई प्रधानमन्त्रीको उम्मेदवारी घोषणा गर्न लगाएर प्रचण्डले आफैँ इच्छा व्यक्त गर्नुभयो, तपाईंलाई धोका भएजस्तो लागेको छैन ?
प्रचण्डले मलाई धोका दिएको होइन, उनले आफ्नो असली रूप देखाए । उनको असली रूप यस्तै षड्यन्त्रमूलक हो भन्ने कुरा प्रस्ट भएको छ । यसले एमाओवादी आफैं गलत सावित भएको छ ।
अबको निकास के त ?
अबको निकास भनेको आन्दोलन, आन्दोलन र फेरि पनि आन्दोलन नै हो । हामी आन्दोलनको मोर्चामा होमिइसक्यौँ । अब आन्दोलनबाटै मुलुकले निकास पाउँछ ।
तपाईंहरूको आन्दोलनको स्वरूप कस्तो हुन्छ ?
हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ । शान्तिपूर्ण आन्दोलनबाटै सरकार फाल्छौँ । हामीले हाम्रा भ्रातृ सङ्गठनहरूलाई समेत त्यसका लागि स्पष्ट निर्देशन दिएर तयारीका लागि पठाएका छौँ । अहिले लोकतन्त्र सङ्कटमा छ यो अवस्थामा सबै तह तप्का र लोकतन्त्रप्रति आस्थावान्हरूलाई म सडकमा आउन आह्वान गर्छु ।
प्रतिक्रिया