फर्की हेर त बाबुराम– रत्ननिधि रेग्मी ‘शुक्राचार्य’

फर्की हेर त बाबुराम– रत्ननिधि रेग्मी ‘शुक्राचार्य’


indreniबाबुराम भनेर मानिसहरू गर्थे बडो आदर
विद्वान् मानिस ठानी भित्री मनले नुग्थे झुकाई शिर
राम्रो हो गुणवान, स्वच्छ छविको ठान्थे निकै सत्जन
यस्तो व्यक्ति हुँदैन सम्भव कबै संसारमा जन्मन !
धेरै काल बिते अनेक थरीका चर्चा–विचर्चा गरी
छापे झन् अखबारले पनि उनी छन् रे विवेकी, गुणी !
सत्ताको जब वागडोर उनको नेतृत्वमा आउँदा
छक्कै पर्नु भयो समस्त मुलुकै सन्त्रासले छाउँदा ।
ह्वात्तै भाउ बढ्यो बजार महँगी, कालोबजारी भयो
चोरीले, लुटपाटले र घुसले सातो डगाइदियो
हिंसा खुब बढ्यो, सतित्व लुटिँदा नारी सखापै भए
अन्यायी अति त्रूmर पाशविकता मैमत्त बन्दै गए ।
बाटो पार्न फराकको निहुँ झिकी छाप्रा जलाइदिए
लाखौँ मानिस गाँस खोसिन गई नाङ्गा–भुतुङ्गा भए
पाकेटमार बढे, निभेर बिजुली उद्योग बन्दै भए
खै के गर्नु कुरा सबै अधमरा कानै चिरेका थिए ?
सुन्ने कान पनि भएन अहिले देख्ने न आँखा रह्यो
कुर्सी मात्र समाउने धुन बनी बाटो बिरानो भयो
पत्नीकै प्रियपात्र मात्र हुनुले गिर्दै गयो रे ! छवि
चिन्ता लाग्दछ बाबुराम बबुरो बन्लान् हरामी भनी ।
बाबुराम तथा प्रचण्डपथ नै उल्टो दिशामा गयो
माओवादसमेत विकृत बनी राम्रो नराम्रो भयो
छैनन् राष्ट्रिय धारणा पनि कुनै सिद्धान्त स्वार्थी छँदा
दागी बन्न गयो, खराबसितको गठजोड गर्ने हुँदा ।
यो गर्छू र ऊ गर्दछु भनी उनी धक्कु ठुलै लाउँथे
मारे मर्छु शहिद बन्दछु भनी झ्याली सधैँ पिट्दथे
पैसामा पदमा र शक्ति तहमा झुक्थँे कहाँ भन्दथे
बिर्सी आज सबै कुकृत्यहरूमा आपैँm कसोरी फसे ?
जाति द्वन्द्व झिकेर बेस्कन यहाँ पारे ठूलै खाडल
गर्छु युद्ध भनेर फेरि यिनले चर्को गरे भाषण
लड्ने कोसित हो, प्रयोजन छ के त्यस्तो लडाइँ अब ?
यस्ता तर्क–कुतर्क गर्छ जसले ढाँट्ने कुरा हुन् सब ।
गोर्खाका पृथ्वी थिए मुलुकका नेपालका सर्जक
गोर्खाकै जब बाबुराम अहिले आए बनी भाँडक
विद्वान्ले हित हेर्छ सामूहिकता गर्दैन लड्ने कुरा
पाजी मानिस मात्र भन्छ दिनहुँ हामीहरू छौँ सुरा ।
विद्यावारिधि त्यो लिएर उनले खै के गरे सिर्जना ?
यौटा मात्र कुनै उदाहरण होस् मान्छे गरून् सम्झना
खाली बन्दुकले बनाउँछ कहाँ संसार यो सुन्दर ?
चिन्ता, चिन्तन छैन ता यदि भने भत्कन्छ आफ्नै घर ।
के भन्ने उनलाई आज द्विविधामा पो परेको छु म
शब्दै छैन कुनै विशेषण दिने आश्चर्यमा पो छु म
मान्छे बन्न कहाँ सकिन्छ सजिलै ? चाहिन्छ है धैर्यता
फर्की हेर त बाबुराम अहिले आपूm पुगेछौ कता ?
– महाकवि देवकोटा आश्रम, काठमाडौं ।

नयाँ नेपाल– विवेक अर्याल
नयाँ नेपाल आउँछ भन्थे
कहिले आउँछ ख्वै थाहा भएन
सपनीमा पो आएछ कि ?
खै मैले त पत्तै पाइनँ
न शान्तिको आभास पाइयो
न राहतको सास फेर्न पाइयो
के हो यो नयाँ नेपाल ?
हात्ती हो कि अजिङ्र या दानव ?
कोही भन्दै छन्– यो त कसैको हातमा छ
दानवै दानवको साथमा छ
भन्न त मानव भने पनि हुन्छ
हेर्दा मानवजस्तै छन् तर दानव भने उत्तम हुन्छ
नयाँ नेपाल खेलाई–खेलाई पुरानो बनाउँछन्
आफू त्यस्तै घिनलाग्दा छन्
नयाँ नेपाललाई पनि त्यस्तै बनाउँछन्
अनि बल्ल नयाँ नेपाल जनताको सामु ल्याउँछन्
लाटाले पापा हेरेजस्तै जनता हेरेको हे¥यै हुन्छन्
त्यो पुरानो भइसकेको नयाँ नेपाल चारैतिरबाट घेर्छन्
दानवले चिथोरेर घाइते बनाएको
चोक्टा–चोक्टा लुछेर नुन खन्याएको
उपचार गर्छन्, मल्हमपट्टि भर्छन्
तर नयाँ नेपाल भित्रैबाट कुहिएको छ
छेउ–छेउमा तुहिएको छ
थला परेको नयाँ नेपाल अन्तिम सास लिँदै भन्छ
दानवको अघि मानवको के लागोस्
अब त नेपाली युवाको चेत जागोस्
यदि युवाले दानवको साथ नदिने हो भने
म मरे पनि के भो र, मेरा सन्तान पक्कै आउनेछन्
जनताले अर्को निरोगी नयाँ नेपाल पाउनेछन्
– मलेखु धादिङ,

मेरो जिन्दगी– राजेन्द्र थापा
यो मेरो जिन्दगी
वाह कस्तो जिन्दगी
जिन्दगीभित्र अल्झेको जिन्दगी
जिन्दगीभित्र बल्झेको जिन्दगी
फुकाउन नसकिने गाँठो परेको
यो मेरो जिन्दगी वाह कस्तो जिन्दगी

प्रत्येक बिहान म उठेर
फुकाउन खोज्दछु गाँठो जिन्दगीको
अझ दिनभरि सुल्झाउन खोज्छु
बाटो जिन्दगीको
साँझ परेपछि
बाँधिन्छु जालमा जिन्दगीको
अनि छताछुल्ल भई
पोखिन्छु, रातमा जिन्दगीको
बिस्कुनझंै छरपस्टिन्छु
सपनामा जिन्दगीको

यो मेरो जिन्दगी
वाह कस्तो जिन्दगी
बुझ्नै नसकिने
यो मेरो जिन्दगी वाह कस्तो जिन्दगी

के तपाईंले बुझ्नुभयो ?
यदि बुझ्नुभयो भने
छरपस्टिएको जिन्दगीलाई उठाई
दुपटाको छेउमा पोको पारे हुन्छ
सारीको आँचलमा गाँठो पारे हुन्छ
त्यति नभए पाइन्ट सर्टको खल्तीमा राखे हुन्छ

त्यसपछि म भोलि बिहान उठेर
एउटा नयाँ जिन्दगी खोज्नेछु
मनपरेकोलाई रोज्नेछु
यो मेरो जिन्दगी…