विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध र बुद्ध भूमि नेपालको प्रचारप्रसार गर्ने उद्देश्यले पोर्चुगल (युरोप)मा क्रियाशील नेपाली संघसंस्थाको सक्रियतामा बुद्ध जयन्ती मनाउन लागिएको छ । पोर्चुगलमा मनाउन लागिएको २५६२औँ बुद्ध जयन्तीको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।
भोलि वैशाख १७ गते पोचुगलको राजधानी लिस्बनमा हुने बृहत् शोभायात्रा, प्रवचन, पूजालगायतका सम्पूर्ण कार्यक्रमको तयारी पूरा भएको बुद्ध जयन्ती मूल समारोह समितिका संयोजक एवं पर्यटन दूत रमेशकुमार गुरुङलाई उद्धृत गर्दै राससले जनाएको छ ।
संयोजक गुरुङका अनुसार रोसियोस्थित सिन्डिकेट हलमा बिहान १० बजेदेखि बुद्धको पूजा आरधनाको कार्यक्रम तय गरिएको छ भने दिनको ३ः३० बजे बाट बृहत् शोभा यात्रा शुरु हुनेछ ।
ऱ्यालीका लागि बुद्धका तस्बीर, बुद्ध वाणी उपदेश, प्लेकार्ड, तुललगायतका आवश्यक सामग्री तयार गरिसकिएको र पूजा तथा प्रसाद वितरणको व्यवस्थापनसमेत तय भइसकेको उनदे जानकारी दिए । यस्तै, बौद्ध धर्मगुरुद्वारा भगवान् गौतम बुद्धका ज्ञान, दर्शन, र दिव्य उपदेशका विषयमा विशेष प्रवचनसमेत दिने कार्यक्रम रहेको छ ।
रोसियोस्थित समुन्द्र किनारबाट शुरु भई मुख्य पर्यटकीय सडक परिक्रमा गरी मार्तिम मोनिज पार्कमा आएर ऱ्याली समापन हुनेछ । नेपाली बाजागाजा, बुद्धका तस्बीर, प्लेकार्ड, बुद्ध उपदेश लिखित ब्यानर, नेपालको राष्ट्रिय झन्डा र सांस्कृतिक झाँकीसहित शोभायात्रा गरिने कार्यक्रम रहेको छ ।
बुद्धको प्रचार–प्रसार गर्न र बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिनका लागि विदेशी भूमिमा बृहत् कार्यक्रम गरेर बुद्ध जयन्ती मनाउन लागिएको संयोजक गुरुङले बताए । ऱ्यालीमा पोर्चुगलमा रहेका नेपाली, बौद्ध धर्म गुरु, लामा, स्वदेशी तथा विदेशी बौद्ध अनुयायीको सहभागिता रहने बताइएको छ ।
यो पनि पढ्नुहोस्-
महात्मा बुद्धका अष्टाङ्ग मार्गबारे बहस
https://ghatanarabichar.com/99228
प्रतिक्रिया