न त्यो युद्ध थियो न लडाइँ
शब्दहरू बोलाएर गर्छन् व्यर्थै बढाइँ
जन्मजात स्वाधीन भाको आफ्नै थियो मुटु माटो
खाँदाखाँदैको गाँस लुट्यो हिँड्दा हिँड्दैको बाटो
घात–प्रतिघात कति–कति सत्यमाथि खँदाइ
न त्यो युद्ध थियो न लडाइँ
शब्दहरू बोलाएर गर्छन् व्यर्थै बढाइँ
नबुझेको कसैले छैन सबैलाई थाहा छ घामपानी
ओभाना छैनन् कतै निर्दोष युगको नयन नानी
भ्रमको भारी बोकाएर अन्धकारको चढाइ
न त्यो युद्ध थियो न लडाइँ
– वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती
देश बनाउने भेटिनँ– निर्मल पुरी
धेरै आए कुर्ची ताक्ने विकास छाप्ने कोही देखिनँ
देशलाई जीवन अर्पण गर्ने–मर्ने खालको कोही भेटिनँ ।
हल्ला मात्रै गर्छन् मञ्चमा गर्छन् नाटकीय भाषण
स्वार्थ त्यागी अघि सर्ने खालको कोही देखिनँ ।
विदेशीको निगाहमा जिउन बाध्य नेपाली छन्
आफ्नै देशमा दु:ख गरी जिउन चाहने कोही देखिनँ ।
देशमा शान्ति ल्उाँछौँ भनी सपथ खा’को बिर्से क्यारे
अशान्ति झन् थपिँदो छ शान्ति ल्उाने कोही देखिनँ ।
परायाको प्रभावबाट देशलाई मुक्त गर्ने कसले
देश बचाउन आफू मर्ने खालको मैले कोही देखिनँ ।
काला–गोरा फेरिइरहे नेतृत्वको कुर्सी ताक्ने
देशलाई निकास दिने अनि भर हुने कोही देखिनँ,
धेरै आए कुर्ची ताक्नेविकास छाप्ने कोही देखिनँ ।
– भूमेस्थान–१, डाँडागाउँ
पुस्तक समीक्षा
मृत्युलाई नजिकबाट हेर्दै
नेपाली कथा साहित्यमा राजुबाबु श्रेष्ठ नौलो नाम होइन । उनको नवीनतम कथासङ्ग्रह ‘मृत्युमेला’ रत्नपुस्तक भण्डारबाट प्रकाशन भएको छ । जसले नेपाली कथा साहित्यमा विशिष्ट स्थान राख्ने सम्भावना भने बोकेको छ । यसअघि नै दुई कथाकृति प्रकाशन गरिसकेका कथाकारले यसपटक भने विदेशी भूमिमा नेपाली कथालाई स्थान दिएका छन् ।
पाश्चात्य भूमिमा अधिकांश सुडान अफ्रिका र अन्य बेलायत, अमेरिका र क्रोएसियामा गरी जम्मा पन्ध्र कथाहरूको सङ्गालो रहेको छ । मृत्युमेला एक युद्घबाट विक्षिप्त मनको उद्वेगात्मक र ध्वस्त मानव बस्तीका कथा हुन् । विदेशी भूमिमा घटित त्यहाँका समाज र वर्गबाट नेपाली समाजलाई केही सन्देश दिन चाहन्छन् कथाकार । विदेश रहँदाका समयमा देखिएका र भोगेका पात्रहरूलाई कथामा जीवन्त बनाउँदै उनले जीवन र मृत्युका विविध पक्षलाई कथामा सूक्ष्म ढङ्गबाट प्रस्तुत गरेका छन् । आफ्नै देशमा शरणार्थी जीवन बाँचेकाहरूको जीवनलाई कथामा आत्मसात् गरेका छन् ।
पन्ध्रवटा कथा रहेको मृत्युमेलामा मरुभूमिमा मृत्युमेला अमिनासँग नजिकिँदै जाँदा प्रेम, हिंसाका चित्रण र उनको मृत्युको कारुणिकता पाइन्छ । तिम्रो अल्लाह र मेरो ईश्वर एकै भए पनि हामी विभाजित छौँ । पशुप्राणीप्रतिको हाम्रो सोच र व्यवहार नै अमानवीय हुँदै गएको छ । मान्छे अब कहाँ मान्छे भएको छ र ! यस्ता हिंसात्मक व्यभिचार उनको कथामा प्रसस्त पाइन्छ, जसले मानव मनलाई परिवर्तन गर्ने आह्वान भने गरेको छ । वर्तमानकालमा सल्केको जातीय र धार्मिक द्वन्द्व र यसका परिणाम कहिल्यै पनि राम्रो हुँदैन भन्ने पाठ सिकाउँछ । राजनीतिक विभेदका कारण युद्ध चर्किने विचार पनि पाइन्छ । कथामा महिला र बालबालिकाको दुर्गति, बलात्कार, हत्या र जलेको शून्य गाउँका कमजोर युवाहरूको पीडा पनि पाइन्छ । गृहयुद्घलाई विषयवस्तु बनाई कथाको सिर्जना गर्दै नेपाली कथाफाँटमा धेरै कथाकारले केही न केही दिँदै आएका छन् । यसै क्रममा कथाकार राजुबाबु श्रेष्ठले पुन: युद्घ कथासहितको ‘मृत्युमेला’ ल्याएका छन् । सरलभाषा, सुसङ्गठित कथावस्तु, विश्वसनीय पात्र र तिनको विकास, केन्द्रीय कथ्य र भावभूमिको प्रस्टता उनको कथाको विशेषता हो ।
नहतारिई विस्तारै कथालाई गति दिने कथाकार राजुबाबु आफ्ना कथामा अति नै भावपूर्ण ढङ्गबाट बढी कारुणिकता प्रस्तुत गर्न खोज्छन् । यसले पाठकलाई पीडा महसुस हुन्छ नै र कथामा काल्पनिकताको अंश देखापर्न जान्छ । तसर्थ उनका अधिकांश कथाप्रेम, सहानुभूति र समझदारीको सेरोफेरोमा रहेर पनि युद्घको भयानक गन्ध बोकेको छ । आकर्षक र प्रौढ ढङ्गबाट कथा शिल्पलाई प्रस्तुत गर्ने कथाकार घटनालाई लम्बेतान बढाउन पनि पछि परेका छैनन् । वाह रे अमेरिका, एउटा हुमरको कथा, अलबागिरको बिहे, गुडबाई मेरी, ओसेगाको सपना, लाउरा लन्डन र सपनाजस्ता कथाहरूले प्रेम र युद्धका विशाल खाडलहरू खन्दै र पुर्दै गर्छन् । आफैँले भोगेर वा देखेर अनुभूत गर्दै लेखिएका अधिकांश कथामा सूक्ष्मताको गहिराइमा पुगेर एक्काइसौँ शताब्दीमा देखिएको बर्बरता र द्वन्द्वको प्रकृतिलाई बेग्लाबेग्लै दृष्टिकोणबाट प्रस्तुत गरिएको छ ।
फरक परिवेश, फरक विषयवस्तु र बेग्लै स्वादको प्रस्तुतिले पाठकलाई आकर्षित गर्न खोजिए पनि युद्धबाट मर्माहत भइसकेको नेपाली पाठकलाई भने यो सङ्ग्रहले पुन: हाम्रो विगत सम्झाउने हुँदा खतरा भने उठाएको छ । युद्धसाहित्यको बढ्दो उपस्थितिले आमपाठकलाई कुन मोडमा पु-याउन सक्छ भन्ने लेखक स्वमम्ले पनि अनुमान लगाउनुपर्ने हुन्छ । विश्वसंस्कृति समकालीन नेपालीलाई बुझाउने क्रममा उताको द्वन्द्वले पीडित मानवबस्तीको अध्ययनले कस्तो संस्कृति बन्ला । यो एउटा गम्भीर प्रश्नचाहिँ उठ्न सक्छ ।
यथार्थपरक कथावस्तु लिएर पाठकमाझ आएका राजुबाबु श्रेष्ठको यो नवीनतम् कृतिले विदेशी भूमिमा पनि प्रेम र युद्धले जरो गाडेको भए तापनि प्रेम नै अन्तिम आवश्यकता हो भन्ने पाठचाहिँ दिएकै छ । तसर्थ ‘मृत्युमेला’ पठनीय र सङ्ग्रहनीय छ ।
प्रतिक्रिया