सन्तनेतालाई सम्झने हो भने

सन्तनेतालाई सम्झने हो भने


नेपालको लोकतान्त्रिक आन्दोलनका एक उर्वर प्रेरणा-शक्ति, नेपाली काङ्ग्रेसका संस्थापकमध्येका एक नेता एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई अब हामीमाझ रहनुभएन । सन्तका रूपमा सुविख्यात ँकिशुनजी’ले आफ्नो सतासी वर्षको जीवनयात्रालाई गत २० गते शुक्रबार राति पूर्णविराम दिएपछि बाँकी एक मात्र संस्थापक नेताको छहारीबाट काङ्ग्रेसजन विमुख बन्न पुगेका छन् भने आमनेपाली तथा प्रजातन्त्रप्रति आस्था र विश्वास राख्ने बाह्य समुदायका समस्त तप्काले त्याग, आदर्श, अहिंसा, आस्था र निष्ठाका एक उदाहरणीय व्यक्तित्व गुमाएको छ । अन्त्येष्टिमा सहभागी भई श्रर्द्धार्पण गर्न स्वत:स्फर्ुत उर्लेको जनसागरले स्वर्गीय भट्टराईको निष्कलङ्कित राजनीतिक जीवन, सादा जीवनशैली, राष्ट्रवादी चरित्र, देश र प्रजातन्त्रका लागि उहाँले निर्वाह गर्नुभएको स्वार्थरहित भूमिकाको हारि्दक अनुमोदन गरेको अनुभूति गरिएको छ ।
ँराजनीति आफ्ना लागि होइन, समाज र राष्ट्रका निम्ति गर्ने विषय हो’ भन्ने आदर्श-वाक्यलाई नेपाली राजनीतिमा चरितार्थ तुल्याउने एकमात्र नेता सम्भवत: कृष्णप्रसाद भट्टराई मात्र हुनुहुन्थ्यो । तथापि, सिद्धान्तमा कहिल्यै सम्झौता नगर्ने, अहिंसावादी चिन्तनलाई व्यवहारमा उतार्न हरदम प्रयत्नशील रहने, सत्ताप्राप्तिमा पटक्कै आशक्ति नदर्शाउने यस्ता त्यागी राजनीतिकर्मीलाई सत्ता सुम्पने सवालमा भने नेपाली-राजनीतिले असामयिक तवरमा कञ्जुस्याइँ गरिरह्यो । फलत: नेपालको राजनीति दिन दुईगुणा रात चौगुणाका हिसाबले अधोगतितर्फ भासिन पुग्यो । किसुनजीको अवसानपछि यतिबेला प्रत्येक सचेत तथा विवेकशील नागरिकका अन्तस्करणले सायद यस यथार्थलाई प्राथमिक तहमा मनन गरिरहेको हुनुपर्छ ।
राजनीतिमा नैतिकता, इमानदारी, पारदर्शिता र सत्चरित्रजस्ता विशेषताले अत्यन्त महत्त्व राख्दछ । तर, आजको हाम्रो राजनीति छलछाम र भ्रष्टपनको पर्याय बन्न पुगेको छ । व्यक्तिगत सम्पत्ति तथा स्वार्थप्रेरित शक्ति सञ्चयको आशक्ति राजनीतिमा भयानक किसिमले व्याप्त देखिन्छ । यसरी भ्रष्टाचारको खुला प्रतिस्पर्धा चलिरहेको परिवेशमा किसुनजीको आदर्श, निश्कलङ्कता र त्यागीपनको चर्चाले स्थान पाउनु सुखद विषय हो । तर, उहाँको त्याग र निस्वार्थ व्यवहारको चर्चा भइरहँदा प्रमुख राजनीतिक दलहरूबीच खास-खास मन्त्रालय र खास-खास स्रोत हात पार्ने विषयमा हानथाप जारी नै छ । यस्तो दल, समूह वा व्यक्तिकेन्द्रित राजनीतिले कसरी मुलुक र मुलुकवासीको उद्धार हुन सक्छ- किशुनजीको अन्त्येष्टिको ‘ह्याङओभर’ कायम रहँदै यो सवालको निरूपण हुनु आवश्यक छ ।
अकल्पनीय, अविश्वसनीय र अत्यन्त जटिल परिस्थितिमा पनि शक्तिशाली दरबार, दलहरू र जनाकाङ्क्षाको तीव्रतालाई मत्थर तुल्याउँदै १३ महिनामै लोकतन्त्रान्त्रिक मूल्य-मान्यतामा आधारित संविधान बनाएर जारी गर्ने खुवी सायद कृष्णप्रसाद भट्टराईमा बाहेक अरूमा नभएकैले ०४६ सालको जनआन्दोलनपछिको सङ्क्रमणकालीन अन्तरिम कालखण्डको बोझ किशुनजीको काँधमा आइपरेको थियो, जसलाई उहाँले अत्यन्त कुशलताका साथ पार लगाउनुभएको थियो । आज संविधान निर्माणको बहानामा २-३ वर्ष फजुल गुजारेर पनि नयाँ संविधानको निश्चितता दिन नसकिरहेका नेतृत्व वर्गले किशुनजीको सो कर्मबाट पाठ सिक्दै प्रेरणा लिनु अपरिहार्य छ । यदि आजका राजनीतिकर्मीहरूमा थोरै पनि नैतिकता र इमानदारी छ भने, स्वर्गीय भट्टराईलाई हारि्दकतापूर्वक नै श्रद्धाञ्जली दिइएको हो भने उहाँको गुणको अनुशरण गर्ने यथाशक्य प्रयत्न हुनैपर्छ । अन्यथा नेताहरूले ँमुखमा राम-राम बगलीमा छुरा’ भन्ने उखान चरितार्थ तुल्याएको मात्र ठहर्छ ।
त्याग, आदर्श र निष्ठाका प्रतिमूर्ति, विचार तथा अभिव्यक्ति स्वतन्त्रताका पुजारी कर्मयोगी किशुनजीको अवसानसँगै नेपाली राजनीतिमा उहाँका गुणहरूको विपरीतार्थक विशेषताहरूले थप मलजल नपाऊन् भन्नेमा जनता पनि सचेत रहनुपर्छ । आमनेपालीलाई यो चेतना र शक्ति मिलोस्, लोकतन्त्रका अभिभावक सन्तनेता किशुनजीप्रति हाम्रो हारि्दक श्रद्धाञ्जली ।