हेर्दै लाज, सुन्दै लाज, पढ्दै लाज, यतिबेला लाजैलाज र पराजयै पराजयको थुप्रोमा पुरिएको छ– नेपाली फुटबल । पराजयमाथिको पराजयले नेपाली फुटबल यति गन्हाएको छ कि सायद त्यसको वर्णन शेषनाग र सरस्वतीले मात्र गर्न सक्लान् । वास्तविक रूपमा भन्ने हो भने फुटबलमा पराजय हावी हुँदा त्यो कुहिएको सिनोसरि गन्हाएको छ । यसले फुटबलको वातावरणलाई यति दूषित बनाइदिएको छ कि अब सायदै कसैले खुलारूपमा सास फेरेर फुटबलको प्रशंसा गर्न सक्ला ? अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली खेलाडीको फितलो प्रदर्शनले फुटबलमा अहिले जुन उकुसमुकुसको वातावरण पैदा भएको छ, यसको समयमै उपचार भएन भने भोलि त्यो सहभागितामै सीमित नरहला भन्न सकिँदैन । तसर्थ गणेश थापा आफू मात्रै ‘हिरो’ हुने कि फुटबलमाथि लागेको ‘जिरो’लाई पनि हटाउने त्यो अहिले अहम् अनि गम्भीर प्रश्न बनेको छ ।
फुटबलमा नेपालको प्रदर्शनको चर्चा गर्दा अहिले …लाईभन्दा पनि देख्नेलाई लाज भइसकेको छ । तर, पनि एन्फाका पदाधिकारीहरूको होस् खुलेको छैन । उनीहरू अहिले पनि बाँझो खेतमा बूढो गोरुलाई जोतेर उत्तम फसल काट्ने सपना देखिरहेका छन् । परम्परागत र तानाशाही प्रवृत्ति हावी गराउँदै फुटबललाई ‘बिचरा’ बनाउँदै आएका छन् । जुन २१औं शताब्दीमा कत्तिको जायज कुरा हो त्यसको चिरफार हुन अति आवश्यक भइसकेको छ । फुटबलमा दुई दशकअघिदेखि मडारिँदै गरेको कालो बादलले अहिले पूर्ण आकार देखाउँर्द छपक्क छोप्दासमेत एन्फा पदाधिकारीको चेत खुलेको छैन । जसले गर्दा नेपाली फुटबलको स्तर दिनप्रतिदिन अधोगतितर्फ उन्मुख भइरहेको छ भने नेपाली खेलाडी घरेलु र विदेश मैदानमा हास्यपात्रका रूपमा चित्रित हुन थालेका छन् । त्यति मात्र होइन, अहिले फुटबल खेलाडी दर्शकहरूको माझमा छी:छी: र दुरदुरका पात्रसमेत बन्न पुगेका छन् ।
‘गोल’ नगरी जित्न नसक्ने खेलमा नेपाली फुटबल खेलाडीले गोल गर्न बिर्सिएको अहिले लामो समय भइसकेको छ । तसर्थ कुनै बेलाको दक्षिण एसियाकै नम्बर एक नेपाली टिम अहिले पुछारको भुटानको बराबरीमा पुगेको छ । जुन कल्पनाभन्दा बाहिरको कुरा हो । विडम्बना नेपालको प्रदर्शन यसरी खस्खिँदासमेत एन्फाले अनदेखी र अनसुनी गर्नाले अहिलेको भयावह स्थिति उत्पन्न भएको हो । फुटबलको विगत तीन वर्षको अन्तर्राष्ट्रिय प्रदर्शनलाई आत्मसात् गर्दा पनि त्यो घामजस्तै छर्लङ्ग देखिन्छ । नेपालले यो अवधिमा खेलेका आठ खेलमा मात्र एक गोल गर्न सफल भएको छ । जसले नेपाली टिममा गोल गर्ने खेलाडी अर्थात् स्ट्राइकर छैन भन्ने प्रमाणित गरेको छ । लामो समयदेखि गोलको खडेरी पर्दासमेत त्यसको विकल्प खोज्न नसक्नु एन्फाको ठूलो कमजोरी देखिएको छ । पाकिस्तानसँग भोगेको पराजयबाट पनि एन्फा यो कुराप्रति गम्भीर नदेखिएको प्रस्ट भएको छ ।
विदेशी प्रशिक्षकको प्रशिक्षणबाट मात्र नेपाली फुटबलले फड्को मार्न सक्ने कुरालाई नेपाली खेलाडीले गलत सावित गरिदिएका छन् । पछिल्लो समयमा पाकिस्तानसँगको मैत्रीपूर्ण खेल यसको प्रमाण हो । आफ्नै भूमि र दर्शकसामु नेपाली खेलाडीको प्रदर्शन निराशाजनक र सर्मनाक रह्यो । उनीहरू दुवै खेलमा हारे । जितको त कुरै छोडौँ, पुन: पुरानै पुनरावृत्तिलाई दोहोर्याउँदै एक गोल गर्न पनि असमर्थ भए । गोल गर्न बिर्सिएर जितको कल्पना गर्नु आफ्नैमा मूर्खता हो । तर, एन्फाले हरेक खेलमा यही कुरालाई दोहोर्याइराखेको छ, जुन राष्ट्रको प्रतिष्ठाका लागि निकै प्रत्युत्पादक बन्दै गएको छ । यसको समाधानका लागि एन्फाले फुटबलमा पैसाको खोलो बगाए पनि त्यो सार्थक र परिणमामुखी हुन सकेको छैन । तसर्थ सधैँ यही अक्षमताका कारणले आलोचनाको सिकार भइरहेको एन्फाले नयाँ सूत्रको खोजी गर्नुपर्ने जरुरी भइसकेको छ ।
अहिले नयाँ सूत्रको रूपमा विदेशी प्रशिक्षकको रूपमा ज्याक स्टेफानोस्की देखिए पनि छोटो समयका कारणले उनले नेपाली खेलाडीको प्रतिभा कहाँ लुकेको छ त्यसबारेमा अनविज्ञ छन् भन्दा हुन्छ । उनले अझै खेलाडीको नाडी छाम्न पाएका छैनन् । तसर्थ अहिल्यै उनलाई असफलताको आरोप लगाएर विवादमा तान्न पनि छिटो हुने देखिन्छ । र पनि, यहाँ बिर्सनै नसक्ने कुरा के छ भने एक जुहारीले एकै नजरमा सक्कली–नक्कली छुट्याउन काफी हुन्छ, यसमा उनी अवश्य चुकेका हुन् । स्टेफानोस्कीेकै चुक कारणले नेपाल पाकिस्तानसँग पराजित भएको हो । जसले गर्दा उनको प्रशिक्षणप्रति पनि शङ्का उत्पन्न हुनु स्वाभाविकै हो । पाकिस्तानसँगको खेलमा उनले प्रयोगकर्ताको रूपमा आफूलाई प्रस्तुत गरे पनि अब वास्तविक कमजोरी कहाँ छ त्यो थाहा पाउन जरुरी भइसकेको छ । नयाँ र पुराना खेलाडीको खेल र उनीहरूको प्रदर्शन स्टेफानोस्कीेले देखिसकेका छन् तसर्थ अबको प्रदर्शन अर्थात् हारजितको जिम्मेवारी उनले लिनुपर्नेछ । अन्यथा उनीमाथि पनि तरबार लट्किने प्राय: निश्चित छ ।
सन् २०११ को च्यालेन्ज कपदेखि ०१३ सम्म आइपुग्दा नेपालले बंगलादेशविरुद्ध मात्र एक गोल गर्न सफल भएको छ । यसैबाट के प्रस्ट हुन्छ भने पछिल्लो समयमा अन्तर्राष्ट्रिय खेलमा नेपालको उत्कृष्टता । हालै सम्पन्न मैत्रीपूर्ण खेलमा पाकिस्तानसँग पराजित भएपछि नेपालको साख ह्वात्तै घटेको छ । नेपाल फुटबल खेल्न जानेको तर जित्न नजानेको राष्ट्रका रूपमा चिनिएको छ । यसरी विदेशी भूमिमा नभई आफनै भूमिमा पटकपटक मुसो सावित भएको नेपाली टोलीबाट आउँदो एसीसी च्यालेन्ज कपमा कस्तो प्रदर्शनको आश गर्न सकिन्छ त्यो सोझै अनुमान लगाउन सकिन्छ । खेलाडी तिनै हुन्, पदाधिकारी तिनै हुन्, एउटा विदेश प्रशिक्षकले च्यालेन्ज कपमा च्यालेन्ज त गर्ला तर वैतरणी तराउने कुराचाहिँ सतप्रतिशत असम्भव छ ।
यसपछि नेपाली फुटबलको इतिहासमा अर्को कालो अध्याय थपिने प्राय: निश्चित छ । यसका लागि सम्पूर्ण फुटबलप्रेमीहरूले अहिल्यैदेखि मानसिक रूपमा तयार भएर बस्नु जरुरी भइसकेको छ । किनकि नेपाली दर्शक खेलाडीले जस्तोसुकै झुर खेलेको प्रदर्शन गरे पनि फुटबल हेर्न त रंगशाला पुग्छन् नि । नकचरोको औषधि हुँदैन भनेझैँ नेपाली खेलाडीको पनि कुनै औषधि छैन । तसर्थ यी ओसीएका श्रीकृष्ण पटका कहिले पटकिन्छन् प्रतीक्षा गर्नु नै वेश होला ।
खेलाडी सङ्घको अध्यक्षमा दीपक निर्विरोध
नेपाली खेलाडीको हकहित र उत्थानका लागि लड्दै आएको र थोरै समयमा निकै चर्चा बटुल्न सफल भएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घको अध्यक्षमा दीपक विष्ट निर्विरोध चयन भएका छन् । सङ्घको हालै सम्पन्न तेस्रो साधारणसभाले विष्टको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमितिसमेत निर्विरोध चयन गरेको हो । त्यस्तै पाँच उपाध्यक्षमा दीपक महर्जन, कोसिस खड्का, प्रदीप महर्जन, नयना शाक्य तथा केदारेश्वरमान स्थापित रहेका छन् । महासचिवमा दीपक श्रेष्ठले पुन बाजी मारे भने मन्देकाजी श्रेष्ठले सचिव तथा विनिता महर्जनले कोषाध्यक्षको जिम्मेवारी पाएका छन् ।
यसैगरी राजेन्द्र चन्द, कमलबहादुर अधिकारी, सञ्जय महर्जन, टीकाराम श्रेष्ठ, कान्छीमाया कोजु, सरोज महर्जन, दीपककृष्ण श्रेष्ठ, विकास श्रेष्ठ, दिनेश श्रेष्ठ, शिवसुन्दर गोठे तथा आङबाबु लामा सदस्यमा चयन भएका छन् । उक्त साधारणसभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले उद्घाटन गर्नुका साथै नयाँ पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालका लागि शुभेच्छा प्रकट गरेका थिए ।
दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध चयन भएपछि विष्टले यो सबै टिमवर्कको परिणाम भएको बताए । आफूले खेलाडी सङ्घको जिम्मेवारी सम्हालेदेखि नै खेलाडीको हकहितमा लडेको र त्यसैको पुरस्कारस्वरूप पुन: साथीहरूले आफूलाई अध्यक्ष पदमा निर्विरोध चयन गरेको बताए । त्यस्तै महासचिवमा पुन: निर्विरोध रूपमा चयन भएका दीपक श्रेष्ठले पहिलो कार्यकालमा आफूले गरेको प्रतिबद्धता र खेलाडीको हकहितका लागि उत्कृष्ट कार्य गरेबापत आफ्नो चयन भएको बताएका छन् । श्रेष्ठले यो चयनले अझ जिम्मेवारी र चुनौती थपिएको बताउँदै यो सङ्घलाई खेलाडीको उत्कृष्ट सङ्घ बनाउनेतर्फ सधैँ क्रियाशील बताए । श्रेष्ठले सम्पूर्ण पदाधिकारी निर्विरोध रूपमा चयन हुनुले खेलाडीहरूमा साझा भावना विकास भएको र यसले भविष्यमा खेलाडीको हकहितका लागि लड्न निकै बल पुग्ने धारणा राखेका थिए ।
अध्यक्ष दीपक विष्टले गत कार्यकालमा खेलाडी सङ्घले उत्कृष्ट कार्य गरेको बताउँदै त्यसलाई निरन्तरता दिन सधैँ लागिपर्ने प्रस्ट पारेका छन् । सङ्घले विगतमा मिर्गौला रोगबाट पीडित दिनेश बानियाँ र मन्जु तुलाधारलाई १७–१७ लाख उठाएर सहयोग गरेको विष्टले स्मरण गराएका छन् । त्यस्तै, तेक्वान्दोका अशोक खड्कालाई दुई लाख ५० हजार, स्व. राजु बुढाथोकी, स्व. रञ्जन विष्टलाई ५० हजार र स्व. चित्रबहादुर लामिछाने, स्व. ग्यालजियन लामा र सुरेश गुरुङलाई क्रमश: ३०–३० हजार सहयोग स्वरूप प्रदान गरेको बताए ।
खेलकुदमा खेलाडीहरूको बाहुल्य हुनुपर्ने कुरा दृढ विष्टले अहिले खेलाडी सङ्घ एक सशक्त सङ्घ भएको चर्चा गरेका छन् । विगत चार वर्षको अवधिमा खेलाडीको भत्तामा वृद्धि भएर अहिले ५० डलर पुगेको बताए । पहिले खेलाडीको भत्ता आठ डलरमा मात्र सीमित थियो । खेलाडी अत्यधिक मारमा परेको ठहर गर्दै त्यसपछि सङ्घको पहलमा २० डलर पुर्याएको उनले बताए । हालै मन्त्रिपरिषद्को बैठकले खेलाडीलाई ५० डलर भत्ता दिने निर्णय गरेको सुनाए । यसअघि खेलकुद पदाधिकारी सय डलर दैनिक भत्ता पाउँथे भने खेलाडी मात्र आठ । यसरी जमिन–आकाशको दूरीलाई अन्त्य गर्न सङ्घको प्रयासले रङ देखाएको विष्टले दाबी गरेका छन् ।
त्यस्तै यो अवधिमा खेलाडीको हकहितका लागि सङ्घले प्लाटियन कार्ड, गोल्ड कार्ड र सिल्भर कार्डको व्यवस्था गरेको छ । आउँदा दिनमा ती कार्ड शिक्षा, स्वास्थ्य, यातायात र विभिन्न क्षेत्रमा सुविधा र सहुलियतका लागि सरकार र सम्बन्धित निकायसँग पहल गर्ने बताए । साथै खेलाडी अक्षयकोषको विधिवत् रूपमा सञ्चालन गरेर अगाडि बढाएको र आगामी दिनमा त्यसमा रकम वृद्धिका लागि प्राइभेट सेक्टर, एनआरएन र उद्योग व्यवसायीसँग सम्बन्ध प्रगाढ गरेर अघि बढ्ने सङ्घको योजना रहेको विष्टले जानकारी गराएका छन् ।
सीडब्लूसीएन जुडोमा पाम टिम च्याम्पियन
सडक बालबालिकाको हितमा काम गर्दै आइरहेको संस्था बाल वातावरण केन्द्र नेपालको आयोजनामा ‘सीडब्लूसीएन जुडो कप, प्रथम अखिल नेपाल जुडो च्याम्पियनसिप– २०६९’ हालै सम्पन्न भएको छ । संस्थाको स्थापनाकालको एक दशक पूरा गरेको उपलक्ष्यमा दशक वर्षको रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको र समापनको रूपमा जुडो प्रतियोगिता आयोजना गरिएको संयोजक धर्मकुमार श्रेष्ठले बताएका थिए । नेपाल जुडो सङ्घको प्राविधिक सहयोगमा माघ २७ र २८ गते दुई दिनसम्म नयाँपाटी सुन्दरीजलमा प्रतियोगिता सञ्चालन भएको थियो । उक्त प्रतियोगितामा विभिन्न जिल्ला, डोजो, विद्यालय, कलेज र सङ्घसंस्थाका गरी ४० टिमका तीन सय ५० खेलाडीले सहभागिता जनाएका थिए ।
च्याम्पियनसिपको पुरुष फाइनल २५ केजीतर्फ पामका महेश श्रीवास्तवले बाल विकास मण्डलका जनक तामाङलाई पराजित गरेर स्वर्ण जितेका थिए । त्यस्तै, ३५ केजीतर्फ ओसिडका रूपेश शाहीले होपाडका लक्ष्मण जीसीलाई पाखा लगाउँदै स्वर्ण हात पारेका थिए । ४५ केजीतर्फ बाल विकासका इन्द्रबहदुर श्रेष्ठले ओसिडका दिनेश मल्ललाई पराजित गर्दै स्वर्ण पदक आफ्नो झोलीमा हालेका थिए । यसैगरी ५५ केजीतर्फ श्रमजित स्कुलका नितेश राईले सीडब्लूसीएनका दिनेश मगरलाई पराजित गरी स्वर्ण जितेका थिए । त्यस्तै खुलातर्फ एन होराइजनका अलानुर अन्सारीले सीडब्लूसीएनका राजकुमार तामाङलाई पाखा लगाएर स्वर्ण जितेका थिए ।
यसैगरी ३० केजीतर्फ पामका सुबोध मण्डलले आफ्नै सहोदर भाइ प्रमोद मण्डललाई पराजित गरेर स्वर्ण पदक जितेका थिए । ४० केजीतर्फ पामका रोशन दोङले होपाडका निशान लिम्बूलाई पराजित गरेका थिए भने ५० केजीतर्फ सीडब्लूसीएनका अनिल तामाङले आफ्नै सहपाठीलाई पराजित गरी स्वर्ण जितेका थिए । ६० केजीतर्फ हिमपोवा कार्कीले एमएमएसीका सूर्य घलेलाई पराजित गरी स्वर्ण हात पारेका थिए ।
यसैगरी महिला फाइनल ३२ केजीतर्फ पामकी देवकीमाया श्रेष्ठले बाल विकासकी निशा यादवलाई पराजित गर्दै स्वर्ण जितेकी थिइन् । ४० केजीतर्फ होपाडकी पुष्पा भण्डारीले लोटसकी बेनुका किल्लालाई पराजित गरेकी थिइन् । ४८ केजीतर्फ सीडब्लूसीएनकी सीता सार्कीले आफनै साथी सिम्रिका तामाङलाई पराजित गरेर स्वर्ण जितेकी थिइन् । त्यस्तै, ५७ केजीतर्फ नेपाल युवक स्कुलकी सन्तोषी खनालले एमएमएसीकी आरती बानियाँलाई पराजित गरी स्वर्ण जितिन् । २८ केजीतर्फ वान्डी हाउसकी अनिता श्रेष्ठ, ३६ केजीमा पामकी स्वस्तिका सुवेदी, ४४ केजीमा निशा नेपाली, ५२ केजीमा मनिता प्रधान र खुलातर्फ पुनम श्रेष्ठले स्वर्ण पदक जितेका थिए ।
कुल १४ स्वर्ण पदकका लागि भएको भिडन्तमा पामले ६ स्वर्ण र दुई रजत जितेर टिम च्याम्पियन बनेको थियो । त्यस्तै होपाडले दुई स्वर्ण, तीन रजत र दुई कास्य पदक जितेर दोस्रो स्थान हासिल गरेको थियो भने आयोजक सीडब्लूसीएनले दुई स्वर्ण, एक रजत जितेर तेस्रो भएको थियो । च्याम्पियनसिपमा पुरुषतर्फको वेस्ट प्लेयरको उपाधि सञ्जय घिसिङले र महिलातर्फको वेष्ट प्लेयरको उपाधि मनिता प्रधानले जितेका थिए । प्रतियोगितामा उत्कृष्ट प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमश: रु. पाँच हजार, तीन हजार र दुई हजार नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । साथै उत्कृष्ट एक/एक पुरुष तथा महिला खेलाडीलाई नगद रु. एक हजार प्रदान गरिएको थियो ।
राष्ट्रिय कबड्डीको उपाधि प्रहरी र आर्मीलाई
दुई विभागीय टोली नेपाल प्रहरीले १३औँ महिला तथा नेपाल आर्मीले १९औँ पुरुष राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको महिलाको फाइनलमा प्रहरीले आर्मीमाथि ११–१० को सङ्घर्षपूर्ण जित निकालेको थियो । सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल संयुक्त रूपमा तेस्रो भए । त्यस्तै अखिल नेपाल कबड्डी सङ्घद्वारा आयोजित प्रतियोगिताको पुरुषको उपाधि भिडन्तमा आर्मीले पश्चिमाञ्चललाई ३५–१८ ले पाखा लगाएको थियो । मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चल तेस्रो स्थानमा रहेका थिए ।
सेमिफाइनलमा प्रहरीले सुदूरपश्चिमाञ्चललाई ४१–६ तथा आर्मीले मध्यपश्चिमाञ्चलाई २९–१० ले पराजित गरेर फाइनलमा प्रवेश गरेका थिए । त्यस्तै पुरुषतर्फ पश्चिमाञ्चल र आर्मीले फाइनलमा स्थान पक्का गरेका थिए । सेमिफाइनलमा पश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई २५–१८ तथा आर्मीले साविक विजेता मध्यमाञ्चललाई २२–२० ले पाखा लगाएको थियो । कुल एक लाख पुरस्कार रहेको राष्ट्रिय कबड्डी प्रतियोगितामा पुरुष तथा महिलाका विजेताले २५–२५ हजार तथा उपविजेताले १५–१५ हजार नगद पुरस्कार हात पारेका थिए । तेस्रो हुने चारै टिमले समान ५–५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । पुरुषमा आर्मीका जय बोहोरा तथा महिलामा प्रहरीकी नेत्र थापा उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
तीनदिने प्रतियोगिताअन्तर्गत पुरुषमा पाँच विकास क्षेत्र र आर्मी गरी ६ टिम सहभागी थिए । महिलामा प्रहरी, आर्मी र चार विकास क्षेत्र (पश्चिमाञ्चलबाहेक) सहित ६ टिमले प्रतिस्पर्धा गरेका थिए । विजेतालाई राखेप सदस्यसचिव युवराज लामा, कबड्डी सङ्घका अध्यक्ष लालकुमार लामालगायतले पुरस्कृत गरेका थिए । राष्ट्रिय कबड्डी प्रतियोगिता सफलताका साथ सम्पन्न भएपछि संघका अध्यक्ष लामाले यसलाई ऐतिहासिक संज्ञा दिएका छन् । सबै खेलाडीले अनुशासित र उत्साहित भएर प्रतिस्पर्धा गरेका कारण कबड्डि खेलको विकासमा नयाँ आयम थपिएको उनले दाबी गरे ।
निर्मल र निरञ्जन विवाहबन्धनमा
पाकिस्तानमा सम्पन्न नवौँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा तेक्वान्दोतर्फ स्वर्ण पदक विजेता निर्मल श्रेष्ठ तथा निरञ्जन श्रेष्ठ हालै विवाहबन्धनमा बाँधिएका छन् । निर्मलको बिना श्रेष्ठ र निरञ्जनको अनिता सुवालसँग विवाह भएको हो । निर्मल, निरञ्जन सहोदर दाइभाइ हुन् । यी दुई दाजुभाइले पाकिस्तानमा नेपाललाई तेक्वान्दोमा स्वर्ण पदक जिताएर मुलुकको मान, सम्मान र प्रतिष्ठा बढाउनमा अहम् भूमिका निभाएका थिए ।
न्युटन र न्यु डायमन्डलाई छुनुमुनु कप
आयोजक न्युटन हाइस्कुलले पाँचौँ न्युटन छुनुमुनु कप अन्तरविद्यालय भलिबल प्रतियोगिताअन्तर्गत ब्वाइजको उपाधि जितेको छ । बालुवाटारमा भएको फाइनलमा न्युटनले एपोलो इन्टरनेसनल एकेडेमीलाई सीधा सेटमा २५–२०, २५–१८, २३–२५ र २५–१८ ले पराजित गरेको थियो । त्यस्तै मनास्लुले सामाखुसी इंग्लिस बोर्डिङ (सेब) स्कुललाई २५–१३, २५–११ र २५–२१ को सोझो सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको थियो । यसअघि गल्र्समा न्यु डायमन्ड ‘ए’ पहिलो भएको थियो ।
गल्र्सतर्फ व्यक्तिगत विधाको सबै उत्कृष्टको पुरस्कार न्यु डायमन्ड ‘ए’ का खेलाडीले कब्जा गरे । उत्कृष्ट स्पाइकरको उपाधि हात पारेकी प्रतिभा माली उत्कृष्ट खेलाडी घोषित भइन् भने सेटरमा कृपा अधिकारी, ब्लकरमा लालिता नाथ तथा सर्वरमा पनामिका राई उत्कृष्ट चुनिएका थिए । ब्वाइजमा न्युटनका विष्णु अधिकारी उत्कृष्ट खेलाडी चुनिँदा स्पाइकरमा एपोलोका रेसम छन्त्याल, सेटरमा न्युटनका डोर घर्ती, ब्लकरमा मनास्लुका गणेश थापा तथा सर्वरमा न्युटनका दिल सुनार उत्कृष्ट ठहरिए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिना, काठमाडौं प्याब्सनका अध्यक्ष गोपाल आचार्यलगायतले पुरस्कार प्रदान गरेका थिए । चारदिने प्रतियोगिताको ब्वाइज र गल्र्समा समान १०–१० टिमले प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया