नेपालले ओलम्पिकमा छोटो समयमै पदक जित्न सक्छ

नेपालले ओलम्पिकमा छोटो समयमै पदक जित्न सक्छ


sport-क्वान योङदल (कोरियन तेक्वान्दो प्रशिक्षक)
नेपालमा तेक्वान्दो खेलको समग्र विकासका लागि कोरियन प्रशिक्षक क्वान योङदल विगत डेढ दशकदेखि अहोरात्र खटेर लागेका छन् । सन् १९९८ मा नेसनल पुलिस एकेडेमीको निमन्त्रणामा नेपाल आएका क्वानले त्यसपछि पुलिस क्लब र राष्ट्रिय तेक्वान्दो खेलाडीलाई प्रशिक्षण दिँदै आएका छन् । पाकिस्तानमा सम्पन्न नवौँ सागमा तेक्वान्दोका मुख्य प्रशिक्षक रहेका क्वानले त्यसबेला नेपाललाई सात स्वर्ण दिलाएर चर्चामा आएका थिए । उक्त सागमा नेपालले आठ स्वर्ण जितेकोमा सात स्वर्ण तेक्वान्दोकै थिए । २००४ को एथेन्स ओलम्पिकमा नेपाली खेलाडीलाई छनोट चरण पार गराउन क्वानले महत्वपूर्ण भूमिका खेलेका थिए । जुन दक्षिण एसियाली मुलुकका लागि प्रेरणा बनेको छ । यसरी अहिले पनि तेक्वान्दो विकासमा समर्पित भएर लागेका र नेपाललाई अन्तर्राष्ट्रिय पदक दिलाएर नेपालको झण्डा अन्तराष्ट्रियस्तरमा फहराउने सपना देखेका चर्चित कोरियन प्रशिक्षक क्वान याङदलसँग तेक्वान्दोका विविध पक्षबारे गरिएको कुराकानी :
० वर्तमान अवस्थामा तेक्वान्दो खेललाई कसरी हेर्नुभएको छ, अन्तर्राष्ट्रियस्तरमा सम्भावित पदक जित्ने खेलको तयारी र प्रशिक्षण कस्तो हुनुपर्छ जस्तो लाग्छ ?
– मैले तेक्वान्दो खेललाई निकै गम्भीर रूपमा हेरेको छु । अहिले अन्तर्राष्ट्रियस्तरमा तेक्वान्दोको नियम परिवर्तन भएकोले सोहीअनुरूप खेलाडीलाई प्रशिक्षण दिइरहेको छु । अर्को कुरा राष्ट्रियभन्दा अन्तर्राष्ट्रियस्तरमा खेलाडीलाई प्रशिक्षणको आवश्यकता रहेको मैले महसुस गरेको छु । सन् २०२० मा ब्राजिलमा आयोजना हुने ओलम्पिकमा तेक्वान्दोलाई अफिसियल गेमको मान्यता प्राप्त भएकाले यसको प्रशिक्षण पनि सोही रूपमा हुनुपर्छ । यतिबेला तेक्वान्दोलाई रोमाञ्चक र सनसनीपूर्ण खेलको रूपमा विकास गर्ने क्रममा प्वाइन्ट, जज र भिडियो रिप्लेको व्यवस्था भएको छ, जसले तेक्वान्दोको सम्पूर्ण खेल स्क्रिनमा देख्न सकिने भएको छ । जहाँसम्म तयारी र प्रशिक्षणको कुरा छ, राष्ट्रियस्तरमा एक प्वाइन्टका लागि प्रशिक्षण दिइरहेको छ जुन अब पुरानो भइसकेको छ । अब हामीले खेल जित्नका लागि तीन प्वाइन्टका लागि प्रशिक्षण गराउनुपर्छ । पहिले रक्षात्मक तयारीले खेलाइन्थ्यो भने अब आक्रामक रूपमा खेलाउनुपर्छ । त्यसका लागि दैनिक प्रशिक्षण गरेर स्टेमिना बढाउनुपर्छ ।
० आठौँ सागपछि तेक्वान्दोको स्तर खस्किँदै गएको छ, नेपालमा लामो समयदेखि तेक्वान्दोको प्रशिक्षण गराइरहेको नाताले यस्तो हुनुलाई कसलाई दोषी ठान्नुहुन्छ ?
– दक्षिण एसियाली मुलुकहरूमा नेपालमा सबैभन्दा पहिले तेक्वान्दोको विकास र विस्तार भएको हो । अन्य मुलुकले अन्तर्राष्ट्रिय प्रतियोगितासमेत नखेलेको अवस्थामा नेपालले एसियनस्तरको गेम खेलिसकेको थियो । तसर्थ आठौँ साफमा नेपाललाई चुनौती दिने अर्को राष्ट्र नभएकाले १५ वटा स्वर्ण पदक जितेको हो । तर, अहिले अन्य देशमा पनि तेक्वान्दोको विकास तिव्र रूपमा भएको छ । तेक्वान्दोको यति छिटो विकास हुनुमा साग, एसियन र ओलम्पिक गेममा समावेश हुनुले हो । त्यसैले अहिले कोरियन खेलाडीले मात्रै नभई अफगानिस्तान, इरान र चाइनिज ताइपेईले ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गरेर स्वर्ण पदक जितेको इतिहास हाम्रोसामु छ । कोरियामा तेक्वान्दोको जन्म भए पनि पहिले ओलम्पिकमा स्वर्ण पदक पक्का भए पनि अहिले छैन । अहिले अन्य देशले पनि राम्रो खेलाडी उत्पादन गरेका छन्, नेपालमा पनि यस्तै भएको हो ।
० नेपालका तेक्वान्दो खेलाडीले ओलम्पिक छनोट चरणसमेत पार गरिसकेका छन्, ओलम्पिकमा समेत प्रतिस्पर्धा गरिसकेका छन्, अहिले दक्षिण एसियाली प्रतियोगिता ‘साग’मा समेत सोचेअनुरूप प्रदर्शन गर्न नसक्नुलाई कसको असफलता ठान्नुहुन्छ ?
– मैले सधैँ भन्ने गरेको छु, सागमा स्वर्ण पदक जित्न नेपालमा मात्रै प्रशिक्षण गरेर हुँदैन । यसका लागि विदेशमा गएर आफूभन्दा उत्कृष्ट र राम्रो खेलाडीसँग प्रशिक्षण गर्नुपर्छ । हामीले विदेशमै गएर विश्वस्तरीय खेलाडीसँग ट्रेनिङ गराएकाले साग र एसियन गेममा पदक जितेको हो । अझ अहिले तेक्वान्दो निकै फास्ट गेम भइसकेकोले त्यसको प्रशिक्षण पनि सोहीअनुरूप हुनुपर्छ । राष्ट्रियस्तरमा कमजोर खेलाडीसँग खेलाडीहरूको किक लागे पनि अन्तर्राष्ट्रियस्तरमा किक नै लागेन । हाम्रा खेलाडीको त्यहाँ टाइमिङ नै मिलेन । उनीहरूले त्यसलाई क्याच नै गर्न सकेनन् । यसका लागि टे«निङ पार्टनर आफूभन्दा राम्रो हुनुपर्छ, त्यसपछि मात्र स्पिड बढ्छ र हाम्रो खेलाडीको प्रदर्शनमा सुधार आउँछ ।
० सविता राजभण्डारी, संगीना वैद्य र दीपक विष्टले तेक्वान्दोलाई शिखरमा पु¥याए पनि अन्य खेलाडीले त्यस्तो उत्कृष्ट प्रदर्शन गर्न नसक्नुको कारण के हो, के अब तेक्वान्दोले फेरि त्यस्ता प्रभावशाली खेलाडी जन्माउन सक्तैन ?
– सविताको बारेमा मलाई त्यति राम्रोसँग थाहा छैन । किनकि म त्यसबेला नेपालमा आएको थिइनँ । जहाँसम्म संगीना र दीपकको कुरा छ, उनीहरूले सानै उमेरदेखि तेक्वान्दो खेलेकाले यति ठूलो सफलता हात पारेका हुन् । मैले पहिलोपटक सन् १९९९ मा हङकङमा भएको एसियन च्याम्पियनसिपमा संगीना, मेनुका र दीपकलाई लिएर गएको थिएँ । त्यो च्याम्पियनसिपमा संगीना र मेनुकाले कास्य पदक जितेका थिए । यो सफलतासँगै तेक्वान्दो खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्ले सहयोग गर्नुको साथै कोरियामा पनि थुप्रैपटक प्रशिक्षण गर्न पाएको थियो । यसरी निरन्तर वैदशिक प्रशिक्षणले गर्दा नेपाली खेलाडीले साग र एसियन गेममा उत्कृष्ट प्रदर्शन गरेका थिए भने ओलम्पिकमा छनोट हुन सफल भएका थिए । जहाँसम्म भविष्यका उत्कृष्ट खेलाडीको कुरा छ, त्यसका लागि जबसम्म जुनियर खेलाडी तयार हुँदैनन् तबसम्म पुन: यस्ता खेलाडी तयार हुन सक्तैनन् । यसका लागि नेपाल तेक्वान्दो सङ्घ सर्वप्रथम जुनियर खेलाडी तयार पार्ने काममा लाग्नुपर्छ । एउटा राम्रो खेलाडी तयार पार्न कम्तीमा पनि १० देखि १५ वर्ष लाग्छ । त्यसैले अन्तर्राष्ट्रियस्तरमा पदक जित्न १० वर्षको अनुभव कम्तीमा चाहिन्छ ।
० नेपाललाई पहिलेकै स्थितिमा पु¥याउन के गर्नुपर्ला जस्तो लाग्छ, त्यसका लागि स्वदेशी र विदेशी प्रशिक्षकको भूमिका कस्तो हुनुपर्छ जस्तो लाग्छ ?
– कुनै पनि खेलाडीलाई अन्तर्राष्ट्रियस्तरको बनाउन स्वदेशी र विदेशी प्रशिक्षकको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ । विदेशी प्रशिक्षकले खेलाडीलाई स्किलफुल बनाउन मुख्य योगदान दिएको हुन्छ भने स्वदेशी प्रशिक्षक आफ्ना खेलाडीको वास्तविकतासँग परिचित हुन्छन् । खेलाडीको कमोजोरी के हो ? टे«निङ गर्दाको समस्या के हो ? स्किल के हो ? त्यो स्वदेशी प्रशिक्षकले बढी बुझेका हुन्छन् । यसर्थमा उनीहरूले लामो समयदेखि खेलाडीलाई टे«निङ दिनुको साथै उनीहरूको समस्या बुझेका हुन्छन् । तर, विदेशी प्रशिक्षकहरूले छोटो समयमा त्यो कुरा बुझेका हुँदैनन् । यसैले स्वदेशी र विदेशी प्रशिक्षकको सहकार्यले मात्रै राम्रो खेलाडी उत्पादन हुन्छ ।
० तपाईंलाई तेक्वान्दो खेलको समग्र विकासका लागि प्रशिक्षणको जिम्मेवारी दिइयो भने स्वीकार्नुहुन्छ ? त्यसपछि आफ्नो प्रशिक्षण कहाँबाट शुभारम्भ गर्नुहुन्छ ?
– नेपालमा विदेशी प्रशिक्षकलाई त्यस्तो पदमा बसेर काम गर्न निकै गाह्रो छ । सर्वप्रथम आर्थिक अवस्था बुझ्नुपर्छ । जिम्मेवारी लिँदैमा, स्किल दिँदैमा मुख्य प्रशिक्षकको भूमिका निर्वाह हुँदैन । त्यसका लागि नेपाली प्रशिक्षकहरूसँग सहकार्य गरेर जानुपर्छ । नेपालमा कोरियन तेक्वान्दोको स्टाइल होइन, नेपालको स्टाइलको विकास हुनुपर्छ । यो अहिलेको विश्वव्यापी मान्यता पनि हो । त्यसपछि मात्रै सफलता हात लाग्छ ।
० तपाईं विश्व तेक्वान्दो मुख्यायलको प्रशिक्षक भएको नाताले विश्व तेक्वान्दो महासङ्घ (डब्लूटीएफ) र कुकिवनको सम्बन्ध र भूमिकाबारे प्रस्ट पारिदिनुहोस् न ?
– विश्व तेक्वान्दो फेडेरेसन (डब्लूटीएफ) ले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) अन्तर्गत रहेर तेक्वान्दो खेल विश्वभर सञ्चालन गर्छ । वास्तविक रूपमा भन्नुपर्दा यही नै तेक्वान्दोको अन्तर्राष्ट्रिय मान्यता प्राप्त आधिकारिक संस्था हो । डब्लूटीएफमार्फत ओलम्पिक, वल्र्ड च्याम्पियनसिप, एसियन गेम, एसियन च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुद (साग) सञ्चालन हुन्छ । कुकिवन भनेको वल्र्ड तेक्वान्दोको हेडक्वाटर मात्रै हो । त्यसले विश्वका प्रशिक्षकहरूलाई प्रशिक्षण दिने, डान सर्टिफिकेट प्रदान गर्ने र तेक्वान्दोको इतिहास र वर्तमानबारे जानकारी दिने मात्र हो । साथै कुकिवनले तेक्वान्दोको विकासका लागि विश्वभरि डेमोस्टे«सन ग्रुप र इस्ट्रक्टर पठाउने कार्य पनि गर्दछ ।
० अहिले तेक्वान्दोमा पनि विवाद देखिएको छ, अर्थात् तेक्वान्दोजस्तै अन्य सङ्घ पनि जन्मिएका छन्, यी सङ्घहरूलाई डब्लूटीएफले हेर्ने दृष्टिकोण र आधिकारिक धारणा के हो ?
– डब्लूटीएफ भनेको आईओसीअन्तर्गतको संस्था हो । त्यसअन्तर्गतको सङ्घ भनेको नेपाल तेक्वान्दो सङ्घ मात्र हो किनकि त्यसलाई राष्ट्रिय खेलकुद परिषद् र आईओसीको मान्यता प्राप्त छ । त्यसैले अर्को सङ्घ अफिसियल गेमको रूपमा त्यसभित्र छिर्न सक्तैन । एउटा देशमा दुईवटा सङ्घ कदापी हुँदैन र राष्ट्रियस्तरमा जतिवटा सङ्घ भए पनि त्यसले अन्तर्राष्ट्रिय मान्यता पाउँदैन । जसरी राखेप र एनओसी दुईटा हुन सक्तैन त्यस्तै हो यो पनि ।
० नेपाल तेक्वान्दो सङ्घसँग तपाईंको सम्बन्ध र सहकार्य कस्तो छ, तपाईंलाई सङ्घले ओलम्पिक, एसियन च्याम्पियनसिप र साग गेममा प्रशिक्षक बनाएको थियो, अहिले यो सम्बन्धले निरन्तरता पाएको छ कि छैन ?
– तेक्वान्दो सङ्घसँग मेरो सुमधुर सम्बन्ध हिजो पनि थियो आज पनि छ । सङ्घसँग राम्रो सम्बन्ध भएन भने रिजल्ट राम्रो आउँदैन । म यहाँ आएको कारण नेपालमा तेक्वान्दो खेल कसरी विकास हुन्छ भनेर हो । मेरो चाहना भनेको तेक्वान्दोमा नेपाललाई अन्तर्राष्ट्रिय पदक जिताएर नेपालको मान, सम्मान र गौरव बढाउने र चिनाउने हो । त्यसका लागि म सधैँ प्रयासरत रहनेछु ।
० तेक्वान्दो सङ्घले तेक्वान्दो खेलको विकासका निम्ति बनाएको दीर्घकालीन योजना र पाएको सफलतालाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?
– योभन्दा राम्रो हुनका लागि स्कुल लेवलमा तेक्वान्दो खेलको विकास गरी जुनियर खेलाडीको उत्पादन गर्नुपर्छ । त्यसपछि निरन्तर टे«निङ र प्रतिस्पर्धा भयो भने मात्र उत्कृष्ट खेलाडी जन्मिन सक्छ । जुनियर खेलाडी राम्रो भयो भने पदकको आशा गर्न सकिन्छ । अहिले राखेपको स्कुल लेवलबाट खेलकुदको विकास गर्ने योजना एकदमै राम्रो छ । यसले भविष्यमा राम्रो खेलाडी उत्पादन हुने मैले ठानेको छु । तर, यहाँ पुरानै बूढो खेलाडीलाई छनोट गरेर खेलाउने चलन छ, यसले कदापी अन्तर्राष्ट्रियस्तरमा पदक जित्न सकिँदैन ।
० तेक्वान्दो खेलको विकासका लागि राखेप र नेपाल सरकारबाट कस्तो अपेक्षा गर्नुभएको छ ?
– तेक्वान्दोको मात्र नभई कुनै पनि खेलको विकासका निम्ति राखेप र नेपाल सरकारले विशेष भूमिका निभाउनुपर्छ । राम्रो रिजल्ट ल्याउनका लागि निरन्तर रूपमा अन्तर्राष्ट्रिय ट्रेनिङ हुनुपर्छ । खेलाडीको खाने, बस्ने र स्वास्थ्यका लागि उचित प्रबन्ध हुनुपर्छ । त्यसपछि राम्रो खेलाडी छनोट गरेर राष्ट्रिय रूपमा टे«निङ गराउँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गराउनुपर्छ । त्यसपछि मात्र खेलाडीको खेलस्तरबारे जान्न सकिन्छ । त्यो खेलाडीले विदेशी खेलाडीलाई जित्न सक्छ कि सक्तैन थाहा हुन्छ । आफूभन्दा राम्रो खेलाडीसँग टे«निङ नगर्दा अन्य खेलाडीबारे जान्ने अवसर प्राप्त हुँदैन । ग्वानझाउ एसियाडमा मनिता पराजित हुनुको कारण पनि यही हो । यदि त्यो खेलाडीको रणनीतिबारे थाहा भएको भए प्रशिक्षकलाई खेलाउन र खेलाडीलाई खेल्न सजिलो हुन्थ्यो ।
० कोरियन सरकारले स्वास्थ्य र शिक्षालगायत विभिन्न क्षेत्रमा नेपाललाई सहयोग गर्दै आएको छ, तेक्वान्दो कोरियाको राष्ट्रिय खेल भएको नाताले यो विशेष प्राथमिकतामा पर्नुपर्ने होइन र ?
– कोरियाले नेपालमा तेक्वान्दो खेलको विकासका लागि इन्स्ट्रकरका साथै खेलकुदका सामग्री प्रदान गर्दै आएको सबैलाई ज्ञात भएकै कुरा हो । अहिले नेपालका लागि शिक्षा र स्वास्थ्य खेलकुदभन्दा पनि महत्वपूर्ण भएकोले कोरियन सरकारले यिनै क्षेत्रलाई विशेष सहयोग गर्दै आएको छ र भविष्यमा पनि गर्नेछ । जहाँसम्म तेक्वान्दोको कुरा छ, त्यसका लागि कोरियाले थप सहयोग र सहकार्य गर्दै जानेछ ।
० अन्त्यमा, नेपालमा तेक्वान्दो खेलको भविष्य कस्तो देख्नुभएको छ, के नेपाली खेलाडीले साग, एसिएनझैं ओलम्पिकमा पनि पदक जित्न सक्लान् ?
– नेपाली तेक्वान्दोको अन्तर्राष्ट्रिस्तमा तुलना गर्ने हो त्यसमा सानो ग्याप मात्र छ, ठूलो छैन । तर, यहाँ यो सत्यताप्रति कसैको ध्यान गएको छैन र सहयोग गरेको पनि छैन । सरकारको पनि यसमा विशेष ध्यान दिएको छैन । यहाँ त खालि पदक जित्ने कुरा मात्र गरिन्छ । पदक जित्नका लागि के–के गर्नुपर्छ त्यसबारे कसैलाई मतलब छैन । तसर्थ यसका लागि तेक्वान्दो सङ्घ, राखेप र सरकारले विशेष ध्यान दिनु जरुरी छ ।
अर्को कुरा अफगानिस्तानजस्तो देशले ओलम्पिकमा स्वर्ण पदक जित्न सक्छ भने नेपालले पनि पदक जित्न सक्छ । तर, त्यसका लागि सबैको तालमेल मिल्नु र सहकार्य हुनु अत्यन्त जरुरी छ । पदक जित्नका लागि के गर्नुपर्छ भन्ने कुरालाई विशेष प्राथमिकतामा राख्नुपर्छ । पहिले ल्याएको पदक फेरि ल्याउँछ भनेर आँखा चिम्लेर बस्नु हुँदैन । त्यसका लागि अझै टे«निङ, सपोर्ट र इच्छाशक्ति हुनु आवश्यक छ ।
० त्यसो भए कहिलेसम्म ओलम्पिक पदकको ठोकुवा गर्न सक्नुहुन्छ ?
– आपसी सहकार्य र तालमेल भयो भने नेपालले ओलम्पिकमा छोटो समयमै पदक जित्न सक्छ । यसमा म दाबी गर्छु ।

हेमन्तलाई पितृशोक
नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव हेमन्त काफ्लेका पिता केन्द्रराज काफ्लेको दु:खद् निधन भएकोमा नेपाल दक्षिण एसियाली खेलकुद पत्रकार सङ्घले शोकसन्तप्त परिवाप्रति हार्दिक समवेदना प्रकट गरेको छ । निमोनियाबाट पीडित काफ्लेको ७७ वर्षको उमेरमा उपचारका क्रममा किस्ट अस्पतालमा गत बुधबार निधन भएको थियो । सङ्घले मृतात्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।

गोल्डेन स्प्रिन्ट मिट हुने
नेपाल एमेच्योर एथलेटिक्स सङ्घ तथा काठमाडौं रोड रनर्स क्लब अल्मुनाइको संयुक्त आयोजनामा दोस्रो गोल्डेन स्प्रिन्ट मिट फागुन १३ गते हुने भएको छ । पुरुष र महिलामा समान ५–५ गरी १० स्पर्धामा प्रतिस्पर्धा हुने एथलेटिक्स सङ्घका महासचिव सुनील राजवंशीले जनाएका छन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

विश्व कुङ्फु विजेता सम्मानित
हङकङमा भएको दोस्रो विश्व टप कुङ्फु प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई नेपाल कुङ्फु सङ्घले सम्मान गरेको छ । २४ राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपाल ६ स्वर्ण, ६ रजत र दुई कास्यसाथ उत्कृष्ट टिम चुनिएको थियो । माघ १२ देखि १४ गतेसम्म भएको प्रतियोगिताको पुरुषतर्फ विभिन्न स्पर्धामा सञ्जय महर्जनले दुई स्वर्ण र एक रजत, हेमन्त महर्जनले एक स्वर्ण र तीन रजत, राजकुमार लामाले एक स्वर्ण, सुकमान लामाले एक रजत, जोन बुढामगरले एक रजत तथा प्रदीप श्रेष्ठ र शुभराम मुनाकर्मीले १–१ कास्य जितेका थिए । महिलामा मिङमा लामा र प्रिया गुरुङले आ–आफ्नो स्पर्धामा स्वर्ण हात पारेका थिए । टिम संयोजक राजेश्वरमान स्थापित, अफिसियल राजेश तामाङ, टिम प्रशिक्षक चन्द्र महर्जन र सीताराम हुमागाईं पनि सम्मानित भए ।

बुढानीलकण्ठलाई राष्ट्रपति रनिङ सिल्ड
बुढानीलकण्ठ स्कुलले काठमाडौं जिल्लाव्यापी माध्यमिक विद्यालयस्तरीय चौथो राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । एथलेटिक्स र भलिबल गरी दुई खेल समावेश प्रतियोगितामा बुढानीलकण्ठ एक सय ८४ अङ्कका साथ समग्रमा च्याम्पियन बनेको हो । त्यस्तै
एक सय ६९ अङ्कका साथ विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय दोस्रो भएको थियो भने तेस्रो स्थानमा रहेको दीपज्योतिले एक सय ३० अङ्क जोडेको थियोे ।
एथलेटिक्समा पनि बुढानीलकण्ठ, विजेश्वरी र दीपज्योति नै क्रमश: शीर्ष तीन स्थानमा रहेका थिए । शीर्ष तीन स्थान हात गर्नेले क्रमश: १० हजार, सात हजार र पाँच हजार नगद पुरस्कार हात पारे । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको एथलेटिक्सतर्फ ज्याभ्लिन थ्रोको छात्रामा विजेश्वरीकी टीका राम्जाली मगर र छात्रमा बुढानीलकण्ठ स्कुलका चन्दन मल्लिक, पाँच हजार मिटर दौडको छात्रामा विजेश्वरीकी संगीता खड्का, चार सय मिटर दौडको छात्रमा बुढानीलकण्ठका आयुश कुँवर र छात्रामा विजेश्वरीकी अनिता थापा, हाइजम्पको छात्रमा बुढानीलकण्ठका सम्मानविक्रम थापा र छात्रामा विजेश्वरीकी कुशुम श्रेष्ठ तथा ४ गुणा १ सय मिटर रिलेको छात्रमा बुढानीलकण्ठ तथा छात्रामा विजेश्वरी पहिलो भएका थिए ।

वाइल्ड वाटर स्लालममा माधव विजयी
पहिलो वाइल्ड वाटर स्लालम कायक च्याम्पियनसिपमा माधव कटवाल पहिलो भएका छन् । उनले निर्धारित दुई सय मिटर दूरी दुई मिनेट ०.५ सेकेन्डमा पूरा गरेका थिए । नेपाल ¥याफ्टिङ एन्ड क्यानोइङ सङ्घद्वारा आयोजित प्रतियोगितामा राजीप त्रिपाठी दोस्रो तथा प्रकाश गुरुङ तेस्रो स्थानमा रहे । निर्धारित दूरी पूरा गर्न राजीपले दुई मिनेट १४ सेकेन्ड तथा प्रकाशले दुई मिनेट १५ सेकेन्ड समय खर्चेका थिए । त्रिशूली नदीको फिस्लिङ (चितवन) मा भएको एकदिने प्रतियोगितामा १५ प्रतिस्पर्धी सहभागी थिए । प्रतियोगिताको नारा ‘स्पोर्टस् फर टुरिजम’ रहेको थियो ।

भलिबलमा न्युटन र न्यु डाइमन्डले बाजी मारे
काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको भलिबलतर्फ छात्रमा न्युटन हाइस्कुल तथा छात्रामा न्यु डायमन्ड एकेडेमी पहिलो भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको छात्रको फाइनलमा न्युटनले मनास्लुलाई २५–१६, २५–२३ र २५–१५ को सोझो सेटमा पराजित गरेको थियो । त्यस्तै एपोलोले दीपज्योतिमाथि २५–२०, २७–२५ र २५–२० को नतिजा निकाल्दै तेस्रो स्थान प्राप्त गरेको थियो । छात्राको उपाधि भिडन्तमा डायमन्डले दीपज्योतिलाई सीधा सेटमा २५–११, २५–११ र २५–६ ले पाखा लगाएको थियो । तेस्रो स्थानमा चित्त बुझाएको विजेश्वरीले टिटिलस्टारलाई २५–२, २५–१० र २५–१४ ले पन्छाएको थियो । विजेतालाई आयोजक समितिका अध्यक्ष हिक्मत थपलिया, काठमाडौं प्याब्सनका अध्यक्ष गोपाल आचार्यलगायतले पुरस्कार वितरण गरेका थिए । तीनदिने प्रतियोगितामा ६९ विद्यालयले भाग लिएका थिए ।