चालू आर्थिक वर्षको १० महिनामा मात्रै एकसय मेगावाट विद्युत उत्पादन

चालू आर्थिक वर्षको १० महिनामा मात्रै एकसय मेगावाट विद्युत उत्पादन



छविलाल बगाले

नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका प्रवद्र्धकहरुले विद्युत उत्पादनलाई तीब्रता दिएका छन् । चालु आर्थिक वर्षमा प्राधिकरण र निजी क्षेत्रको सक्रियतामा २ सय मेगावाट विद्युत उत्पादन भएको हो ।

नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक बर्षमा २ सय ८ मेगावाट विद्युत उत्पादनको लक्ष्य लिए पनि हालसम्म एकसय मेगावाट मात्रै विद्युत उत्पादन भएको छ । प्राधिकरण र निजी क्षेत्रका प्रवद्र्धकहरुको सक्रियतामा हालसम्म लक्ष्यको आधामात्रै विद्युत उत्पादन भएको हो । प्राधिकरणले नीजि क्षेत्रका प्रवद्र्धकहरुबाट १ सय ६४ मेगावाट विद्युत उत्पादन हुने प्रक्षेपण गरेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले घटना र बिचारलाई जानकारी दिए । उनका अनुसार चालु आर्थिक बर्षको १० महिनामा नीजि क्षेत्रबाट ७० मेगावाट मात्रै विद्युत उत्पादन भएको छ ।

विद्युत खरिद बिक्रि सम्झौता (पिपिए) भई निर्माणमा गएका निजी क्षेत्रका अन्य सात जलविद्युत आयोजनाले आगामी असार मसान्तसम्ममा उत्पादन दिने प्राधिकरणले जनाएको छ । निर्माणाधीन ७ आयोजनाको जडित क्षमता ९५ मेगावाट रहेको छ । ‘सरकारले १० बर्षमा १० हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य लिएको छ । प्रवक्ता अधिकारीले भने, ‘सरकारी र निजी क्षेत्र दुबैबाट लक्ष्यमा पुग्ने कसरत भइरहेको छ ।’

यस्तै, नेपाल विद्युत प्राधिकरणले पनि ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरिसकेको छ । यो आयोजना प्राधिकरणले ११ बर्ष लगाएर यसै आर्थिक बर्षमा उत्पादन शुरु गरेको हो । प्राधिकरणले यसै आर्थिक वर्षमा १४ मेगावाटको कुलेखानी तेस्रोको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएपनि त्यो भने पूरा नहुने प्रवक्ता अधिकारीको भनाई छ । ‘आर्थिक बर्ष सकिने अझै २ महिना बाँकी रहेकोले केही आयोजनाको उत्पादन थपिनेमा आशावादी छौं ।’ उनले भने, ‘जलविद्युत आयोजना निर्माणमा निजी क्षेत्रले पु¥याएको योगदान उच्च छ ।’

नेपालमा विद्युतको माग उच्च भएपछि सरकार र नीजि क्षेत्र एकसाथ जलविद्युतको विकासमा अघि बढेका छन् । हाल नेपालमा १ हजार २ सय १७ मेगावाट विद्युतको माग भएपनि प्राधिकरणले ३ सय ७२, निजी क्षेत्रले २ सय २ मेगावाट विद्युत उत्पादन गरेका छन् । प्राधिकरणले मुलुकको विद्युत माग धान्नको लागि भारतबाट ४ सय ३३ मेगावाट विद्युत ल्याएपनि यसअघि माग र आपूर्तिबीच २ सय १० मेगावाटको खाडल रहेको थियो । यो खाडललाई पुर्नको लागि प्राधिकरणले उद्योग क्षेत्रमा दैनिक २ देखि ४ घण्टासम्म उद्योग क्षेत्रमा लोडसेडिङ गर्दै आएको थियो । तर उद्योगी व्यवसायीको दबाबपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज सोमबारदेखि लागु हुनेगरी उद्योग क्षेत्रमा हुँदै आएको लोडसेडिङको पनि अन्त्य भएको बताएका छन् ।

‘यसअघि २ देखि ४ घण्टासम्म उद्योग क्षेत्रमा लोडसेडिङ हुँदै आएको थियो ।’ कुलमानले भने, ‘आज सोमबारदेखि भने उद्योगमा पनि लोडसेडिङ अन्त्य भएको छ ।’ जलस्रोत उर्जा तथा सिञ्चाई मन्त्री वर्षमान पुनले घिसिङलाई वैशाखमै उद्योगमा रहेको लोडसेडिङ पनि हटाउन निर्देशन दिएका थिए । सोही अनुरुप वैशाखको अन्त्यमा आएर उद्योग क्षेत्रमा पनि लोडसेडिङ हटाएको घिसिङले जानकारी दिए । ‘खोला तथा नदीमा बृद्धि भएको पानीको वहावका कारण रन अफ रिभर आयोजनाबाट विद्युत उत्पादनमा भएको वृद्धि, अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गरेका हौं, घिसिङले भने ।