पर्सालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा

पर्सालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा


पर्सा जिल्लालाई पूर्ण खोप युक्त जिल्ला घोषणा गरिएको छ । स्वास्थ्य कार्यालय पर्साले राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेर भित्रमा पाउनुपर्ने सबै खोपहरु सबै बालबालिकाहरुले पूर्ण रुपमा लिएको सुनिश्चितता गरेसँगै सो घोषणा गरिएको हो ।

मधेस प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव प्रमोदकुमार यादवले बिहीबार वीरगञ्ज आयोजित कार्यक्रममा पर्सा जिल्लालाई पूर्ण खोप युक्त जिल्ला घोषणा गरेका हुन् ।

पूर्ण खोपयुक्त जिल्लाको प्रमाणपत्र पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, जिल्ला खोप समन्वय समितिका अध्यक्ष नीरञ्जनप्रसाद सोनार र स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. मुक्तिनारायण साहलाई संयुक्त रुपमा प्रदान गरिएको थियो ।

पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने अभियान २०७४–सालमै सुरु भए पनि विविध कारणले ढिलो भएको थियोे । स्वास्थ्य कार्यालय पर्साका प्रमुख साहले राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेरभित्रमा पाउनुपर्ने सबै खोपहरु सबै बालबालिकाले पूर्ण रुपमा लिएसँगै पूर्ण खोप जिल्ला घोषणा गर्न सफल भएको बताए ।

पर्साको पोखरिया नगरपालिकालाई २०७४ वैशाख २७ गते पूर्ण खोप नगरपालिका घोषणा गरिएको थियो । तर, पकहामैन्पुर गाउँपालिका, विन्ध्वासिनी गाउँपालिका, धोबिनी गाउँपालिका र कालिकामाई गाउँपालिकालाई भने माघको अन्तिम सातामात्रै पूर्ण खोप गाउँपालिका घोषणा गरिएको थियो ।

photo: rss