विषयवस्तु वस्तुपरक ढङ्गले बुझ्न माक्र्सवादको अध्ययन आवश्यक

विषयवस्तु वस्तुपरक ढङ्गले बुझ्न माक्र्सवादको अध्ययन आवश्यक


जनसांस्कृतिक महासङ्घको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा ‘अविरल जनसाहित्य यात्रा’को ४७ औँ श्रृङ्खलामा शुक्रबार वरिष्ठ चिन्तक गोपीरमण उपाध्यायले उत्पादनको पद्धति र प्रक्रिया बुझ्न तथा विषयवस्तुलाई वस्तुपरकढङ्गले बुझ्न माक्र्सवादको अध्ययन आवश्यक भएको बताएका छन् ।

‘माक्र्सवादी दर्शन र समकालीन नेपाली संस्कृति’ विषयमा चर्चा गर्दै चिन्तक उपाध्यायले माक्र्सवादले मानव जीवनको सर्वाेपरि आधार भनेको उत्पादन प्रक्रिया हो भन्ने मान्दछ, यसले भौतिक र सांस्कृतिक उत्पादनमा जोड दिन्छ, सामाजिक अन्तरविरोध र प्रक्रिया बुझ्नुपर्नेमा जोड दिन्छ, मानिस, समाज, वर्ग, दर्शन, युग, युगचेतना, विचार, दृष्टिकोण, राजनीति, सभ्यता, संस्कृतिका बारेमा बुझ्न माक्र्सवादको गहन अध्ययन आवश्यक हुने बताउँदै भने, ‘सांस्कृतिक रूपान्तरण जबरजस्ती र एकैपटक हुँदैन यसका लागि चेतनाविकास नै सर्वाेपरि हुन्छ र क्रमिक रूपमा हुँदै जान्छ, अत्यधिक प्रयत्नहरू आवश्यक हुन्छन् ।’

प्र केशव सुवेदीले माक्र्सवादले सबै रुढी र अन्धविश्वासलाई वस्तुपरक अध्ययन, विश्लेषण गरेर समाजको कल्याणमा प्रयोग गर्नुपर्दछ भन्ने मान्यता राखेको हुँदा नै वैज्ञानिक भनिएको हो र यसको अवलम्बन आवश्यक छ भने ।

जनसाहित्यिक मञ्चका अध्यक्ष राम विनयले असारको दोस्रो शुक्रबार बालसाहित्यका बारेमा बहस गरिने जानकारी दिए । राससका अनुसार मञ्चका उपाध्यक्ष रमेश पोखरेलले जनसाहित्य यात्रामा विविध कार्यक्रम गरिने बताए ।

कार्यक्रमका संयोजक डा भागवत आचार्यले माक्र्सवादी सौन्दर्यशास्त्रका अध्येता उपाध्यायले सम्पूर्ण जीवन अध्ययन अनुसन्धानमा लगाएको र सौन्दर्यशास्त्रका गहनतम् कृतिसमेत प्रकाशन गरेको जानकारी दिए ।