एक भारी दाउरामा वर्षभरि खाजा

एक भारी दाउरामा वर्षभरि खाजा


मलेखु/ विद्यालयमा दाउरा लानुपर्ने त होइन र विद्यालयले दाउरा किन्ने पनि होइन । तर, थाक्रे गाउँपालिका– ५ की निरमाया तामाङ एक भारी दाउरा बोकेर दिद्यालय पुगिन् ।

एक भारी दाउरा विद्यालय पुऱ्याएपछि आफ्ना छोराछोरीले विद्यालयमा एक वर्ष खाजा खान पाउने नियम विद्यालयले बनाएपछि उनी दाउरा बोकेर विद्यालय पुगेकी हुन् । उनका छोरा त्यस विद्यालयमा कक्षा ५ मा भर्ना भएका छन् ।

उक्त वडामा रहेको शिवशंकर आधारभूत विद्यालयमा खाजा कार्यक्रम सञ्चालित छ । १०१ विद्यार्थी भर्ना भएको विद्यालयमा हरेक अभिभावकले वर्षमा एकपटक एक भारी दाउरा लैजानुपर्छ ।

सन्तुलित भोजनअनुसार चना, चिउरा, फलफूल, गेडागुडी, मासु चिउराजस्ता दिनदिनै भिन्न खाजा विद्यालयका सबै विद्यार्थीलाई खुवाउने व्यवस्था छ । विद्यालयको खाजा कार्यक्रमपछि यसतर्फ विद्यार्थीको समेत आकर्षण बढेको विद्यालयकी शिक्षिका मुना लामाले बताइन्।

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ हुने भएकाले पनि निजी विद्यालयसँग प्रतिस्पर्धा गर्दै गरिबका छोराछोरी पढाउन लागिपरेको विद्यालय प्रशासनको भनाइ थियो ।

विद्यालयले कुनै शुल्क लिँदैन । भर्ना गर्दा, परीक्षा लिँदा वा महिनामा कुनै पनि बहानामा विद्यार्थीसँग पैसा नलिने, तर अङ्ग्रेजी माध्यमबाट पढाइ सञ्चालन गर्ने प्रतिबद्धताका साथ अघि बढेको शिक्षिका लामाले बताइन् ।