बाल शैक्षिक अभियान आरम्भ

बाल शैक्षिक अभियान आरम्भ


राजविराज । सक्षम फाउण्डेशन नेपालले बालबालिकाका निम्ति सप्तरीबाट शैक्षिक सामाग्री वितरण आरम्भ गरेको छ । विद्यालय बाहिर रहेका बालबालिकालाई कक्षा कोठामा ल्याउन विद्यार्थी भर्ना महाअभियान सुरु भएपछि फाउण्डेशनका सदस्यहरुको चन्दाबाट सञ्चालित बाल शैक्षिक अभियान आरम्भ गरिएको हो ।

आर्थिक अभावका कारण विद्यालयभन्दा बाहिर रहेका विपन्न परिवारका विद्यार्थीहरुको भर्नासँगै फाउण्डेशनले तिलाठी कोइलाडी-६ स्थित श्री राप्रावि मधेपुरामा शैक्षिक सामाग्री तथा विद्यालय पोशाक वितरण आरम्भ गरेको छ ।

बाल शैक्षिक अभियानअन्तर्गत सप्तरीबाट आरम्भ गरिएको शैक्षिक सामाग्री वितरण कार्यक्रम मुलुकका ७७ जिल्लामै गरिने फाउण्डेशनका अध्यक्ष एवम् अभियन्ता सीके सिंहले बताए ।

प्रदेश नम्बर २ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साह, तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह र सिंहद्वारा गमलामा पानी हालेर उद्घाटन गरिएको उद्घाटन समारोहमा ८७ जना गरिव तथा दलित विद्यार्थीलाई विद्यालय पोशाक, झोला, आधा दर्जन कपी, पाँच वटा पेन, एक दर्जन पेन्सिल, २–२ वटा कटर र इरेजर तथा शैक्षिक क्यालेण्डर प्रदान गरिएको छ ।

विपन्न परिवारका बालबालिकाहरुको पठनपाठनमा सहयोग गर्दै नियमित विद्यालयमा जानको लागि प्रेरित गर्ने उद्देश्यले शैक्षिक सामाग्री तथा विद्यालय पोसाक वितरण गरिएको फाउण्डेशनले जनाएको छ ।

सिंहका अनुसार फाउण्डेशनका एक हजार एक सय सदस्यले एक सय रुपियाँका दरले मासिक जम्मा गरेको रकम तथा विभिन्न समाजसेवीले दिएको चन्दाबाट संस्थाको जनहीतकारी कार्यक्रम सञ्चालन गरिएको छ ।

२०७३ सालमा स्थापित फाउण्डेशनले बिद्यार्थीलाई बिद्यालय सम्म पु¥याउने अभियानसँगै निशुल्क स्वास्थ्य शिविर, दैवीप्रकोप प्रभावितको उद्धार तथा बालविवाह र दाइजो उन्मूलन अभियान सञ्चालन गरिरहेको छ । सम्पूर्ण आय–व्ययको विवरण वेभसाइट www.saksham.org.np र सामाजिक सञ्जाल फेसबुक www.facebook.com/sakshamfn बाट सार्वजनिक गर्ने गरिएको डा. सिंहले बताए ।

शैक्षिक सामाग्री वितरण गरेकोमा धन्यवाद व्यक्त गर्दै स्थानीय अभिभावक रामविलास मण्डलले बालबालिकालाई नियमित विद्यालय पठाउन थप हौसला मिलेको बताए । स्थानीय असर्फी सदाले आफूले शिक्षा नलिए पनि बालबालिकालाई पढाउन सरकारी तथा विभिन्न संस्थाले गरेको सहयोगले प्रेरणा मिलेको बताए ।