संसारका जुनसुकै देशमा पनि आजभोलि जङ्गलको छेउछाउसम्म मानवबस्ती पुगिसकेको छ । यस्तोमा जङ्गली जनावरबाट घरपालुवा जीवजन्तु तथा मानिसलाईसमेत खतरा पैदा हुनु अस्वाभाविक छैन । यही समस्यालाई मध्यनजर गर्दै एक ११ वर्षीय बालक यस्तो घरेलु यन्त्र निर्माण गर्न सफल भएका छन् जसबाट सिंह, बाघजस्ता खुँखार जङ्गली जनावर पनि डराएर जङ्गलको बाटो तताउन विवश हुन्छन् ।
कुरा अफ्रिकी मुलुक केन्याको हो । केन्याली बालक रिचर्ड टुरेरेले कुनै प्राविधिक तालिमबिना नै खतरनाक जङ्गली जनावरलाई गाउँबस्तीबाट भगाउने ‘शेर लाइट’ बनाउने सफलता हासिल गरी अन्तर्राष्ट्रिय मिडियाको ध्यान तान्न सफल भएका छन् । आश्चर्य त के छ भने उक्त उपकरणको खर्च जम्माजम्मी पाँच सय रुपैयाँ मात्र पर्न आउँछ । बिग्रेको टर्चका एलईडी बल्बहरू, पुरानो कारको ब्याट्री, एक सोलार प्यानल र मोटरसाइकलको लाइट इन्डिकेटर बक्सबाट रिचर्डले ‘शेर लाइट’ तयार गरेका हुन् । जब इन्डिकेटर बक्सद्वारा बल्ब झिमिक–झिमिक शैलीमा बल्न थाल्छ त्यसबाट निस्कने अनौठो प्रकाशलाई ‘गम्भीर खतरा’ ठान्दै बस्तीतिर आएका सिंहहरू भाग्ने गर्छन् । रिचर्डको आविष्कार कुनै खास नभए पनि त्यसको सिको गरेर केन्याली गाउँमा धेरैले ‘शेर लाइट’ प्रयोग गरी जङ्गली जनावरबाट बच्ने उपाय अवलम्बन गर्न थालेबाट सरकारको टाउको दुखाइमा समेत कमी आएको बताइन्छ ।
जब २२ करोडको चिठ्ठा पनि कम भयो
बेलायती युवा रोजर ग्रिफिथ्सलाई सन् २००५ मा १८ लाख पाउण्ड (लगभग साढे २२ करोड रुपैयाँ)को चिठ्ठा परेको थियो । तन्नम अवस्थाका व्यक्तिलाई त्यति ठूलो रकम एकैपटक प्राप्त भएपछि जीवनभर आर्थिक समस्या नहुनुपर्ने हो । तर, रोजरलाई २२ करोडको चिठ्ठा पनि कम सावित भएको छ, अर्थात् चिठ्ठा परेको सात–आठ वर्ष नबित्दै मागेर खानुपर्ने अवस्थामा उनी पुगेका छन् । यस्तो कसरी भयो त ?
हो, चिठ्ठा जित्दा उनको भुइँमा खुट्टै थिएन । रातारात करोडपति बनेपछि उनलाई दैनिक ब्याज नै झन्डै पचास हजारजति आउने भयो । कुनै काम नै नगरे पनि जीवन मस्तीमै काट्न पाइने अवस्था थियो । तर, ग्रिफिथ्स र उनकी पत्नीलाई लाग्यो कि चिठ्ठा जित्नुको मतलब त मोजमस्ती गर्नु हो, किन खुलेर खर्च नगर्ने ? आफ्ना बच्चाहरूलाई अत्यन्त महङ्गो स्कुलमा भर्ना गराएर ग्रिफिथ्सदम्पती अत्यन्त महङ्गा प्याकेजमा संसार भ्रमण गर्न थाले । त्यत्रो चिठ्ठा जितेपछि नोकरी किन गर्ने भनेर गरिआएको काम पनि छोडे र एक महङ्गो प्रकारको सैलुनमा लगानी गरेर कर्मचारीको जिम्मा लगाए । उक्त सैलुनको कमाइभन्दा खर्च बढी आउँथ्यो र पनि उनीहरूले कुनै पर्वाह गरेनन् । एउटा बैंकको थुप्रै सेयर उनीहरूले खरिद गरे । यसरी हेर्दाहेर्दै लगभग सम्पूर्ण बैंक एकाउन्ट रित्तिन पुग्यो । सबभन्दा दुर्भाग्य त ग्रिफिथ्सका लागि त्यतिबेला हुन पुग्यो जब उनले सेयर खरिद गरेको बैंक नै टाट पल्टिन पुग्यो । समयको चक्करले यतिबेला उनीसँग पुरानो नोकरी पनि छैन र पैसा सिद्धिएपछि पत्नीले पनि साथ छोडिन् । यसरी करोडपति ग्रिफिथ्स सातै वर्षमा भिखारी बनेर जीवन कटाइरहेका छन् । आखिर सदुपयोग गर्न नजाने जति नै धन भए पनि के काम लाग्दोरहेछ त ?
हराएको १६ वर्षपछि गाजरमा औँठी
‘सत्यको धन छ भने कहीँ जाँदैन !’ कुनै वस्तु हराउँदा यसो भन्ने चलन हामीकहाँ अझै कायम नै छ । एक स्वीडिस महिलाको हीराको औँठी पनि सत्यकै धन सावित भयो, जो हराएको १६ वर्षपछि करेसाबारीमा उम्रिएको गाजरमा बेरिएर फेला प¥यो ।
हो, स्वीडिस महिला लिना पाल्सनले बडो मिहिनेत लगाएर आफ्नो विवाहका लागि आफँैले उक्त औँठी डिजाइन गरेकी थिइन् । तर, एक दिन भान्सामा काम गरेको बेला खोलेर राखेको औँठी त्यहीँबाट हरायो र जतिसुकै खोज्दा पनि त्यो फेला परेन । सेतो सुनमा सातवटा हीरा जडिएको थियो उक्त औँठी सन् १९९५ मा हराएको थियो । केही दिनअघि करेसाबारीमा लगाएको गाजर उखेल्ने क्रममा लिना आश्चर्यमा परिन्, किनकि १६ वर्षअघि हराएको उही औँठी एक सानो गाजरमा बेरिएर उनकै हातमा चम्किरहेको थियो । वास्तवमा भान्साको फोहोर फाल्दा उक्त औँठी पनि त्यसैमा मिसिएर फ्याँकियो र वर्षौं बारीमै रह्यो । संयोगवश उक्त गाजर उम्रँदा सोही औँठीको बीचबाट उम्रियो र गाजर बढ्दै जाँदा त्यसैमा बेरिएर बस्यो । आखिर सत्यको धन छ भने जहाँ गए पनि फर्केर आउने नै रहेछ !
दाइजोमा दुईवटा टायर–ट्युब अनिवार्य
दाइजोको कारण भारतमा वर्षेनी हजारौँ महिलामाथि दुव्र्यवहार र हत्याका घटना घटाइने गरिएको हामीले सुन्दै आएका छौँ । स्तर हेरेर केही हजार नगद, साइकल, मोटरसाइकल र हुनेखानेले कार, घरजग्गासमेत दाइजो दिने प्रचलन त्यहाँ विद्यमान छ । भारतमै एक यस्तो गाउँ पनि छ जहाँ दाइजोका रूपमा अरू केही नभए पनि नवविवाहिताले ट्रकको दुईवटा टायर–ट्युब अनिवार्य रूपमा दाइजो लैजानैपर्छ । आन्ध्रप्रदेशको मंगल थाण्डा भन्ने गाउँमा यस्तो प्रचलन सयौँ वर्षदेखि रहेको बताइन्छ ।
यसरी टायर–ट्युबको महत्व रहनुको विशेष कारण छ । उक्त गाउँ एक टापुजस्तै अन्य स्थानबाट अलग परेको छ । त्यहाँका बासिन्दाले सानोभन्दा सानो कामका लागि पनि छिमेकका अन्य गाउँको भर पर्नुपर्ने अवस्था छ । कुनै कुरा किनमेल गर्न होस् वा बालबालिका विद्यालय जान होस्, बैङ्किङ प्रयोजन होस् वा अस्पताल जानुपर्ने अवस्था होस्, नदीमा पुल नभएको र घुमेर जाँदा पाँच–सात किलोमिटरको यात्रा तय गर्नुपर्ने कारणले छिटो–छरितोका लागि मानिस ट्युबकै सहारा लिन्छन् । प्रत्येक घरमा कम्तीमा दुई–तीनवटा ट्युब झुन्डिएको देखिनु उक्त गाउँको विशेषता नै बनेको छ । दुईवटा ट्युब नै दाइजो लैजानुपर्ने नियम बनाइनुको कारण एक छोरीको लागि त अर्को ज्वाइँका निम्ति भनेर हो । यसरी वर्षौंदेखि ट्युबको खतर्नाक यात्रा गर्न सक्ने स्थानीयले एउटा पुल बनाइदेऊ भनी सरकार या आफूले मत दिने प्रतिनिधिसँग माग गर्न किन नसकेका हुन्, योचाहिँ आश्चर्यकै विषय हो ।
प्रतिक्रिया