रामजी र प्रेमकुमारीलाई दयाराम परियार स्मृति पुरस्कार

रामजी र प्रेमकुमारीलाई दयाराम परियार स्मृति पुरस्कार


मानव सेवा आश्रमका रामजी अधिकारी र प्रेस स्वतन्त्रता सेनानी प्रेमकुमारी पन्तलाई यस वर्षको दयाराम परियार स्मृति पुरस्कार प्रदान गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोगको अठारौं स्थापना दिवशको अवसरमा ललितपुरमा आयोजित समारोहमा अधिकारी र पन्तलाई एक लाख राशिको सो पुरस्कार प्रदान गरिएको हो ।

राष्ट्रिय मानव अधिकार आयोगले विगत सात वर्षदेखि प्रदान गर्दै आएको सम्मानलाई यस वर्षदेखि अधिकारकर्मी परियारको सम्मानमा पुरस्कारमा रुपान्तरण गरिएको सम्बद्ध पक्षले जनाएको छ । यो सम्मान यसअघि अधिकारकर्मीहरु दुर्गा घिमिरे, चरिमाया तामाङ, टेकनाथ वराल, चन्द्र किशोर झा, डा. शिवमाया तुम्वाहाङफे, वलदेव राम, मातृका देवकोटा, श्यामसुन्दर शशी, नजवुल खान र विद्या राजभण्डारीलाई प्रदान गरिएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार रक्षक दयाराम परियारको २ हजार ६२ साल चैत्र ११ गते जनकपुरमा मानव अधिकार अवस्था अनुगमनकै क्रममा प्रहरीको गोली लागेको थियो भने उपचारकै क्रममा २०६२ चैत्र १५ गते शिक्षण अस्पतालमा निधन भएको थियो ।