चट्याङ र हुरीका कारण फेवातालमा पल्टियो डुंगा

चट्याङ र हुरीका कारण फेवातालमा पल्टियो डुंगा


पोखराको फेवातालमा आइतबार दिउँसो हावाहुरीका कारण डुंगा पल्टँदा एकजना बेपत्ता भएका छन् ।

तालमा डुबेका ४ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ । पाँचजनाको समुह फेवातालमा डुंगामा खेल्दै गर्दा चट्याङसहित हुरी चलेपछि डुंगा पल्टिएको थियो । डुंगा पल्टँदा रामेछाप बेथानका भक्तपुर बस्ने १८ वर्षका सुप्रिम लामा बेपत्ता भएको प्रहरीले जनायो ।

४ जनालाई सशस्त्र प्रहरीले उद्धार टोलीले उद्दार गरेको हो । सिन्धुलीका विशाल थापा, काठमाडौं सीतापाइलाका अनिल रोकाहा, भक्तपुर सूर्यविनायकका मन्दीप महत र सल्लाघारी भक्तपुरका सुशील कुँवरको उद्दार गरिएको सशस्त्रका डिएसपी गौतमराज कँुवरले जानकारी दिए । दिउँसो सवा तीन बजे फेवातालको सेदी क्षेत्रमा डुंगामा खेलिरहेका समयमा हुरी चलेको थियो । गोताखोरको प्रयोग गरी खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।