झाडापखालाबाट हजार बढी प्रभावित, विद्यालय बन्द

झाडापखालाबाट हजार बढी प्रभावित, विद्यालय बन्द


दाङको शान्तिनगरमा फैलिएको झाडापखालाको प्रकोप नियन्त्रणबाहिर गएको छ । पातेटाकुरा, गनारी, गाहा टोल, अँधेरे, भल टोल, खत्री टोल, चिराघाट एकली, कजेरी र हिरापुर गाउँमा शनिबारबाट झाडापखालाको प्रकोप फैलिएको हो ।

स्थानीय माइली खोला खानेपानी आयोजनाको पानी दूषित भएकाले झाडा पखाला फैलिएको शान्तिनगर स्वास्थ्य चौकीका प्रमुख हरि पुनले बताए । उनका अनुसार आइतबारसम्म हजारजना बिरामीको उपचार गरिएको छ । सोमबार बिहानैदेखि थप बिरामी उपचार गर्न आइरहेका छन् । झाडापखालकै कारण अहिले त्यहाँका विद्यालय बन्द गरिएको जनाइएको छ ।

जिल्लाभरीकै जनशक्ति परिचालन
उपचारमा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम पोखरेल नेतृत्वको टोली, राप्ती उप–क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्न्ट जनार्दन पन्थी, शान्तिनगर स्वास्थ्यचौकी प्रमुख हरि पुन, उपप्रमुख घनश्याम पाण्डेका साथै धनौरी स्वास्थ्यचौकी प्रमुख हरिशकुमार डाँगीलगायतको टोली गाउँमै खटिएको छ ।

यस्तै, नेपाली सेनाको २ वटा टोली उपचार कार्यमा खटिएको गाउँपालिका स्रोतले बताएको छ । ‘शनिबार दिउँसोबाट शुरु भएको बिरामीको चाप घटेको छैन, शान्तिनगर गाउँपालिकास्तरीय स्वास्थ्य चौकीका प्रमुख हरि पुनले भने, ‘आइतबार दिनभर बिरामी थपिए । एकछिन पनि खाली भएन । सबै बिरामीमा झाडापखाला देखिएको छ । एउटैलाई दुई–तीनवटा स्लाइन चढाउनुपरेको छ ।’

झाडापखाला फैलिएको जानकारी पाएपछि शनिबार नै प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ र निमित्त जनस्वास्थ्य प्रमुख प्रकाशकुमार योगीलगायतको टोली थप औषधि र स्वास्थ्यकर्र्मी लिएर शान्तिनगर पुगेको थियो । जिल्ला समन्वय समिति प्रमुख जितेन्द्रमान नेपाली पनि बिरामीहरूको अवस्था बुझ्न गाउँमै पुगेका थिए । यस्तै सो क्षेत्रका प्रदेश सभा सदस्य उत्तर कुमार ओली पनि खबर पाएदेखि नै बिरामीहरुको सेवा खटिएका छन् ।

खोलाको पानी नै प्रकोपको कारण
स्थानीयले खोलाको दूषित पानी खाँदा झाडापखालाको सङ्क्रमण फैलिएको प्रारम्भिक अनुमान छ । दूषित खानेपानीका कारण सङ्क्रमण फैलिएको खबर आएपछि थप अवस्था बुझ्न शान्तिनगर पुगेको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको टोलीले झाडापखालाको कारण खोलाको दूषित पानी भएको निष्कर्ष निकालेको हो ।

कार्यालयका प्रमुख तिलक न्यौपानेले माइलीपानी मुहानबाट पानी नपुगेपछि केही दिनअघि सिमलगैरा मुहानको पानी शुद्धीकरण नगरी धारामा वितरण गरिएका कारण समस्या उत्पन्न भएको बताए ।
‘खानेपानी वितरणका लागि ४ वटा मूलको प्रयोग गरिएको रहेछ । पानी नपुगेपछि २ वटा मूलमापानी आपूर्ति गर्न खोलाको पानी प्रयोग गरिएपछि समस्या उत्पन्न भएको देखिएको छ,’ उनले भने, ‘केही दिनअघि पानी वितरण गरिएको मूलमा बाढी आएको रहेछ । बाढीले माथिल्लो बस्तीको फोहोर खोलामा ल्याएको र त्यो खोलालाई सीधैखानेपानीको मूलमा मिसाउँदा पानी दूषित भएर यस्तो अवस्था सिर्जना भएको हो ।’

जाँचका क्रममा फोहोर पानीकै कारण झाडापखाला फैलिएको पाइएको जनस्वास्थ्यका प्रमुख पोखरेलले जानकारी दिए । ‘पानीमा ब्याक्टेरिया देखिएको छ । कस्तो खालको ब्याक्टेरिया भन्ने यकिन गर्न सकिएको छैन’, उनले भने, ‘पानीमै फोहोर भएका कारण रोग फैलिएको देखिन्छ । उपचार मात्रै गरेर नियन्त्रणमा आउने अवस्था देखिँदैन । पानीको मुहान नै शुद्धीकरण गर्नुपर्छ ।’ यस्तै, खानेपानी तथा डिभिजन कार्यालयका प्रमुख न्यौपानेले हाल झाडा पखाला फैलाउने ब्याक्टेरियाको पहिचान सोमबार बिहानसम्म भइसक्ने जानकारी दिए ।

थप बिरामी हुन नदिन विशेष निगरानी
बिरामीको चाप नरोकिएपछि थप बिरामी बढ्न नदिन विशेष निगरानी अपनाइएको गाउँपालिका स्रोतले जानकारी दियो । अहिले गाउँमा पानी उमालेर मात्र खान र समस्या भए तत्काल स्वास्थ्य पुग्न माइकिङ गरिएको छ ।