गोली लागेका जंगका भाइले पेरिसमा ‘ऐया’ भन्न पाएनन्

गोली लागेका जंगका भाइले पेरिसमा ‘ऐया’ भन्न पाएनन्


जंगबहादुरले हेर्न इच्छा गरेको सैनिक प्रदर्शनी वि.सं. १९०७ भदौ १० गते तदनुसार सेप्टेम्बर २४, १८५० का दिनलाई तर्जुमा गरिएको थियो । भर्सेलिसको नजिक सर्टरी (Sertary) को ठूलो मैदानमा प्रेसिडेन्ट प्रिन्स लुई नेपोलियनका साथै घोडामा चढी सैनिक प्रदर्शनी हेर्न प्रधानमन्त्री जंगबहादुरलाई निमन्त्रणा गरिएको थियो । बहुतै सफलताका साथ त्यत्रो ठूलो सेनाको सैनिक प्रदर्शनी सम्पन्न भयो । सेनामा अनुशासन राम्रो थियो भने जनताबाट कुनै प्रकारको उपद्रोसमेत भएन । सैनिक प्रदर्शनीको कार्य सकिएपछि प्रेसिडेन्ट र जंगबहादुरहरू घोडामै भर्सेलिसको दरबारमा पुगे । पूर्वनिर्धारित कार्यक्रमअनुसार त्यहाँ दरबारको आयोजना गरिएको थियो । नेपाली प्रतिनिधिहरूको बिदाबारीको निमित्त दरबारी शिष्टाचार सकेपछि प्रेसिडेन्टले अब तपाईं सीधा नेपाल फर्कनुहुन्छ कि युरोपका अन्य मुलुकहरूको पनि भ्रमण गर्नुहुन्छ ? भनी जंगबहादुरसँग प्रश्न गरे ।

जंगको जर्मनी र रसिया पनि जाने इच्छा थियो, तर उनले विशेष कारणवश चाँडै नेपाल फर्कन कर लागेकाले नेपाल फर्कंदै छ, पछि जर्मन र रसिया जानेछु भने । वास्तवमा जंग जर्मनी र रसिया पनि जाँदा हुन्, तर नेपालबाट लगेको ३० हजार पौन्ड करिब–करिब सकिन लागेकोले चाँडै फर्कन उनलाई कर लाग्यो । प्रेसिडेन्ट लुई नेपोलियनको र जंगबहादुरको नेपाल, फ्रान्स र ब्रिटेनको विषयमा लिएर धेरै बेरसम्म वार्तालाप भएपछि प्रेसिडेन्टले जंगबहादुरलाई म्यानसमेतको ‘तरबार’ र सुनको सानो बाटुलो तक्मा–मेडेलिना (Medallion) प्रदान गरे । जंगले सो सहर्ष स्वीकार गरी धन्यवाद दिए । त्यसपछि जंगको तैलचित्र जंगलाई आदानप्रदान गरियो । प्रेसिडेन्ट लुई नेपोलियनले जंगको चित्रलाई आफ््नो कोठामा राखी उनको याद हमेसै गर्ने प्रकट गरे ।

यसरी फ्रेन्च प्रेसिडेन्टसँगको बिदाबारीको कार्यक्रम सकी नेपाली प्रतिनिधिहरू पुनः पेरिसमा फर्की होटेल सिनेटमै बसे । सेप्टेम्बर २५ का दिन भाइहरू र सिद्धिमान राजभण्डारीका साथ जंगबहादुर जर्डिन मेविली (Gardin mabille) मा तारा हान्ने ठाउँ (Shooting Gallery) मा तारा हान्न पुगे । जंगले तारा हानिरहेको अवसरमा एउटी राम्री फ्रेन्च किशोरी जंगसमक्ष आएर हाँसी म पनि तारा हान्न सक्छु भनी प्रश्न गरिन् । जंगले तुरुन्त आफूले प्रयोग गरेको पेस्तोल ती किशोरीलाई थमाइदिए । उनले सो पेस्तोल हातमा लिएपछि आत्तिइन् र ताक्नुअगावै गोली खुस्काइदिइन् । अचानक त्यो गोली अलि पर रहेका धीरशमशेरको तिघ्राको हड्डीसम्म पुग्न पाएनछ ।

गोली धीरशमशेरलाई लाग्नासाथ फ्रेन्चहरू हडबडाउन थाले । साथै उपचारको निमित्त अस्पताल लैजाने तरखर गर्न थाले, तर जंगले तुरुन्त सिद्धिमान राजभण्डारीको पटुका खोल्न लगाई गोली लागेको ठाउँमा तन्काएर बाँधी यस्तो सानोतिनो चोटपटकलाई हामी नेपालीहरूले मामुली चोट मान्छौँ, तपाईंहरूले फिक्री लिनुपर्दैन, हामी आफैँ उपचार गर्दछौँ भनी भाइ धीरशमशेरलाई ‘सान्नानी ! नखोच्याई हिँडेस्’ भने । सान्नानी भाइले पनि घाउ दुखे तापनि सहेर नदुखेझैँ गरी हिँड्न थाले ।

यसरी नेपालीले आफ्नो शारीरिक शक्तिको फेरि पनि प्रदर्शन गरे । तुरुन्त बसेको होटेल सिनेटमा आई सनासोलाई रातो हुने गरी आगोमा पोलेर सेनापति जंगबहादुर आफैँले धीरशमशेरको तिघ्राको घाउमा सो सनासो पसाई गोली निकाली मिनिस्टरी तेल अर्थात् महानारायणी तेल त्यस घाउमा हालेका भरमा घाउ निको पारे ।

(पुरुषोत्तमशमशेर जबराको ‘श्री ३ हरूको तथ्य वृत्तान्त’बाट)