अनलाइन सट्टेबाजीमा करोडौँको चलखेल

अनलाइन सट्टेबाजीमा करोडौँको चलखेल


अनलाइन सट्टेबाजी (जुवा)मा संलग्न रहेको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंले ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरी परिसरको टोलीले काठमाडौँका ठमेल, लाजिम्पाट, दरबारमार्ग तथा ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा बसेर अनलाइन सट्टेबाजी गरेको आरोपमा अञ्जन केसी, गौरव तिवारी, भूपेन्द्र शम्शेर कुँवर, विजय श्रेष्ठ, दिनेश बोगटी र नरेन्द्र सुवाललाई पक्राउ गरेको हो । अभियुक्तहरुले करोडौँ रुपैयाँ अनलाइनमार्फत सट्टेबाजी गर्दै आएका प्रहरीको दाबी छ । सट्टेबाजीमा गुण्डा नाइके दाबा लामाको समेत संलग्नता रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ ।

इण्डियन प्रिमियर लिग (आइपिएल) प्रतियोगितामा सट्टेबाजी गरी जुवा खेलाएको भन्ने सूचनाका आधारमा सोमबार छापा मारी उनीहरुलाई पक्राउ गरिएको परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिए ।

यही जेठ १३ गते मैतिदेवी घर भई पासिकोट बस्ने गौरव तिवारीलाई पक्राउ गरी उनको मोबाइल र ल्यापटपका रेकर्डका आधारमा अरुलाई पक्राउ गरिएको जानकारी काठमाडौं प्रहरी प्रमुखले बताए ।

बताइएअनुसार सट्टेबाजी खेलाउने क्रममा तिवारीसँग सात करोड ४७ लाख दुई हजार, कुँवरसँग तीन करोड २२ लाख ९७ हजार, पूर्व राष्ट्रिय फुटबल खेलाडी केसीसँग दुई करोड ७७ लाख दुई हजार र सुवालसँग रु ७७ लाख बैंक खातामा रकम देखिएको प्रहरीले जनाएको छ ।

नागराज भन्ने अमृत अग्रवालसँग मिली गौरवले सट्टेबाजी गर्ने गरेको र पछि नागराजसँग विवाद परेपछि आफैँ लण्डनबाट मास्टर एकाउण्ट खोलेर कारोबार गर्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । उक्त समूहले रु २५ हजारदेखि रु १५ लाखसम्मको बाजी खेलाउने गरेको प्रहरीले फेला पारेको छ ।