अस्पतालको शय्याबाट प्रदीप ज्ञवाली भन्नुहुन्छ : ‘मालेले मलाई मऱ्यो भनेर छाड्यो’

अस्पतालको शय्याबाट प्रदीप ज्ञवाली भन्नुहुन्छ : ‘मालेले मलाई मऱ्यो भनेर छाड्यो’


० तपाईंलाई मालेले योजनाबद्ध ढङ्गले नै आक्रमण गरेको हो त ?
– हो । खुकुरी र भालाजस्ता घातक हतियार बोकेर मालेका कार्यकर्ताहरूले हामीलाई योजनाबद्ध ढङ्गले नै आक्रमण गरेका हुन् ।

० आक्रमणको शुरुआत त एमाले पक्षबाटै भयो पहिले, त्यसको प्रतिकार मात्रै गरेका होइनन् र माले कार्यकर्ताहरूले ?
– यो गलत आरोप मात्र हो । हामी हिंसाको राजनीतिमा विश्वास गर्दैनौँ । उनीहरूमाथिको आक्रमण त एमाले पार्टी फुटाएको कारण आक्रोशित जनताबाट पो भएको हो त ।

० उसोभए तपाईंहरूलाई पनि त जनताले नै आक्रमण गरेको हो भन्न मिलेन र ?
– मिल्दैन । हामीलाई मालेका चिनिएकै गुन्डाहरूले आक्रमण गरेका हुन्, तीनका नेताहरूको इशारामा ।

० यो ‘महाभारत’को युद्ध शुरु हुनमा एमाले या माले को दोषी छ निष्पक्ष भएर भन्नुस् त !
– यो सोध्नैपर्दैन नि ! त्यत्रो पार्टी फुटाएर जाने अपराधीहरूले हामी र हाम्रो पार्टीलाई बदनाम गर्न जे पनि गर्न सक्छन् भने दोषी को हुन सक्छ जनताले नै छुट्याउने कुरो हो ।

० एमालेको भविष्य अब छैन भनेर यस पार्टीबाट मालेतर्फ कार्यकर्ताको ओइरो लागेको देख्दा त दोषी तपाईंहरू नै हुन आएन र ?
– गुन्डागर्दी गरेर, राजनीति गर्न खोज्ने पञ्चायती संस्कार बोकेका जमातको के भविष्य हुनु, हेर्नुहोला अन्ततः एमाले नै राष्ट्रको एक मात्र सही कम्युनिस्ट पार्टी साबित हुनेछ ।

० त्यसो भए ‘माले’हरू तपाईंको नजरमा मण्डलेको नयाँ अवतार हो ?
– हो । यो प्रवृत्ति उनीहरूले देखाइसकेका छन्, हामीले औँल्याइरहनै पर्दैन ।

० तपाईंहरूमाथिको यो आक्रमणको बदला कसरी लिने सोचाइ बनाउनुभएको छ ?
– राजनीतिक रूपमै हामी पराजित गर्नेछौँ । उनीहरू जस्तै गुन्डागर्दीमा उत्रने हो भने त एकदिनमै राष्ट्रभर हामी उनीहरूलाई पराजित तुल्याउनेछौँ ।

० तपाईंले आफूलाई मालेहरूले कोठामा थुनेर हातपात गऱ्यो भन्ने वक्तव्य दिनुभएको छ, त्यसो भए तपार्इंलाई कसले बचायो त ?
– मलाई ‘यो मऱ्यो’ भन्ने ठानेर तिनीहरूले फालेर हिँडे, तर संयोगले म मरेको थिइनँ, सायद देशको निम्ति मैले धेरै गर्नु छ, त्यसैले ईश्वरले बचाए, मेरा शुभचिन्तकहरूले मेरो धुकधुकी चलेको देखेर उद्धार गरे ।

० उसो भए मालेकेन्द्रको निर्देशन तपाईंहरूलाई मार्ने ने भन्ने थियो त ?
– जुन ढङ्गले उनीहरू हामीमाथि खनिए, त्यो हेर्दा उनीहरूका नाइकेहरूको चाहना मेरो शरीर संसारमा नरहोस् भन्ने नै थियो भन्न हिच्किचाउनुपर्दैन ।

(घटना र विचार साप्ताहिक, २०५४ चैत १९ गते बुधबार)