नौबिसे-नागढुंगा खण्डलगायत सात स्थानमा सुरुङ निर्माण गरिने

नौबिसे-नागढुंगा खण्डलगायत सात स्थानमा सुरुङ निर्माण गरिने


सरकारले मुलुकका विभिन्न सात स्थानमा सुरुङमार्ग सुरुङमार्ग निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा मंगलबार संघीय संसद्को संयुक्त बैठकमा पेश गरिएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत यसबारे प्रतिबद्धता जनाइएको हो ।

भौगोलिक बनावट तथा अन्य जटिलताका कारण यातायात सञ्चलनमा भइरहेको कठिनाइलाई सहज तुल्याउन आगामी आर्थिक वर्षमा पृथ्वी राजमार्गको नौबिसे–नागढुंगा खण्डमा सुरुङमार्ग निर्माण आरम्भ गरिने बजेटमा उल्लेख गरिएको छ । सो सुरुङमार्ग निर्माणमा जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकेको छ ।

यस्तै काठमाडौंलाई नुवाकोटसँग जोड्न टोखा–छहरे सुरुङमार्ग निर्माण गर्ने लक्ष्य सरकारले राखेको छ भने बुटवल सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा खण्डमा पनि सुरुङमार्ग निर्माण गरिने भएको छ ।

अरनिको राजमार्गको कोटेश्वर–जडीबुटी खण्ड, विपी लोकमार्गको खुर्कोट–चियाबारी, विपी नगर–खुटिया–दिपायल खण्ड र गणेशमान सिंह मार्गको थानकोट–चित्लाङ खण्डमा सुरुङमार्ग निर्माणका लागि सर्वेक्षण गरी आवश्यक निर्माण प्रक्रिया शुरु गर्ने लक्ष्य राखिएको छ ।

त्यस्तै जटिल प्रकारका सुरुङ निर्माणका प्रयोग हुने उच्च प्रविधिका सुरुङ खन्ने मेशिन भारी निर्माण उपरकण, एवं पूर्वाधार निर्माणमा प्रयोग हुने अन्य उपकरणसम्बन्धी सेवा उपलब्ध गराउन र ठूला आयोजनाको सम्भाव्यता अध्ययन, विस्तृत डिजाइन एवं निर्माणको समेत काम गर्न निजी क्षेत्रको समेत संलग्नताका पूर्वाधार निर्माण तथा परामर्श कम्पनी स्थापना गर्ने सरकारको तयारी छ ।

पर्यटकीय सम्भाव्यस्थल आसपास निर्माण हुने राजमार्गका पुलहरु कलात्मक बनाउन तथा रणनीतिक पूल निर्माण सम्पन्न गरी यातायात सञ्चालन गर्न रु पाँच अर्ब २४ करोड ७६ लाख बजेट विनियोजन गरिएको छ ।

रासस