किन बचाउने कोइरालाले सिटौलालाई ?

किन बचाउने कोइरालाले सिटौलालाई ?


-वसन्तराज कुँवर
हालै छापामा पढ्न पाएँ कि सर्वोच्च अदालतले काङ्ग्रेसका नेतामाथि भ्रष्टाचारको आरोप लगाई कारबाही गरेपछि पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी अध्यक्षलाई अदालत पूर्वागृही भएको आरोप लगाउँदै हस्तक्षेप गर्न अनुरोध गरे रे । सिटौलाले अदालतमाथि हस्तक्षेप गर्न सुशील कोइरालामार्फत गरेको यो प्रयास केका लागि हो भन्ने कुरा आमनेपालीले सहजै अनुमान लगाउन सक्छन् । कृष्णप्रसाद सिटौलाले सुडान काण्डमा खाएको करोडौँ रकमले उनलाई तर्साएका कारण अध्यक्षमार्फत आफ्नो बचाउका लागि पार्टीलाई ढालका रूपमा उनले प्रयोग गर्न खोजेका मात्र हुन् । चोरको खुट्टा काट भन्दा साँच्चिकै चोरले खुट्टा हटाएझैं मात्र हो यो व्यवहार सिटौलाको ।
हुन त कतिले गिरिजाप्रसाद कोइरालालाई महान् नेता मान्दछन् । उनले विगतमा राजनीतिमा लागेका कारण दुःख पनि पाएका रहेछन् तर मेरो आफ्नो व्यक्तिगत विचारमा के लाग्छ भने नेपाल र नेपाली काङ्ग्रेसलाई सङ्कट र आन्तरिक युद्धमा होम्न कोइराला सबैभन्दा बढी जिम्मेवार छन् । कोइरालाले देशका लागि जे योगदान दिए त्योभन्दा ज्यादै बढी आफ्ना परिवारका लागि मुलुकबाट लिए भन्ने मेरो ठहर छ । उनले आफ्ना स्वार्थका लागि पार्टी फुटाए, गणेशमान, कृष्णप्रसाद र जगन्नाथ आचार्यजस्ता त्याग गरेका व्यक्तिहरूलाई रुवाए । काङ्ग्रेसको मूलआधारबाट तिनलाई टाढा पारे । माओवादी युद्ध बढ्नुमा कोइरालाको ज्यादै ठूलो भूमिका थियो । कोइराला परिवारलाई जति पैसा भए पनि पुग्दैनथ्यो । सारा मन्त्रालयबाट पैसा त्यहीँ जान्थ्यो । आज खुमबहादुरलगायत कतिपय मन्त्रीहरू बाहिर भ्रष्ट कहलिए पनि तिनीहरूमार्फत पैसा उठाउने व्यक्ति कोइराला नै थिए र तिनका परिवार नै थिए । काङ्ग्रेसलाई पद्धतिअनुसार चल्न नदिने र आफू पदमा रहनका लागि पार्टी र मुलुकको जुनसुकै खति र क्षति गर्न पनि तयार हुने गिरिजाप्रसाद कोइरालाजस्ता नेताहरूलाई उनका अनुयायीहरूले महान् व्यक्ति भने पनि नेपाल र नेपालीको जीवनस्तर बढाउन र नेपालको विकास गर्न उनले दिएको योगदान हेर्दा त्यो कुरा मात्र चाकडीको शब्दबाहेक यथार्थ मान्न सकिन्न । हो, उनले तानाशाही प्रकारले पार्टी चलाउन सफल भए, आफ्ना सन्तानमा पार्टीको लगाम दिन सफल भए तर नेपालीलाई समुन्नत जीवन दिन उनी असफल रहे । उनीभन्दा नेपाललाई स्थायित्व र विकास दिने नेता कृष्णप्रसाद भट्टर्राई थिए । भट्टर्राईबाट गिरिजा कोइरालामा शक्ति जानु नै यो देश र काङ्ग्रेसका लागि दुर्भाग्य थियो ।
कति जनाले भनेको सुनिन्छ- गिरिजा कोइराला देशका लागि राम्रै व्यक्ति थिए, तर उनलाई कृष्णप्रसाद सिटौलाजस्ता मान्छेले घेरेर बिगारिदिए । म भने यो कुरा मान्दिनँ, बरु मलाई के लाग्छ भने कृष्णप्रसाद सिटौलाजस्ता अनैतिक व्यक्तिहरू उनका लागि आवश्यक थियो जो उनको स्वार्थ रक्षा गर्न मद्धतगार सावित हुन सक्दथे । बिहारमा र उत्तर प्रदेशमा डाँकाहरू पालेर चुनाव जित्ने चलन थियो । त्यतिबेला डाँका नै मुख्यमन्त्री बन्ने सपना देख्ने व्यक्तिका लागि सहयोगी साथी हुन्थे । डाँकाले जे गर्न सक्थे त्यो अरू विद्वान्ले गर्न सक्दैनथे । माओवादी युद्धकालमा प्रहरी बढाएर, हेलिकोप्टर उडाएर, हतियार थपेर र सवारी साधन बढाएर गृहमार्फतबाट कोइरालालाई थुप्रै आर्थिक आम्दानी हुन्थ्यो र त्यो रकम आईजीपी र गृहमन्त्रीमार्फत त्यहाँ पुग्थ्यो । गृह मन्त्रालय, कोइराला परिवारको रकम जम्मा गर्ने एउटा प्रमुख थलो बन्दै गयो र यस मन्त्रालयमा उनले सधैं आफ्ना खास व्यक्ति मात्र राखे । कृष्णप्रसाद सिटौलालाई पनि कोइरालाले गृहको उन्नति गर्न होइन, गृहबाट हुने रकमकलमलाई इमानदारीपूर्वक आफूकहाँ ल्याउन नै नियुक्ति दिएका थिए । कृष्णप्रसाद सिटौला नत्रभने गृहमन्त्री बन्ने हैसियत भएका व्यक्ति नै थिएनन् तर कोइरालालाई पार्टीका हैसियतवाला होइन ताबेदार चाहिएको थियो । कृष्णप्रसाद सिटौलाको क्षमता भनेको यति थियो कि उनी कोइराला परिवारको भित्री तहसम्म घुस्न सफल भए ।
जब सिटौला गृहमन्त्री भएर आए प्रहरीहरूको दशा सुरु भयो किनकि उनी गृहमा गृहमन्त्री हुने क्षमता भएर आएका नभई गृहबाट हुने फाइदाहरू बटुलेर मालिककहाँ पुर्‍याउन आएका थिए । उनले सुडानको हतियार खरिददेखि रक्तचन्दनसम्म, पदोन्नति र सरुवा बढुवादेखि सीमावर्ती इलाकाबाट आउने तस्करीको लाइनसम्म, ट्राफिकदेखि प्रहरीको खरिद-बिक्रीसम्म, सबै क्षेत्रबाट रकम कुम्ल्याए र आफू र तत्कालीन प्रधानमन्त्रीलाई बुझाए । त्यतिबेला यिनले आफूलाई यति धेरै शक्तिशाली ठान्दथे कि उनी काङ्ग्रेसका कुनै पनि आफूभन्दा सिनियर नेताहरूलाई बालबराबर पनि गन्दैनथे । यतिसम्म कि अहिलेका पार्टी अध्यक्ष सुशील कोइरालालाई पनि उनी अन्डरस्टिमेट गर्दथे ।
त्यतिबेला सिटौलालाई कुनै डर थिएन । कोइराला समयसँगै नेपालको राजनीतिमा झन् प्रभावशाली बन्दै गए । राजाको पतनपछि उनी झनै महत्त्वपूर्ण नेता बन्न सके । काङ्ग्रेसको नेता तथा कार्यकर्ताहरूभन्दा कोइरालाले आफूलाई यति माथि राख्न सफल भए कि नरहरि आचार्यबाहेक अरू कसैले उनलाई चुनौती दिन सकेनन् । उनले काङ्ग्रेस पार्टीलाई घरको पार्टीझैं चलाए । गिरिजाको बद्मासी बुझे पनि अख्तियारले उनीमाथि कारबाही गर्न सक्दैजथे र कारबाही नै गर्न खोजे पनि गिरिजा कर्ुर्लेपछि अख्तियार पछि हट्थ्यो । त्यस समय लाउडादेखि अनेकौँ काण्ड रहस्यमै रह्यो । त्यसले मुद्दाको आकार लिन सकेन । बलियो गिरिजाको घरमा बसेका सिटौला पनि त्यसबखत सबै अपराधबाट बच्न सफल भए । गिरिजालाई रकम बुझाएका कारण कृष्णप्रसाद सिटौला पनि सुरक्षित रहे । माओवादीमा लागेर थुप्रै अपराधी आफू पुलिसबाट बच्न सफल भएझैं कृष्णप्रसाद सिटौलाजस्ता भ्रष्ट व्यक्तिहरू पनि कोइरालाको खोलभित्र लुकेर अख्तियारका कारबाहीबाट बच्न सफल हुँदै गए । उनीहरूको अपराध गरेर पनि बच्न सकिन्छ भन्ने विश्वास यति बढ्यो कि आफूलाई सिटौलाजस्ताले भविष्यको प्रधानमन्त्री नै ठान्न थाले ।
गिरिजा ढल्नेबित्तिकै त्यस वृक्षमा लुकेका सिटौलाहरू नाङ्गा भए । त्यसैले सिटौलाले सुशील कोइराला नामका अर्को वृक्ष चढे । यद्यपि सुशील गिरिजाका तुलनामा भ्रष्टाचार गर्ने कुरामा ज्यादै पछि थिए । उनले आफ्नो छोरा-छोरीलाई प्रधानमन्त्री बनाउनुपर्ने बाध्यता पनि थिएन भने ज्यादै ठूलो राजनीतिक महत्त्वाकाङ्क्षा पनि उनमा थिएन । सिटौला जो कुनै बेला गिरिजानजिक भएर सुशीलको तेजोबध गर्न पछि पर्दैनथे, गिरिजा ढलेपछि लुसुक्क त्यतातिर लागे किनकि उनको भ्रष्टाचारी शरीर लुकाउन पनि उनलाई पार्टीको वृक्ष चाहिन्थ्यो ।
अहिले अख्तियारले सुडान काण्डलाई उठाएको छ । काण्डमा वास्तवमै ओमविक्रम, उमेश मैनाली, कृष्णप्रसाद सिटौला र कोइराला परिवारले ठूलो रकम खाएकै हुन् । यी चारमध्ये शायद उमेश मैनालीको भागमा थोरै परेको हुन सक्छ किनकि त्यसबखतको कृष्णप्रसाद सिटौलाका मुनि रहेका सचिवको निर्णय गर्ने कुरामा खासै भूमिका हुन्थेन । अहिले ओमविक्रम राणा र कृष्णप्रसाद सिटौलाले आफ्ना खुराफाती सोचहरूलाई कानुनको दुलाबाट प्रवेश गराएर यथार्थलाई लुकाउन जतिसुकै खोजे पनि वास्तवमा यिनले सुडान काण्डमा रकम खाएकै हुन् । कल्याण कोषको रकम हिनामिना गरेकै हुन् । त्यो रकमबाट महलहरू बनाएकै हुन् । त्यो पैसा विभिन्न ठाउँमा लगानी गरेकै हुन् र यसमा अख्तियारले कारबाही गर्छ भन्ने कुरामा पनि यिनलाई विश्वास रहेकै छ ।
कुनैबेला यिनीहरूले श्रीकान्त रेग्मी वा उमेश मैनालीलाई अख्तियार प्रमुख बनाई पठाएर यो काण्डलाई राफसाफ पार्ने रणनीति पनि बनाएका थिए तर त्यो सफल हुन सकेन । त्यसैले अब अख्तियारबाट आफूलाई जोगाउने कोही हुन सक्छ भने त्यो केवल नेपाली काङ्ग्रेसको छाता मात्र हुन सक्छ भन्ने बुझेर नै सिटौलाले पार्टी अध्यक्ष सुशील कोइरालालाई अख्तियारमाथि हस्तक्षेप गर्न उक्साएका हुन् तर मलाई लाग्दैन हिजो सिटौलाले हसुरेको नजिकबाट देख्ने सुशीलले यिनको अपराध छोप्न काङ्ग्रेसको चारतारे झन्डा ओढाउने छन्, न सिटौलाको हिजोको फर्ुर्ती र उद्दण्डता देख्ने अरू केन्द्रीय सदस्य र पार्टी कार्यकर्ताहरूले नै उनलाई साथ दिनेछन् । यदि कसैले सिटौलाको अपराध ढाक्न दुस्प्रयास गरे त्यो व्यक्ति आफैं नाङ्गिने छ । यो सत्य हो कि कृष्णप्रसाद सिटौलालाई अहिले सुडान काण्डबाट बच्न पार्टीको छाता चाहिएको छ तर उनलाई बचाउँदा पार्टीलाई हुने बद्नामी भने सबै निरपराध र निष्कङ्लक नेता तथा कार्यकर्ताहरूले पनि लिनैपर्छ । यस्तो स्थिति थाहा हुँदाहुँदै अध्यक्ष सुशील कोइरालाले आफैं विवादमा पर्ने र बद्नाम हुने काम गर्नुहोला जस्तो मलाई लाग्दैन । म त यही भन्छु, ‘किन बचाउने सुशील कोइरालाले सिटौलालाई ? ‘