पर्यटन व्यवसायीद्वारा धुर्मुस–सुन्तली फाउन्डेसनलाई आठ लाख सहयोग

पर्यटन व्यवसायीद्वारा धुर्मुस–सुन्तली फाउन्डेसनलाई आठ लाख सहयोग


पर्यटन व्यवसायीले धुर्मुस–सुन्तली फाउन्डेसनलाई आठ लाख १५ हजार २३० रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

उनीहरुले एघारौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा वीर अस्पताल सरसफाइका लागि सो रकम सहयोग गरेका हुन् । ४२ जना पर्यटन व्यवसायीद्वारा सङ्कलित रकम फाउन्डेसनलाईका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटाले पवित्र उद्देश्यका साथ गाउँ–गाउँबाट आउने गरिब जनताले उपचार गर्ने वीर अस्पतालको वातावरण सुधारका लागि लागेको फाउन्डेसनलाई थोरै भएपनि पर्यटन व्यवसायीका तर्फबाट सहयोग गरिएको बताए ।

सो अवसरमा फाउन्डेसनका अध्यक्ष धुर्मुसले वीर अस्पतालको एउटा छुट्टै महत्व रहेकोले त्यसलाई जीवन्त राख्न आफूहरुले वीर हस्पिटल सरसफाइ अभियान चलाएको बताए । वीर अस्पतालको सरसफाइका लागि हालसम्म ४७ लाख खर्च भइसकेको उक्त अवसरमा उनले जानकारी दिए ।