घोगामा दाना नलाग्दा १० करोडको क्षति

घोगामा दाना नलाग्दा १० करोडको क्षति


बाराका किसानले लगाएको हिउँदे मकैको घोगामा दाना नलाग्दा १० करोड सात लाख ३८ हजार रुपैयाँबराबरको क्षति भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार कात्तिकमा लगाएको हिउँदे मकै शीतलहरका कारण परागशेचन हुन नसक्दा यस वर्ष करीब ५० प्रतिशतले मकै उत्पादनमा कमी आएको हो ।

जिल्लामा यस वर्ष १३ हजार ५९५ हेक्टरमा हिउँदे मकैखेती लगाएकोमा ५३ हजार २० दशमलव ५ मेट्रिक टन उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले जानकारी दिए। किसानले गत वर्ष १३ हजार ५९५ हेक्टरमा मकै लगाएर ८४ हजार २८९ मेट्रिक टन मकै उत्पादन गरेका थिए । यस वर्ष गत वर्षको तुलनामा ३१ हजार २६९ मेट्रिक टन कम मकै उत्पादन भएको छ ।

मकैको घोगामा दाना नलाग्दा जिल्लामा १२ हजारभन्दा बढी किसान मारमा परेका छन् । क्षतिपूर्ति उपलब्ध गराउन केन्द्रमा पत्राचार गरिएको कार्यालयका सूचना अधिकारी राजवंशीप्रसाद चौरसियाले बताउनुभयो ।

– रासस