निर्वाचन आयोगको आयुक्त पदमा इला शर्माको नियुक्ति भएपछि उहाँको बारेमा धेरैले जिज्ञासा राखेका छन् । दि राइजिङ नेपाल अङ्ग्रेजी दैनिकको उपसम्पादकको रूपमा ०४५ सालमा सेवा प्रवेश गर्नुभएकी इलाले सक्रिय पत्रकारका रूपमा तेह्र वर्ष बिताउनुभएकोले धेरैले उहाँलाई पत्रकारका रूपमै चिन्छन् । तर, उहाँको औपचारिक शैक्षिक पृष्ठभूमि कानुन रहेको जानकारी भने धेरै कमलाई मात्र छ । बनारसको हरिश्चन्द्र महाविद्यालयबाट एलएलबी गर्नुहुने इलाले उक्त विषयमा विश्वविद्यालयमै प्रथम स्थान हासिल गर्नुभएको थियो । सोही कलेजमा अङ्ग्रेजी विषयमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएकी उहाँले संस्कृत विषयमा शास्त्री र विज्ञान विषयमा स्नातक पनि गर्नुभएको छ । काठमाडौंबाट एलएलएम गर्नुहुने उहाँले बेलायतबाट पनि एलएलएम नै गर्नुभएको छ र अहिले भीजे युनिभर्सिटी ब्रसेल्सबाट मानवअधिकार कानुनमा विद्यावारिधि गर्दै हुनुहुन्छ । यसअघि इलाले केही समय काठमाडौंस्थित अमेरिकी राजदूतावासमा वरिष्ठ संस्कृतिविद्का रूपमा काम गर्नुभएको थियो भने एक्सन एडमा पनि उहाँले तीन वर्ष सेवा गर्नुभएको थियो । त्यस्तै यूएनडीपीमा करिब तीन वर्ष कन्सल्टेन्टको अनुभव पनि इलाले संगाल्नुभएको छ । २०२३ साल कात्तिकमा जन्मनुभएकी इला शर्माको बाल्यकाल बनारसमै बितेको थियो । ०४४ सालमा नेपालका चर्चित विद्वान् पत्रकार रामराजा पौड्यालकी बुहारी र नवराज पौडेलकी पत्नीका रूपमा भित्रिनुभएपछि इलाले दि राइजिङ नेपालमार्फत पत्रकारिता जीवन सुरु गर्नुभएको थियो । माओवादी हिंसात्मक युद्धकालमा प्रहरी सेवामा रहेका उहाँका पति नवराज पौडेलको माओवादीद्वारा हत्या गरिएपछि उहाँले एकल जीवन बिताउँदै आउनुभएको छ । उनै इलासँग घटना र विचारले गरेको सङ्क्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
० तपाईं अचानक निर्वाचन आयुक्त बनेको खबर प्राप्त भयो, यो जिम्मेवारी हासिल हुनुमा तपाईंको योग्यता, भाग्य या राजनीतिक पहुँच केको योगदान छ होला ?
– पहिलो कुरा त योग्यता नै आवश्यक पर्छ । तर, हाम्रोजस्तो परिवेशमा योग्यता भएर मात्रै पनि पुग्दैन । भाग्यभन्दा पनि ईश्वरको अस्तित्वमा विश्वास गर्छु म, ईश्वरको इच्छा नभई पात पनि हल्लिँदैन । मेरो हकमा पनि ईश्वरले फेवर गर्नुभयो होला भन्ने ठान्छु । योग्यता हुनु र यसको कदर हुनु पनि ईश्वरकै देन हो । राजनीतिक लबिङको जहाँसम्म प्रश्न छ, योचाहिँ मलाई केही थाहा छैन ।
० तपाईं त नेपालमा हुनुहुन्नथ्यो क्यारे, यो नियुक्तिको निर्णय गर्नेहरूले तपाईंबारे कसरी थाहा पाए त ?
– म नेपालमै नभएकी मानिसले राजनीतिक लबिङचाहिँ कसरी गरो हुँला त ? यस्तो पोजिसनमा विदेशबाट कसरी लबिङ हुन सक्छ र ! तसर्थ, कहीँ न कहीँ म यो ठाउँका लागि उपयुक्त छु भन्ने निर्णायक स्थानमा रहेकाहरूलाई हेक्का रहेछ भन्नुप-यो अब ।
० तपाईं नेपालमा आउनुभएको तपाईंकै साथीभाइहरूलाई समेत थाहा थिएन भने राजनीतिक नेतृत्वलाई कसरी थाहा भयो होला त ?
– सबै साथीलाई थाहा नभए पनि कसै न कसैलाई त जानकारी भइहाल्छ नि । उहाँहरूमार्फत मेरोबारे उपल्लो निकायमा जानकारी भएको होला ।
० तपाईं महिला भएकोले पनि यो अवसर प्राप्त भएको होला भन्ने लाग्छ कि लाग्दैन ?
– त्यो पनि पक्कै हो, किनकि यो सिट महिलाकै लागि थियो भन्ने त सबैलाई थाहै छ नि । यो सिटमा म नभए अर्को कुनै महिला नै हुन्थे, कुनै पुरुषले यो स्थान पाउँदैनथ्यो ।
० जीवनमा तपाईंले यसरी कुनै संवैधानिक पद पाउँला भन्ने सोच्नुभएको थियो ?
– मानिसहरूमध्येमा म अत्यन्त थोरै महत्वाकाङ्क्षा राख्ने, अत्यन्तै थोरै या इगो नै नबोकेको व्यक्तिमध्येमा म पर्छु होला । त्यसैले म त्यस्तो कुनै प्लानिङ गरेर चल्ने व्यक्ति नै होइन । अलिअलि त मनुस्यमा आकाङ्क्षा सबैमा हुन्छ तर मैले यस्तो हुँला या हुन्छु भनेर सोचेकी थिइनँ । मलाई ईश्वरले जे–जे पाठ पढाउनु छ, छानी–छानीकन पढाइरहनुभएको छ भन्ने लाग्छ ।
० तपाईंको जीवनको सबभन्दा खुसीको घटनाका रूपमा यसलाई लिन मिल्छ ?
– बाँच्नु बाँकी छ भने योभन्दा पनि खुसीका अवसरहरू आउलान् नि ! आफूले एक्सपेक्ट नगरेका घटनामध्येको एउटा यो पनि हो भन्नेचाहिँ मलाई पनि लाग्छ । मेरा केही खुसीका घटनाहरूमध्ये एउटा यसलाई पनि मान्न सकिन्छ ।
० यस्तै खुसीका अरू कुन–कुन घटनाहरू छन् ?
– सबै अत्यन्त पर्सनल किसिमका छन् ।
० जीवनमा दुखद् घटनाहरू पनि होलान् नि तपाईंसँग ?
– अब सुख र दु:ख एउटै लाग्ने स्टेजमा पुगिसकेकी छु । एक्लै अभिभावकत्व निर्वाह गर्ने काम अत्यन्त असहज हुँदोरहेछ भन्ने अनुभूति भइरहेछ । मसँग मेरा लोग्ने हुनुहुन्न भन्ने कुराले भन्दा पनि बाबु नहुँदा बच्चाहरूलाई आइपरेको अप्ठ्याराले मलाई दुखित तुल्याउँछ । म पनि सानैदेखि बाबु र दाजुबिना हुर्किनुपरेको व्यक्ति भएकीले कति दु:ख लाग्छ मलाई अनुभूति छ । इण्डियाजस्तो ठाउँमा अभिभावकबिना हुर्कन मलाई कति गाह्रो भयो होला । मेरी मुमा स्ट्रोङ भएकीले मात्रै… ।
० अहिलेसम्म केही राम्रो भएको छ भने यहाँसम्म आइपुग्नुमा तपाईं कसलाई जश दिन चाहनुहुन्छ ?
– ईश्वर र आफ्नी आमालाई यसको जश दिन चाहन्छु ।
० निर्वाचन आयुक्त भएर पहिलो दिन कार्यालय जाँदा कस्तो अनुभूति भयो नि ?
– स्वरूपका हिसाबले पनि ठूलो र जिम्मेवारी पनि ठूलो रहेको कार्यालयमा उच्च ओहदाका साथ प्रवेश गर्दा गर्वानुभूति भयो ।
० निर्वाचनका लागि समस्या र चुनौतीहरू के–के देख्नुभयो नि ?
– यस्तो परिवेशमा चुनौतीहरू त हुने नै भए । राजनीतिक, सामाजिक, आर्थिक, प्राविधिक सबै किसिमका समस्या र चुनौती छन् । तर चुनौती छ भनेर भाग्न त मिलेन, चुनौती चिर्न सक्नुमै आत्मसन्तुष्टि र प्रशंसा पनि मिल्छ भन्ने हिसाबले काम देखाउन हामी सबै आयुक्तहरू कटिबद्ध छौँ ।
० एकथरीले चुनाव बहिष्कार गर्छौं भनिरहेका छन्, निर्वाचन आयोगले यसलाई कसरी बुझिरहेको छ ?
– यदि लोकतन्त्र चाहिन्छ भने यसरी चुनावको विरोध र बहिष्कार गर्नु घोर गलत हो । निर्वाचन प्रक्रियाबाट बाहिर जान्छौँ भनी घुक्र्याउनु जायज होइन । तर, मलाई लाग्छ– उहाँहरू पनि अन्तत: चुनावमै आउनुहुन्छ । आयोगले उहाँहरूसँग छलफल र अन्तरक्रिया पनि गरिरहेको छ । उहाँहरू चुनावी प्रक्रियाबाट बाहिर जान लागेको भन्दा पनि घुक्र्याएको मात्र हो भन्ने मैले ठानिरहेकी छु । घुर्की भए पनि निगेटिभ सेन्सको घुर्की होइन, सम्बन्धित पक्षले उहाँहरूको गुनासो सुनेर व्यवस्थापन गर्नेतिर लाग्दा सबैको कल्याण होला ।
प्रतिक्रिया