अब स्थानीय तहका कर्मचारीको तलब खटाइएकै स्थानमा

अब स्थानीय तहका कर्मचारीको तलब खटाइएकै स्थानमा


सरकारले आगामी आर्थिक वर्षदेखि स्थानीय तहका कर्मचारीको तलब उनीहरू कार्यरत कार्यालयमा नै उपलब्ध गराउने भएको छ ।

सङ्घबाट स्थानीय तहमा सरुवा भएर जाने कर्मचारीको तलब अब स्थानीय तहमै उलपब्ध गराइने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जनाएका छन् । स्थानीय तहमा सरुवा भएका कर्मचारी सम्बन्धित स्थानमा जान आनाकानी गर्ने गरेकाले सम्बन्धित स्थानीय तहमै तलब पठाएर जान बाध्य पार्नका लागि मन्त्रालयले यस्तो योजना ल्याएको प्रवक्ता अधिकारीले बताए । अहिले केन्द्रबाट सरुवा भएर गएका कर्मचारीले तलब भने केन्द्रबाटै लिने गरेका छन् ।

‘तलब सङ्घबाट र काम स्थानीय तहमा हुने भएकोले धेरै कर्मचारी अझै जान मानेका छैनन्,’ उनले भने, ‘त्यसैले जहाँ खटिएका छन् त्यहीँ तलब पठाउने हो भने कर्मचारी तलबका लागि भए पनि स्थानीय तहमा जान्छन् ।’

दरबन्दीअनुसार करिब ५७ हजार कर्मचारीको तलब आउँदो आर्थिक वर्षदेखि स्थानीय तहमा पठाइनेछ ।