रोल्पामा खानेपानीको हाहाकार

रोल्पामा खानेपानीको हाहाकार


लामो खडेरीका कारण रोल्पाका अधिकांश बस्तीमा खानेपानीको हाहाकार भएको छ।

अधिकांश घरमा धारा जडान गरिए पनि धारामा पानी नआउँदा घन्टौँ पैदल हिँडेर पानी ल्याउन उपभोक्ता विवश भएका छन् । घरमा भएको धारामा पानी आउन छाडेको एक महिनाभन्दा बढी भएकाले तीन घन्टा पैदल हिँडेर पानी ल्याउन बाध्य भएको रोल्पाको परिवर्तन गाउँपालिका, रांसीचौरका ललित क्षेत्रीले बताए ।

लामो खडेरीसँगै पानीका मुहान सुक्न थालेपछि खानेपानीमा समस्या परेको क्षेत्रीले बताए। सोही गाउँपालिका कालावाङवासी बिहान उठ्नेबित्तिकै डोकामा गाग्रो बोकेर पानी लिन निस्कन्छन् । ‘एक गाग्रो पानी लिन जाँदा–आउँदा तीन घन्टा लाग्छ,’ स्थानीय लोकेन्द्र केसीले भने । एक घर एक धाराअन्तर्गत तीन महिनाअघि जडान गरिएका धारामा पानी आउन छाडेको केसीले जानकारी दिए।

मान्छेले खानको लागि त टाढैको मुहानबाट भए पनि जसोतसो काम चलिरहेको भए पनि गाईभैँसीलाई खुवाउन र सरसफाइ गर्न निकै समस्या भएको उनको भनाइ छ।

जिल्ला सदरमुकाममा समेत पानीको हाहाकार देखिएको छ । धारामा पानी नआएपछि बजारवासीले पानी आपूर्तिका लागि खानेपानी उपभोक्ता समितिमा दबाब दिइरहेका छन् ।

धारामा पानी नआएपछि नुवाइधुवाइका लागि एक घन्टा टाढाको लहरी खोला जाने गरेको स्थानीय सोनी केसीले दुखेसो पोखिन् । गर्मीमा दैनिक सरसफाइ गर्न जरुरी रहे पनि पानीका कारण सरसफाइ गर्न नपाएको केसीको भनाइ छ ।

अधिकांश जग्गा भिरालो हुनुका साथै बस्तीसमेत पहाडको टुप्पामा रहेका कारण रोल्पाका गाउँबस्तीमा खानेपानीको समस्या देखिने, पानीको स्रोत तल्लो भागबाट बगेर जाने र बस्ती माथिल्लो भागमा रहँदा पानी आपूर्तिमा समेत समस्या देखिने गरेको छ ।

लामो समयको खडेरीले पानीका मुहान सुकेका कारण खानेपानी आपूर्तिमा समस्या देखिएको लिवाङ बजार खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष लीलाधर आचार्यले बताए। २०औँ वर्ष पुरानो संरचनाका कारण बढ्दो जनघनत्वलाई सेवा दिन समस्या देखिएको आचार्यको भनाइ छ । निकट भविष्यमै साना सहरी खानेपानी तथा सरसफाइ आयोजना लागू गरिने भएकाले खानेपानीको समस्या हल हुने आचार्य आशा व्यक्त गर्छन्।

पूर्वीरोल्पाको तेवाङमा स्थानीय खानेपानी उपभोक्ता समितिले हप्ताको दुई दिन पानी वितरण गर्ने नियम बनाएको भए पनि केही महिनायता पानी आउन छाडेको स्थानीय रविलाल रोकाले बताए । सोमबार र शुक्रबार गाउँमा रहेका सार्वजनिक धारामा पानी आउने भएकाले रातिदेखि धारामा गाग्रीको लाइन लाग्ने गरेको रोका बताउँछन् । धारामा पानी आउन छोडेसँगै सो गाउँका ३०० भन्दाबढी घरधुरी घन्टौँ टाढाको मूलबाट पानी खान बाध्य भएको उनी बताउँछन्।

अधिकांश जग्गा भिरालो हुनुका साथै बस्तीसमेत पहाडको टुप्पामा रहेका कारण रोल्पाका गाउँबस्तीमा खानेपानीको समस्या देखिने गरेको छ । पानीको स्रोत तल्लो भागबाट बगेर जाने र बस्ती माथिल्लो भागमा रहँदा पानी आपूर्तिमा समेत समस्या देखिने गरेको खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ रोल्पाका अध्यक्ष तीर्था आचार्यले बताइन् ।

लामो समयको खडेरीले यस्ता बस्ती बढी प्रभावित हुने भएकाले यसतर्फ राज्यले विशेष ढंगले योजना बनाउन जरुरी रहेको आचार्यको भनाइ छ । खुला दिसामुक्त जिल्ला घोषणापछि पूर्ण सरसफाइ अभियान सञ्चालन भइरहे पनि खानेपानीकै कारण अभियानले तीव्रता लिन नसकेको सरसफाइका जानकार बताउँछन् । पिउनेपानी र सरसफाइका लागि प्रतिव्यक्ति कम्तीमा ४५ लिटर पानीको आवश्यकता पर्ने भए पनि पानीको अभावले सरसफाइमा असर परेको बताइएको छ ।

वातावरणीय प्रभाव मूल्यांकन नगरी स्काभेटर प्रयोग गरी खनिएका सडकले समेत पानीको मुहान हराउँदै जाँदा पानीको समस्या भोग्न बाध्य भएको जिल्लावासीले गुनासो गरेका छन् ।