बाँदरका कारण खेतमै बास

बाँदरका कारण खेतमै बास


पाक्न लागेको मकै बाँदरले नष्ट गर्न थालेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ चिउरीडाँडाका किसान बारीमै बास बस्न बाध्य छन् ।

चिउरीडाँडास्थित सल्लेडाँडाका किसानले लगाएको मकै सुत्ला च्याप्दादेखि नै बाँदरले नष्ट गर्न थालेपछि धपाउन बारीमै पाल हालेर बास बस्न थालेका हुन् । गत वर्षदेखि बाँदरले मकैलगायत अन्य बाली नष्ट गर्न थालेपछि दोर्पाचिउरीडाँडाका किसान हैरान भएका छन् । जङ्गलमा केही खान नपाएपछि गाउँ पसेका बाँदरले अहिले मकै नष्ट गर्न थालेको स्थानीय पदम हिङमाङले जानकारी दिए ।

‘बाँदरले घरमा राखेको मकैसमेत खाने गरेको छ,’ उनले भने । साप्सु खोलादेखि सुर्केसम्म खोलाको जङ्गल, साप्सु खोलाकैमाथि छहरे खोला र खरबारी ठाडो खोल्सी हुँदै पिप्लेसम्म बाँदरको बिगबिगी बढेको छ । माछाटोल हुँदै मार्सेमा पनि बाँदरको उस्तै बिगबिगी छ । बाँदरले क्षति गरेपछि स्थानीयवासीले बालीनाली रक्षाका लागि बाँदर मार्न दिनुपर्ने वा क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आएका छन् । जिल्लाका अधिकांश स्थानमा लगाइएको अन्नबाली बाँदरले क्षति पुऱ्याउने गरेको छ ।