मर्चवारमा भएको शिविरमा दुई हजारको निःशुल्क उपचार

मर्चवारमा भएको शिविरमा दुई हजारको निःशुल्क उपचार


चन्द्रकान्त खनाल

रुपन्देहीको दुर्गम मर्चवारमा भएको दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा दुई हजार ११ जना बिरामीको स्वास्थ्य परीक्षण भएको छ । तीमध्ये ११ सय १४ जना महिला र आठ सय ९७ पुरुष रहेको बताइएको छ । एक दिने भए पनि बिरामीको चाप बढी भएको कारण दुई दिन थप गराई उपचार गरिएको स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशङ्करप्रसाद चौधरीले बताए ।

डा. चौधरीका अनुसार अधिकांशमा छाला र पेटसम्बन्धी रोग भएको पाइयो । गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको शिविरमा विशेषज्ञसहित स्वास्थ्य टोलीले सेवा दिएको थियो ।

प्रदेशस्तरीय शिशिरमा नाक, कान, छाला, पेट, मुटु, किड्नी, आँखा, दाँत, रेडियोलोजिस्टलगायतका टोली संग्लन थिए । भैरहवा सदरमुकामबाट ४० किटोमिटर टाढा रहेको उक्त क्षेत्र भारतको सिमानासँग जोडिएको छ । शिविरमा सहभागी अधिकांशले यस्ता शिविर लिएर फेरि पनि आउन आग्रह गरेको स्वास्थ्य महाशाखा प्रमुख चौधरीले बताए ।

शिविरमा लुम्बिनी अञ्चल अस्पतालका मेसु डा. कृष्ण खनालको नेतृत्वमा गएको स्वास्थ्य टोलीले मर्चवारमा उपचार हुन नसकेकाहरूलाई लुम्बिनी अञ्चल अस्पतलमा उपचारका लागि बोलाएको बताए ।

प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रदेशका सबै क्षेत्रमा सहज रूपमा सेवा पाउने व्यवस्था गर्ने बताएका छन् । ‘हामीले यो शुरुवात मात्र गरेका हौँ, अब यसलाई निरन्तरता दिइनेछ,’ उनले भने । दुई दिनसम्म चलेको उक्त स्वास्थ्य शिविर निःशुल्क भएको मन्त्री बरालको भनाइ थियो ।