ट्राफिक नियम कडा पारिँदै

ट्राफिक नियम कडा पारिँदै


अब सिट सङ्ख्याभन्दा बढी यात्रु चढाउने सवारीसाधन कारबाहीमा पर्ने भएका छन् । ट्राफिक प्रहरीले सिट संख्याभन्दा बढी यात्रु राख्ने सवारीसाधनलाई कारबाही गर्ने बताएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रबार पत्रकार सम्मेलन गरेर सिट संख्याभन्दा बढी यात्रु राख्ने सवारीसाधनलाई कारबाही गरिने बताएको हो ।

महाशाखाले सिट सङ्ख्याभन्दा बढी यात्रु राख्ने सवारीसाधनको जरिवाना थप गर्दै पहिला लिदै आएको पाँच सयलाई १ हजार पुऱ्याएको जनाएको छ ।

यातायात व्यवस्था विभागद्वारा प्राप्त अधिकारअनुसार जरिवानाको रकम १ हजार पुऱ्याइएको महाशाखाले जनाएको छ ।

सार्वजनिक सवारीसाधनमा धुम्रपान गरे १ हजार जरिवाना लिने व्यवस्था पनि महाशाखाले गरेको छ । हर्न बजाउन निषेध गरिएको ठाउँमा हर्न प्रयोग गरे पनि १ हजार जरिवाना तोकिएको महाशाखाले जनाएको छ ।

महाशाखाले सवारीसाधनको पार्किङ स्थललाई व्यवस्थित बनाउने, ट्राफिक जनचेतनामूलक कार्यक्रमलाई व्यापक बनाउने योजनालाई पनि प्राथमिकताका साथ अघि बढाउने बढाउने भएको छ ।

यसैगरी ट्राफिक प्रहरीले ट्याक्सीभित्र नम्बर प्लेट राख्नुपर्ने व्यवस्था गरेको छ । सामान छुट्ने, चोरी हुने र ठगीको समस्या बढ्दै गएपछि ट्राफिक प्रहरीले ट्याक्सीभित्र नम्बर प्लेट राख्नुपर्ने नियम ल्याएको हो ।

यसलाई सबै सार्वजनिक सवारीमा लागू गर्ने योजना महानगरीय ट्राफिक प्रहरी महाशाखाको छ । यो नियममा निकै कडाइ गरिने भएको छ । बस स्टपमा ‘पिक एन्ड ड्रप’ मात्रै गर्न दिने, यात्रुलाई लाइनमा बसेर गाडी चढ्न लगाउने र सवारीलाई लेन अनुशासन मान्न बाध्य बनाउने गरी कडाइ गर्ने महाशाखाको भनाइ छ ।

‘ट्राफिक प्रहरी नभएको ठाउँमा ट्राफिक नियम नै नमान्नेहरू बढ्दै गएका छन् । अब सीसीटीभी फुटेजबाट त्यस्ता सवारीको नम्बर पत्ता लगाएर कारबाही गर्छौं,’ महाशाखाका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले,’ यात्रु कोच्ने सवारीलाई पनि कारवाहीको दायरामा ल्याउँछौँ ।’