भारतीय पर्यटन व्यवसायीका यस्ता छन् सुझाव

भारतीय पर्यटन व्यवसायीका यस्ता छन् सुझाव


छोटो दुरीमा महत्वपूर्ण पर्यटकीय गन्तव्य रहेर पनि प्रचारको अभावमा नेपालका पर्यटकीय गन्तव्यहरूमा भारतीय पर्यटकहरू पुग्न नसकेको बनारस (भारत)का होटल व्यवसायी र टुर अपरेटरहरूले जनाएका छन् । उत्तर प्रदेशमा जनताको आम्दानी बढ्दै गएको र उनीहरू घुम्न रुचाउने भएपनि पहिलो गन्तव्य नेपाल बन्न नसकेको उनीहरूले जनाएका हुन् ।

नेपाल पर्यटन बोर्डको सहयोगमा क्षेत्रीय होटल संघ नेपाल, चितवन सौराहाले शनिबार बनारसमा आयोजना गरेको अन्तरक्रियामा सहभागी व्यवसायीहरूले नेपालका पर्यटकीय गन्तव्यको उचित प्रचारप्रसार गर्न आग्रह गरे । उनीहरूले होटलहरूको स्तर विकास गर्नपनि सुझाव दिएका छन् ।

बनारसी टुरिजम गिल्डका अध्यक्ष रसिद खानले नेपाल र भारतको भाषा, विचार, खाना मिल्ने भएको र दुरी छोटो भएकाले उचित प्रचारप्रसार गर्न सकेमा भारतीय पर्यटक नेपाल जाने बताए। महत्वपूर्ण पर्यटकीय गन्तव्य नेपाल भए पनि धेरै भारतीयलाई यसको बारेमा जानकारी नभएको उनको भनाई थियो ।

टुरीजम वेलफेयर एसोसिएसन, बनारसका अध्यक्ष राहुल मेहताले यहाँका जनतालाई नेपालका पर्यटकीय गन्तव्यको बारेमा थाहा नहुँदा अन्य देशमा जाने गरेको र छोटो दुरी भएपनि नेपाल जाने नगरेको बताए। यस खालका कार्यक्रम निरन्तर गर्न सकेमा भारतबाट धेरै पर्यटक नेपाल भित्र्याउन सक्ने उनले बताए ।

होटल वजास ग्रान्डका महाप्रबन्धक एचएन पाण्डेले नेपालका धार्मिक स्थलहरू, निकुञ्जहरूको बारेमा यहाँका जनतालाई बुझाउन नसक्दा नेपालमा पर्यटक कम गएको खुलासा गरे भने डलफिन टुर्स एण्ड ट्राभल्सका सञ्चालक सिरमोर चन्दनले आफूले काठमाडौं र पोखरा पर्यटक पठाएको तर त्यहाँका होटलहरूको स्तर सुधार्नुपर्ने पर्यटकले सुझाव दिएको अवगत गराए । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको बारेमा आज मात्र थाहा पाएको भन्दै उनले अब यी गन्तव्यहरूमा पनि पर्यटक पठाउने प्रतिबद्धता जनाए । यस्तै, होटल मिडोजका महाप्रबन्धक अनुपप्रसादले पर्यटकीय स्थलहरूको प्याकेज निर्माण गरी यहाँको बजारमा प्रचार गर्न आवश्यक रहेको बताए ।

– नारायण अधिकारी,रासस