ठग र लुटेरा प्रहरी नियन्त्रणमा

ठग र लुटेरा प्रहरी नियन्त्रणमा


कैलाली धनगढी उमनपास्थित प्रभु मनि ट्रान्सफरका कर्मचारी निर्मल कार्कीको ९ लाख ५० हजार रुपैयाँ लुटपाट गर्ने २ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । कैलाली धनगढी उपमहानगरपालिका–१३ बस्ने २८ वर्षीय रामप्रवेश राना र कञ्चनपुर कृष्णपुर नगरपालिका–९ बस्ने २३ वर्षीय कालु रानालाई महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले आज विहान गोंगबुबाट नियन्त्रणमा लिएको हो ।

यही जेठ १३ गते कार्कीले सिद्धार्थ बैंकबाट उक्त रुपैयाँ निकाली साईकलबाट कार्यालयतर्फ जाने क्रममा मोटरसाइकलमा आएका व्यक्तिहरुले उनलाई गोली हानी घाइते बनाएर लुटपाट गरी फरार भएका थिए ।

पक्राउ परेका कालु राना जबर्जस्ती करणी मुद्धामा गत ०६८ सालमा कञ्चनपुरमा पक्राउ परी ६ वर्ष कैद भुक्तान गरेर ०७४ माघमा छुटेको प्रहरीले जनाएको छ ।

यसैगरी, रोजगारीका लागि जापान पठाइदिन्छु भनी ४ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा गोरखा भिमसेन गाउँपालिका–६ घर भई काठमाडौं सामाखुसी बस्ने ४९ वर्षीय केदारनाथ ढकाललाई प्रहरीले पक्राउ गरेको छ ।

ढकालले गोरखा पालुङटार नगरपालिका–२ घर भएका कृष्णप्रसाद पोखरेललाई जापानमा आकर्षक तलव सुविधा भएको कम्पनीमा काम लगाउने भनी विश्वास दिलाई उक्त नगद लिई भिसा प्रोसेसलगायतका कागजातहरु मिलेन भनी आलटाल गर्नुको साथै सिटिजन बैंक इन्टरनेशनल लिमिटेड सामाखुसी शाखाबाट रकम भुक्तानी लिनु भनी खातामा रकम नभएको ४ लाख ५० हजार रुपैयाँको चेक दिएका थिए ।

पीडितको जाहेरीअनुसार महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले ढकाललाई आइतबार टेकुबाट पक्राउ गरेको हो । आवश्यक अनुसन्धान एवं कारवाहीको लागि अभियुक्त ढकाललाई महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।